Comments Add Comment

कुमारीको कथाः भत्केको घर बनाउन र टुक्रेको मन बुझाउन म्यादी प्रहरीको सहारा

घर बनाउने हतारो छाडेर म्यादी प्रहरी बन्ने चटारोमा भूकम्पपीडित

कुमारी नेपाली

१७ चैत, सिन्धुपाल्चोक । साँगाचोकगढी नगरपालिका इर्खुकी ३३ वर्षीया कुमारी नेपालीको पीडा सुनाउने हो भने एउटा ठूलो कथा बन्छ । तर, मनको बह पोख्न छाडेर उनी म्यादी प्रहरीको लाइनमा उभिएकी थिइन् । उनको भत्किएको घर बनेको छैन, जवानीमै पति–वियोगले टुक्रिएको मन बुझेको छैन ।

‘भूकम्पले घर लड्यो, क्यान्सरले बूढा मरे । अनुदानको पहिलो किस्ता बूढाको उपचारमा सकियो । घर बनाउन पैसा छैन, बुढा बिरामी हुँदा उपचार गर्दाको ऋण अझै डेढ लाख रुपैयाँ बाँकी छ ।’

उनको पीडाको सार जम्माजम्मी यति नै हो ।

यति भनिसकेपछि कुमारी बोलिन्– ‘म्यादीमा भर्ना खुलेको रहेछ । दुई महिना काम गर्दा ५० हजार कमाइ हुने रहेछ ।  त्यही भएर म्यादी प्रहरीमा भर्ना हुन आएको । हुन्छ कि हुँदैन, थाहा छैन ।’

दुई सन्तानकी आमा कुमारी म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन लिएर जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी छन् । क्यान्सरबाट पतिको मुत्युपछि घर बनाउने जिम्मेवारी पनि उनको काँधमा छ भने पतिको उपचारको डेढ लाख ऋण पनि थपिएको छ ।

म्यादी प्रहरी भएर दुई महिनामा ५० हजार कमाउन सकियो भने एक पाखो ऋण तिर्ने उनको लक्ष्य छ ।

कुमारीले भनिन्, ‘खै, यहाँ आएका सबै मभन्दा तन्नेरी रहेछन् । मेरो त हुन्छ कि हुँदैन ! सर, तपाईंले यहाँको हाकिमलाई चिन्नुभएको होला, मिल्छ भने भनिदिनु न !’

कुमारीसँगै इर्खुकी ४० वर्षीया तारा तामाङ पनि म्यादी प्रहरी बन्ने लर्कोमा थिइन् । तारा भन्छिन्, ‘सरकारले दिएको अनुदानले मात्रै घर बनाउन नसक्ने भइयो, त्यसैले यहाँ काम गरेर आएको पैसाले घर बनाउन प्रहरीमा भर्ना हुन आएको हुँ ।’

सरकारले आगामी बैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन यतिबेला सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा भिड लागेको छ । भूकम्पबाट सबैभन्दा बढी जनधनको क्षति भएको सिन्धुपाल्चोकमा यतिबेला भूकम्पले ढलाएको घर निर्माणको हतारोभन्दा म्यादी प्रहरी बन्ने चटारो छ ।

म्यादी बन्न आउनेहरु सबैको एउटै भनाइ छ– अनुदानले मात्रै घर बनाउन नपुग्ने भयो, त्यसैले दुई महिना काम गरेर अनुदानमा थपथाप गरेर घर बनाउने ।

लामो समयपछि हुँदै गरेको स्थानीय तहको निर्वाचनमा भोट हाल्नु पर्दैन त भन्ने प्रश्न खस्न नपाउँदै म्यादीमा भर्ना हुन आएकी सामना कार्कीले भनिन्, ‘जसलाई भोट हाले पनि केही हुँदैन, दुई महिना म्यादी प्रहरी भइयो भने पैसा त कमाइन्छ ।’

भर्खरै एसएलसी दिएर बसेका र १२ कक्षा पढ्दै गरेका मात्रै होइन, सामान्य लेखपढ गरेका र डिग्री पढेकाहरु पनि अहिले म्यादीमा भर्ना हुन आएका छन् । उमेरले भर्खर १८ पुगेका र ५० काटेकाहरु पनि म्यादी बन्ने लाइनमा छन् ।

म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष उमेर पूरा भई ५४ वर्ष नकटेको हुनुपर्छ । पूर्व सेना, प्रहरी, यसअघि म्यादी प्रहरीमा भर्ना भएका, विदेशमा सुरक्षा निकायमा काम गरेकाहरुलाई भर्नामा पहिलो प्राथमिकता दिइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए ।

बल्लबल्ल हुने लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न मन भए पनि कतिपय युवा आर्थिक समस्या र बाध्यताले म्यादी प्रहरीमा भर्ना हुन आएको बताउँछन् ।

भोटेकोशी गाउँपालिकाको तातोपानीबाट म्यादीमा भर्ना हुन आएका ४२ वर्षीया अमृत राउत भन्छन्, ‘भूकम्पले घर लड्यो, अलिअलि भएको जग्गा पनि बाढीले लग्यो । जीवन निर्वाहका लागि अरु कुनै विकल्प भएन, त्यसैले जहानबच्चा पाल्न म्यादीमा आवेदन दिन आएँ ।’

म्यादीका लागि ५४ वर्ष नकटेको हुनुपर्ने भए पनि स्याउलेकी ६५ वर्षीया सावित्री थापा समेत भर्ना हुन आएकी छन् । उनले अहिलेसम्मको कुनै पनि निर्वाचनमा भोट हालेकी छैनन् । ‘भोट त एक दिनको लागि हो, यहाँ जागिर भयो भने त दुई महिनालाई ढुक्क हुन्छ नि’, थापाले भनिन् ।

जिल्ला प्रहरी कार्यालयले झण्डै ५ सय म्यादी प्रहरीका लागि भर्ना खुला गरेको छ । ५ सयका लागि ५ हजारभन्दा बढी आवेदन पर्ने आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment