Comments Add Comment

बीमाले किसान पशुपालनतर्फ आकर्षित


३० फागुन, पाल्पा । गाउँ गाउँमा बीमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ ।

सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सञ्चालित पशुधन सुरक्षण समितिले किसानको घर घरमा पुगेर पशुको बीमा गर्न थालेपछि उनीहरु पशुपालनमा आकर्षित भएका हुन् ।

समितिले किसानले पालेको पशु क्षति भइहालेमा लगानी नडुबोस् भन्ने उद्देश्यले २०६३ सालदेखि पशुबीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सहकारीले पाँच प्रतिशत प्रिमियम छुटमा घरदैलोमा नै गएर पशुबीमा गर्ने सेवा किसानलाई दिँदै आएको छ । पशुपालन क्षेत्रमा अभिप्रेरित गराउने उद्देश्यले सञ्चालन गरेको पशुबीमा कार्यक्रमले पशुपालक किसानलाई ठूलो फाइदा पुगेको समितिका संयोजक नगीलाल पौडेलले बताए ।

संस्थामा एक पशुबीमा गर्ने किसानलाई सहकारीले एक सेयर थप गरिदिने भएको छ । अहिलेसम्म एक हजार ५ सय ४६ पशुको बीमा गरिएको छ । गाई ३९३, भैँसी एक हजार ९३, बाख्रा ३८ र बङ्गुर २२ को बिमा गरिएको उक्त संस्थाका व्यवस्थापक भविनारायण मरासिनीले जनाकारी दिए ।

सहकारीले रामपुर नगरपालिकासहित जिल्लाका विभिन्न गाविस तथा नवलपरासी, तनहुँ, स्याङ्जाका विभिन्न स्थानका किसानको घरदैलोमा गई पशुबीमा गर्दै आइरहेको छ । समितिले बीमा गरेका पशुका लागि समय समयमा जुका, माटेका औषधि तथा विभिन्न रोगका भ्याक्सिङ पनि निःशुल्क रुपमा किसानलाई सेवा दिँदै आएको छ । सरकारले पशु बीमाका लागि जिल्ला पशु सेवा कार्यालय, सेवा केन्द्र तथा सम्पर्क केन्द्रमार्फत बीमा कार्यक्रम सञ्चालनमा ल्याए पनि यस क्षेत्रमा भने खासै प्रभाव नपरेको किसान बताउँछन् ।

समयमा नै बिना झन्झट घरमै क्षतिपूर्ति रकम उपलब्ध गराएपछि सरकारी कार्यक्रमका सट्टा सहकारीमा बीमाको आकर्षण बढेको पाइएको छ । “सरकारी प्रक्रियाले काममा ढिला हुने हुँदा सहकारीमै पशुबीमा गरेँ, बीमा गरेपछि भैँसी मर्यो, सहकारीले घरमै क्षतिपूर्ति रकम उपलब्ध गरायो,” रामपुरका वासुदेव ढुङ्गानाले लाभ सुनाए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment