Comments Add Comment

अलविदा ! महान् शहीद गोविन्द गौतम

महान सहिद गोविन्द गौतम, सर्वप्रथम नेपाल आमालाई लक्षित गरी सीमानामा हानिएको विस्तारवादको गोली आफ्नो छातीले रोक्ने तिम्रो महान कार्यको शीर झुकाएर सम्मान गर्न चाहन्छु ।

बर्दीविनाको सिपाही भएर जन्मभूमिका लागि लड्ने तिम्रो साहसिक कार्य इतिहासको महान पराकर्म हो जुन सामान्य व्यक्तिले कल्पना आँटसम्म पनि गर्न सक्दैन । माटो, सीमा र देश जुन ठाउँमा हुक्यौर्ं, आज त्यसकै रक्षार्थ प्राण त्याग्यौ ।

भारतले देखाएको हेपाहा प्रवृति आजमात्रै होइन, इतिहासको कालखण्डमा कयौँपटक देखाएको छ । देशका ७० भन्दा बढी ठाउँमा सीमा मिचिएका छन् । सीमानामा वाँध निर्माण गरी कयौँ विगाहा जमिन र बस्ती नै डुबाएको छ । घीनलाग्दो हर्कत स्वाधीन र स्वाभिमान नेपालीले विर्सन सकेकेा छैन । बर्दियामा बर्दीसहित नेपालीको घरमा प्रवेश गरी खानतलासी लिएको धेरै भएको छैन ।

चित्त त्यतिबेला दुख्छ, जतिबेला नेपालको गाउँगाउँमा गैरकानूनी ढंगले प्रवेश गरेको भारतीय सेना विना कुनै कारबाही सकुशल भारत पुर्‍याइन्छ । ०७३ बैसाख १२ गते एके ४७ सहित नेपाल प्रवेश गरेका भारतीय एसएसबी डोटी जिल्लामा पक्राउ परे ।

ती दुवै घटनामा नेपाल सरकारले विनाकुनै कारबाही ससम्मान भारत फिर्ता गर्‍यो । यदि त्यतिबेलै नेपाल सरकारसंग अनधिकृत रुपमा नेपाल प्रवेश गरेको भारतीय एसएसबीलाई कानूनी कारबाही भएको भए आज कञ्चनपुरको पुनर्वासमा यो घटना हुने थिएन ।

गोविन्द, तिमीले मातृभूमिमै भारतीय गोली लागि यो संसारबाट विदा हुनुपर्ने थिएन । तर, विडम्वना, देशको सीमा र सीमामा बस्ने नागरिकका लागि न त सरकार छ न सरकारी निकाय । सिंहदरबारको चौघेराभित्र वातानुकुलित महलमा आसीन सरकार कुर्सी कसरी टिकाउने भन्ने खेलमा मात्रै सीमित छ ।

गौतमले मातृभूमिकै लागि प्राण त्याग गरेको दिन फागुन २६ गते सिंहदरबारमा मन्त्रीपरिषद विस्तारको रमिता चलिरहेको थियो । सरकारलाई विस्तारवादीको गोली तिम्रो छातीमा लागेको पीडा थिएन, बरु राति त्यहि मन्त्रिपरिषद विस्तारको खुसीयालीमा डिनर पार्टी चलिरहेको थियो ।

‘मैले देशको सीमानाका लागि प्राण त्यागेको एकदिन वितिसक्दा पनि सत्यतथ्य छानविनका लागि समिति गठन, नेपालस्थित भारतीय राजदुतबाट स्पष्टीकरण र शहिद घोषणा गरेन’ भनेर स्वर्गमा तिम्रो आत्मा हजारपटक जल्नेछ । यता सरकार भने सत्ता स्वादमा रुमल्लिएको छ ।

लेखक कृष्ण महरा

म राज्यस्तरबाट तिम्रो शहादतको उचित सम्मान र हत्यारालाई कानूनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु । सायद तिमीले कुनै राजनैतिक दलको तर्फबाट हिंसात्मक आन्दोलनमा भाग लिई नेपाली सुरक्षाकर्मीमाथि बम प्रहार गरेको भए रातारात तिमी सरकारको शहिद लिष्टमा समेटिन्थ्यौ र मागेजति क्षतिपूर्ति पनि पाउथ्यौ । तर, तिमीले आज भारतीय सीमा सुरक्षा बलको राइफलसँग धावा बोल्यौ, त्यही भएर हुनुपर्छ सरकार तिम्रोबारे आधिकारिक धारणा बाहिर ल्याउन आनाकानी गरिरहेको छ ।

भारतले आˆनो नागरिकलाई नेपाली भूमिमै आएर हत्या गरिरहँदा सरकार चुप रहने देशमा झापादेखि कञ्चनपुरसम्म एउटै प्रदेश नभए हामी संविधान स्वीकार्दैनौं भन्ने राजनैतिक झुण्डले मुख खोल्ला भन्ने कुरा मैले कल्पनासम्म पनि गरेको छैन ।

नागरिक स्तरबाट दवाबपश्चात सरकार तिमीलाई शहिद घोषणा र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन केही रकम दिएर थामथुम गर्न सक्छ । तर, स्वदेशमै नेपाली सुरक्षाकर्मीसँग भिड्ने पार्टी कार्यकर्ता र तिम्रो एउटै मुल्यांकन भयो भने त्यो तिम्रो बलिदानीको अपमान सिवाय अरु केही हुने छैन ।

हिजो घाइते सशस्त्र प्रहरीलाई एम्बुलेन्सबाट निकालेर मार्न सघाउने र भारतीय नागरिक समेतलाई शहिद घोषणा गरी दश लाख दिन तम्तयार सरकार आज तिम्रा लागि सत्यतथ्यको छानविन गर्ने गरी आफ्नो आधिकारिक धारणा बाहिर ल्याउन समेत हच्किएको छ । आखिर किन ? तिमीले के अपराध गरेका थियौ, गौतम ?

राजनैतिक दलसँग प्रश्न छ, सीमाक्षेत्रमा एसएसबी र सिंहदरबारमा लैनचौरको दबदबा कहिलेसम्म ? कहिले आउँछ तपाईहरुसँग देशको सीमाना रक्षा गर्ने प्रतिवद्धता ?

देश र जनताका लागि यतिसम्म उदासीन र लाचार सरकार, अब जवाफ पाउँ, नेपाली जनताले अब कहाँ जाने ?

सार्वभौम राष्ट्रको शक्ति कति हुन्छ भन्ने सानो दृष्टान्त अवगत गराउन चाहन्छु ।

उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको मलेसियामा भएको हत्या प्रकरणमा शव परीक्षणको विषयमा सामान्य विवाद हुँदा मलेसियन सरकारले उत्तर कोरियाली राजदुत मलेसियामा राख्न सम्भव नभएको भन्दै देश निकाला गर्‍यो ।

गोविन्दको शहादतमा हामीले कुनै राजदुतको देश निकाला होइन, कम्तिमा स्पष्टीकरण चाहेका छौँ । भारत सरकारबाट माफीसहित कम्तिमा १ करोड क्षतिपूर्ति चाहेका छौँ । नेपाल सरकारले शहिद घोषणा गरी उक्त क्षतिपूर्ति रकम भारत सरकारबाट भराइदिनुपर्छ र अब उप्रान्त यस्ता घृणित हर्कत नदोहोर्‍याउने प्रतिवद्धता गराउनुपर्छ ।

हिजो बाँधकै विषयमा सप्तरीमा देवनारायाण यादवले भारतीयहरुसंग आˆनो ज्यानको बाजी थापेका थिए । पूर्वझापादेखि पश्चिमको कञ्चनपुरसम्म हरेक दिन सीमा क्षेत्रका कयौँ देवनारायण र गोविन्दहरु कहिले भारतीय नागरिक त एसएसबीसँग भिड्न वाध्य छन् ।

एक नेपालीलाई पक्रिन भन्दै हिजो एके ४७ सहित डोटी र अछामको सीमाना चौखुट्टे पुगेको भारतीय एसएसबी आज सिमानामै नेपालीमाथि गोली बर्साइरहेको छ । सरकारलेे हत्याका दोषीलाई भारत सरकारसँग कारवाहीको माग गरी कडा कारबाही नगरिएसम्म सीमा क्षेत्रमा सधैँ सन्त्रासमात्रै भइरहनेछ ।

दिन दहाडै नेपाली नागरिकको हत्यापछि मेरो सरकार र सम्पूर्णराजनैतिक दलसँग प्रश्न छ, सीमाक्षेत्रमा एसएसबी र सिंहदरबारमा लैनचौरको दबदबा कहिलेसम्म ? कहिले आउँछ तपाईहरुसँग देशको सीमाना रक्षा गर्ने प्रतिवद्धता ?

अन्तमा,
तिम्रो आत्माको चिर शान्तिको कामना गर्दछु । शहिद गोविन्द गौतम, अलविदा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment