Comments Add Comment

तामाकोशी आउनुअघि नै २४६ मेगावाट विजुली प्रसारणलाइनमा थपिने


१८ चैत, काठमाडौं । आगामी आर्थिक वर्षसम्म राष्ट्रिय प्रसारणमा २४६ मेगावाट विजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विभिन्न आयोजना सम्पन्न भएर यो आर्थिक वर्षमा १०५ मेगावाट विजुली प्रसारणलाइनमा कनेक्ट भइसकेको छ ।

यसैवर्ष थप ४५ मेगावाट विजुली प्रशारणलाइनमा जोडिने अवस्था रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

असारसम्म थप ४५ मेगावाट विजुली प्रसारणलाइनमा जोडिएपछि यो आर्थिक वर्षमा मात्रै १५० मेगावाट विजुली नेशनल ग्रीडमा जोडिने उनले बताए । आगामी आर्थिक वर्ष २०७४/७५ मा २०१ मेगावाट विजुली निजी क्षेत्रले राष्ट्रिय प्रशारणलाइनमा जोड्नेछन् ।

यसरी आगामी आर्थिक वर्षभित्र प्राधिकरणले थप २४६ मेगावाट विजुली प्रशारणलाइनमा प्राप्त गर्ने सुनिश्चित जस्तै छ ।

अर्को वर्ष प्राधिकरणले आफ्ना चमेलिया र कुलेखानी गरेर ४५ मेगावाट विजुली थप्नेछ । प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया अर्को वर्ष सम्पन्न हुनेमा आशंका छैन ।

१४ मेगावाटको कुलेखानी तेस्रो आयोजनामा आएका समस्याहरु समाधान गर्न प्राधिकरणको नेतृत्व लागेको छ । यसैका कारण यी दुई आयोजना आगामी वर्ष सम्पन्न भएर प्रसारणलाइनमा जोडिने अवस्था छ ।

निजी लगानी बनिरहेका साना/ठूला आयोजनाले पनि अहिले गति लिएका छन् । निर्माणाधीन आयोजनाहरुलाई ट्रान्समिसनमा जोड्न प्राधिकरणले पनि प्रभावकारी ढंगले पहल गरेपछि कामको गति बढेको छ ।

तामाकोशीको प्रतिक्षा

अहिले बुहप्रतिक्षित मानिएको ४५६ मेगावाट क्षमताको तामाकोसी पनि निर्माणधीन छ । यो २०७५ सालको मंसिरसम्म यसको पहिलो युनिट सञ्चालनमा आइसक्ने गरी काम भइरहेको छ । २०७६ को असारसम्म तामाकोसीका सबै युनिटले विजुली उत्पादन थाल्नेछ । त्यतिबेलासम्म राष्ट्रिय प्रसारणमा ७०१ मेगावाट बिजुली थप हुनेछ ।

तामाकोसी आयोजना सम्पन्न भएपछि नेपालले ऊर्जामा बेहोरिरहेको संकटलाई पूर्ण रुपमा निवारण गर्न सक्नेछ । आगामी २ वर्ष उर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण अवधि सावित हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

अहिले झण्डै ५४ सय मेगावाटका आयोजना लगानी जुटाएर निर्माणमा गएका छन् । सयभन्दा बढी यी आयोजनाले निर्माणमा ढिलाइ गरेका छैनन् । त्यसैकारण यी आयोजना निर्धारित समयमा सम्पन्न हुने अवस्थामा देखिएका छन् ।

झण्डै साढे ६ सय आयोजनाले विद्युत खरिद सम्झौता गरेर पनि लगानी जुटाउन कसरत गरिरहेका छन् । यो वर्ष महत्वपूर्ण ५ आयोजनाको काम सकिएर प्रसारणलाइनमा जोडिएका थिए ।

कति विजुली, कहाँबाट आउँदैछ ?

अहिले विद्युत प्राधिकरण अन्तरगतका ५४ आयोजना सञ्चालनमा छन् । जसमा ठूला आयोजनादेखि अफ ग्रीड हाइड्रो, थर्मल र साना हाइड्रो समेत छन् । यि आयोजनको जडित क्षमता ५ सय ३१ मेगावाट छ ।

निजी क्षत्रेका ५८ आयोजना अहिले सञ्चालनमा छन् । यसको जडित क्षमता ४ सय ३० मेगावाट छ । नेपालमा अहिले कुल ९६१ मेगावाट बरारका जडित क्षमता भएका आयोजना सञ्चालनमा छन् ।

तर, जडित क्षमताअनुरुप आयोजनाहरुले हिउँदमा उत्पादन गर्न सक्दैनन् । चैत १०को उत्पादनलाई आधार मान्दा प्राधिकरणका आयोजनाबाट ३ सय ६५ मेगावाट विजुली उत्पादन भइरहेको छ ।

निजी क्षेत्रका आयोजनाले प्रसारणलाइनमा १ सय ४५ मेगावाट विजुली दिइरहेका छन् । भारतबाट पि आवरमा ३ सय ८२ मेगावाटसम्म आयत गरिँदैछ ।

नेपालमा पिक आवरमा विजुलीको माग १२२५ मेगावाटसम्म छ । कुनै समय यो बढेर १५ सय मेगावाटसम्म पुगेको थियो ।

तर, प्राधिकरणले उपभोक्तालाई पिक आवरमा विजुली धेरै खपत गर्ने यन्त्र/उपकारण नचलाउन आग्रह गरेपछि विजुलीको माग घटेको छ । इन्भर्टर चार्ज हुन छाड्दा मात्रै २ सय मेगावाट विजुलीको माग घटेको छ । प्रशारणमा अझै ३ सय मेगावाट विजुली अपुग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment