Comments Add Comment

४० जिल्ला घुमेपछि मणि थापाको निस्कर्षः माओवादीको पक्षमा जनमत सल्बलाएको देखेँ

'एमालेको हावाबाट विजुली घरघरमा ठट्टाको विषय'

२४ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न हुन करिब एक महिनामात्रै बाँकी रहँदा चुनावी नतिजाको आँकलन हुन थालेका छन् । दलीय पक्षधरताका आधारमा फरक-फरक चुनावी आँकलनहरु सार्वजनिक भइरहेका छन् । आगामी निर्वाचनमा बिशेष गरी एमाले र कांग्रेसमध्ये कुन दल ठूलो बन्ला भन्ने धेरैलाई चासो छ । माओवादीको पक्षमा कस्तो जनमत देखिएला भन्ने पनि उस्तै कौतुहल छ ।

यसैसन्दर्भमा हामीले माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मणि थापासँग कुराकानी गरेका छौँ । थापा एक महिनादेखि देशका करिब ४० जिल्लामा पुगेर पाटीका सम्मेलनहरुमा भाग लिई राजधानी फर्किएका छन् । जिल्लादेखि कतिपय इलाका सम्मेलनसम्म पुगेर फर्किएका थापाले आगामी निर्वाचनको आँकलन यसरी गरेः

स्थानीय तह माओवादीको एजेन्डा

पार्टी एकता र सरकारमा रहेर गरेका कामहरुले पछिल्लो समय स्थानीय जनतामा माओवादीप्रति सकारात्मक सन्देशहरु प्रवाह भइरहेको पाएको छु । माओवादीकै अडानका कारण स्थानीय तहको चुनाव हुँदैछ भन्ने सन्देश जनतासम्म पुगेको छ । मैले करिब ४० जिल्ला घुम्दा माओवादीको पक्षमा जनमत सल्बलाएको देखेँ । स्थानीय तह माओवादीको मुद्दा हो भन्ने कुरा आम नागरिकले राम्रोसँग महसुस गरेको पाएँ ।

अब माओवादीले उम्मेदवार चयन गर्दा जनप्रीय, पार्टीभित्र परिचित, युवा, सामाजिक प्रतिष्ठा उच्च भएका उम्मेदवार चयन गरिनु पर्छ । यति गरियो भने माओवादीले आगामी निर्वाचनबाट आफ्नो साख फर्काउनेछ ।

स्थानीय तहको निर्माणसँगै गाउँसम्म अधिकार पुगेको छ र अब सानातिना काम लिएर जिल्ला, राजधानी, सिंहदरबार कुदिरहनु पर्दैन । यो कुरा जनताले पनि बुझ्न थालेका छन् । यसो हुनुमा माओवादीको प्रमुख भूमिका रहेको छ भन्ने बुझाइ जनस्तरमा राम्रोसँग रहेको देखेँ । यो माओवादी केन्द्रको राजनीतिक एजेण्डा हो भन्ने सबैले स्वीकारेका छन् ।

उत्पीडनमा परेका, विपन्न र मध्यमवर्ग अहिले माओवादीप्रति थप सकारात्मक बन्दै गएको पाएँ । राजनीतिक एजेण्डामा माओवादी इमान्दार रहेछ भन्ने सन्देश गएको छ । आधारभुत जनतामा त्यो छाप परेको छ । चुनावको प्रचार प्रसारमा पनि माओवादी अरु पार्टीभन्दा बढि सक्रिय देखिन्छ ।

उम्मेदवारी चयनमा सतर्कता

माओवादीले अब उम्मेदवार चयन गर्दा कति ख्याल गर्छ, त्यसले परिणामलाई असर पार्छ । उम्मेदवार चयन गर्दा सामाजिक छवी भएको, इमान्दार र युवालाई स्थान दिनुपर्नेछ । अर्को कुरा माओवादीले सरकारमा रहँदा गरेका कामहरु जनतासम्म अझै राम्रोसँग पुर्याउन सकेको छैन । त्यो पुर्याउन आवश्यक छ ।

अब माओवादीले आफ्नो मुद्धाहरुलाई स्थापीत गर्न आक्रामक प्रचार गरेर जानुपर्छ । अहिले माओवादीसँग रहेको भोटको रक्षा गर्दै अलिकति मात्र थप सुधार गर्न सक्यो भने यो चुनावमा सोचे भन्दा धेरै राम्रो नतिजा आउँछ । पछिल्लो तीन-चार महिनाको वीचमा माओवादीको पक्षमा धेरै राम्रो राजनीतिक वातावरण बनेको छ ।

जनतामा परेको प्रभाव

पार्टी एकताले कार्यकर्ताको मनोवल उच्च बनाएको छ । अर्को, वाइसिएल नयाँ तरिकाले जागरुक र संगठित भइरहेको छ । यसले कार्यकर्तामा सुरक्षाको अनुभुती भएको छ । यस्तै स्थानीय निर्वाचनप्रति प्रतिवद्ध माओवादी नै रहेछ भन्ने सन्देश गाउँसम्म गएको छ । त्यो बुझाइ जनतामा सोचभन्दा निकै गहिरिएर रहेको मैले पाएँ ।

यस्तै गौरवका आयोजनाहरु अगाडी बढाउन माओवादी नेतृत्व सरकारले गरेको पहल, मेलम्ची, फास्टट्रयाकमा गरेको मेहेनतले जनता प्रभावित बनेका छन् । माओवादीकै पालामा एकाएक दशौँ बर्षदेखिको लोडसेडिङको समस्या पूर्ण रुपमा हटेको छ । वैदेशिक रोजगारमा गएकाहरुको पक्षमा प्रधानमन्त्री आफैँले विभिन्न लोकप्रीय कार्यक्रम ल्याउनु भएको छ । विदेशमा फसेकाहरुको उद्धार भइरहेको छ । यसको सन्देश गाउँमा पुगेको छ ।

अहिले गाउँ-गाउँमा माओवादी पुनर्संगठित बन्दैछ र पार्टी सुध्रीन लाग्यो भन्ने सन्देश गएको छ । जनताले पुर्ण विश्वास भने गरिसकेका छैनन् । अब पूर्ण विश्वास दिलाउने बेला भएको छ । माओवादीको जनाधार विस्तारै संगठीत हुँदैछ । र माओवादीलाई कमजोर बनाउन हुँदैन, परिवर्तन उसैले ल्याएको हो भन्ने सन्देश पनि गएको छ ।

चिया पसलमा सीमित कांग्रेसको प्रचार

अहिलेसम्म कांग्रेसले स्थानीय स्तरमा चुनाव प्रचार-प्रसारमा खासै चासो राखेको देखिएन । कांग्रेसका कार्यकर्ता चिया पसलमा जम्मा हुन थालेका छन्, तर प्रचार प्रसारमा उत्रिसकेका छैनन् । उनीहरु आफ्नो भोट सुरक्षित छ भन्ने शैलीमा सदरमुकाममा ढुक्कसँग बसेका छन् ।

कांग्रेसभित्र अर्को समस्या उम्मेदवारका बारेमा छ । पुरानो पार्टी भएकाले एउटै पदका लागि धेरै दावेदार छन् । उनीहरु टिकट पाउन नेताको घरदैलो कुद्न थालेका छन् । तर त्यो स्थिती माओवादीको हकमा लागु हुँदैन । माओवादी केन्द्रभित्र एउटा पदका लागि बढिमा तीन जनासम्मको दावी परेको छ । त्यसमा पनि खासै जटिलता छैन ।

एमालेको फासिस्ट शैली

मध्यमवर्गीय एउटा तप्का र उच्च वर्गमा एमाले अझै पनि केही स्थापित देखिएको छ । तर मध्यमवर्गमा एमालेको यसअघिको वर्चश्वमा स्खलन आएको प्रष्ट देखिन्छ । एमालेले २०५४ सालकै शैलीमा गाउँगाउँमा सामाजिक फासीवादी चरित्र देखाउन थालेको छ ।

जसरी २०५४ को निर्वाचनपछि एमालेले गाउँ-गाउँमा आफ्नो राजनीतिक विचारमा सहमत नहुने जनतासँग छोइछिटो बन्द गर्ने, मेलाप र्म बन्द गर्ने गर्यो, त्यो सामाजिक फासिस्ट शैली फेरि उस्तैगरि दोहोर्‍याएको छ । एमालेको यो रवैयाप्रति स्थानीय जनता सहमत छैनन् । यसले गर्दा एमालेले जुन चुनावी आँकलन गरिरहेको छ, चुनावको परिणाम आउँदासम्म उसले ठूलो धक्का महसुस गर्छ ।

अर्को कुरा, अघिल्लो चुनावमा एमालेले धेरैलाई जागिर लगाइदिने, विभिन्न योजना पारिदिने आश्वासन दिएको रहेछ । तर ती आश्वासनहरु अहिलेसम्म पुरा भएका छैनन् । त्यसैले एमालेले ढाँट्यो भनेर थुप्रै रिसाएका छन् ।

यस्तै मेची-महाकाली अभियानले पनि एमालेप्रतिको भावना नकारात्मक बनेको छ । एमालेले देशलाई सम्हालेर, सबैलाई मिलाएर लैजाने भन्दा पनि भड्काउ राजनीतिक गर्यो भन्ने सन्देश तल गएको छ । हिमाल, पहाड र तराइको एकतालाई मजबुद पार्ने भन्दा पनि भड्काउने काम गर्यो भन्ने विश्लेषण छ ।

यसका साथै आदीवासी-जनजाति र किसान मजदुर तथा विपन्न तहको हित विपरित एमालेले काम गर्‍यो भन्ने सन्देश दिएको छ ।

एमाले नेतृत्वको सरकारले जनताको पक्षमा केही गरेन, ढाँट्यो भन्ने जनताको बुझाइ छ । स्थानीय तहमा एमालेप्रति करिब ५ महिनासम्म जुन आकर्षण थियो, त्यो अहिले हृवात्तै सेलाएको छ ।

एमालेको नारा ठट्टाको विषय

अर्को कुरा अहिले एमालेसँग स्थानीय चुनावमा लैजान ०५४ सालको बृद्ध भत्ताबाहेक अरु कुनै पनि राजनीतिक र विकाससँग जोडिएको एजेण्डा छैन । अब हावाबाट विजुली, घरघरमा ग्याँसपाइप र पानी जहाजको सपना तल ठट्टाको विषय बनेको छ । किनकी माओवादीले हल्ला नगरि लोडसेडिङ हटायो, तर एमालेले हल्लामात्रै गरेर बसेको तलका जनताले अनुभुती गरिरहेका छन् ।

चिया पसलमा हावाबाट विजुली निकाल्ने मुद्धा मजाकको विषय बनेको रहेछ । उनीहरुले हावाबाट विजुली भने, तर माओवादीले अहिले भएको विजुलीबाट लोडसेडिङ हटायो भन्ने राम्रो सन्देश जनतामा पुगेको छ । यो कुराले एमालेले फोस्रो सपनामात्र देखाउँछ, काम गर्दैन भन्ने सन्देश गएको छ । अहिले एमाले राजनीतिक मुद्धाको संकटमा देखिएको छ ।

यस्तै ओली प्रधानमन्त्रीबाट बर्हिगमन भएपश्चात एमालेले मधेसी समुदाय र जनजाति समुदायप्रति खुल्लारुपमा जुनखालको असहिष्णु व्यवहार देखायो, त्यसले पनि एमालेलाई ब्याक फायर भएको देखिन्छ । यसबाट एमालेभित्रको क्रान्तिकारी तप्का अकर्मण्यतामा फसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment