Comments Add Comment

भारतबाट यो वर्ष ५० हजार मेट्रिक टन चिनी आउने


५ चैत, काठमाडौं । सरकारी गोदाममा चिनी सकिएपछि यो वर्ष भारतबाट ५० हजार मेट्रिक टन चिनी ल्याइने भएको छ । अर्थ मन्त्रालयले चिनी ल्याउन स्वीकृति दिएपछि साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडले तत्कालै ५० हजार मेट्रिकटन चिनी ल्याउन ‘इन्टरनेशनल बिडिङ’ गर्ने निर्णय गरेको छ ।

साल्ट ट्रेडिङ भारतबाट चिनी आयातका लागि सहुलियत भन्सार माग्दै अर्थ मन्त्रालयमा निकै अघि प्रस्ताव पठाएको थियो । बजारमा अभाव देखाएर ब्यापारीहरुले चिनीको मूल्य बढाएपछि मात्रै मन्त्रालयले चिनी आयातको अनुमति दिएको छ । यो वर्ष चिनीको मूल्यले नेपाली बजारमा महंगीको रेकर्ड नै राखेको छ ।

बजारमा बढ्दो दरमा रहेको मूल्यलाई नियन्त्रण गर्न चिनी आपूर्तिमा ढिलाइ नगरिने साल्ट ट्रेडिङमा प्रवक्ता कुमार राजभण्डारीले अनलाइनखबरलाई बताए । ‘हामी केही दिनमै टेण्डर गर्छौं, चिनी आयतमा सकेसम्म ढिलाइ नहुने गरी काम गर्ने योजना बनाएका छौं’ राजभण्डारीले भने ।

सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले भारतबाट १ प्रतिशत मात्रै भन्सारमा चिनी किन्छ । सरकारले भारतबाट आउने यो चिनीलाई १४ प्रतिशत भन्सार मिनाह गर्छ ।

नेपालमा उखु किसानहरूले भाऊ नपाएर तडि्पइरहेपनि चिनी उद्योगी र ब्यापारीको कालोबजारीका कारण सरकारले भारतबाट चिनी झिकाउनुपर्ने अवस्था आउने गरेको छ ।

सँधैजसो साल्ट ट्रेडिङसँग चिनी मौज्दात सकिएपछि बजारमा चिनीको मूल्य अनियन्त्रित हुन्छ । गत वर्ष पनि ३० हजार मेट्रिक टन चिनी भारतबाट आयात भएको थियो ।

अहिले साल्ट ट्रेडिङसँग चिनी मौज्दात एकदमै न्युन मात्रै छ । सरकारले बेलैमा चिनी आयात गर्ने निर्णय नगर्दा अब भारतमै महंगो मूल्य तिर्नेपर्ने अवस्था आएको अधिकारीहरु दावी गर्छन् ।

साल्ट ट्रेडिङको गोदाममा चिनी सकिनासाथ बजारमा मूल्य आकाशिने समस्या नियन्त्रण गर्न भारतबाट आयात गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment