Comments Add Comment

साउदीको मरुभूमिमा नेपाली बँधुवाः जो ९ वर्षदेखि उद्धारको पर्खाइमा छन्

कतारमा 'फूल गोड्न' लगिएका हैदर साउदीमा ऊँट गोठालो

२६ चैत, बिराटनगर । सुनसरीका हैदर अली आजभन्दा ९ वर्षअघि ०६५ सालमा कतार उड्दा २४ वर्षको कल्कलाउँदो जवान थिए । कतार पुगेको केही महिनामै उनी बँधुवा मजदुर बनाइए । त्यहाँबाट उनलाई साउदीको मरुभूमिमा पुर्‍याइयो, जहाँ उनले विना तलब र विना ईच्छा ऊँट चराउन थालेको वर्षौं बितिसकेको छ । उद्धारको प्रतिक्षा गर्दागर्दै उनमा बुढ्यौलीका धर्साहरु देखिन थालेका छन् ।

उनी ३३ वर्षको अविवाहित उमेरमै बुढ्यौलीको शिकार त भए नै, अब कहिल्यै नेपाल फर्केर परिवारजनसँग भेट होला भन्ने आशासमेत मर्न थालेको छ उनमा ।

सुनसरीको जल्पापुर निवासी हैदर अलिको सपना यतिखेर चकनाचुर बन्यो जतिबेला उनी कतारका लागि ठूलो जेट विमानमा चढे ।

पैसा कमाएर घरपरिवारलाई सुख दिने सपना बुनेर उनी दलाललाई ८५ हजार रुपैयाँ बुझाएर अरबतिर लागेका हुन् । अहिले उनको जिन्दगी ब्ल्याक होलमा फसेजस्तै भएको छ । उनी फ्राइडे कथाका पात्रजस्तै मरुभूमिमा बेवारिस बनेका छन् ।

पारिवारिक स्रोतका अनुसार हैदर साउदी अरवमा नै ९ वर्षदेखि बँधुवा मजदुर बनेका हुन् । उनी घरपरिवारसँग सम्वन्ध विच्छेदको अवस्थामा जीवन जीउन बाध्य छन् ।

कामका लागि उनी कतार गएका थिए । दलालले उनलाई घरमा फूल गोड्ने काम लगाइदिन्छु भनेको थियो । तर, उनले फूल गोड्न त पाएनन् नै, मरुभूमिमा उनको सिंगो जीवन सिउँडीको काँडाजस्तो बन्न पुग्यो ।

पारिवारिक स्रोतका अनुसार कतारबाट हैदरलाई साहुले साउदी लगेर बन्धक बनाएका हुन् । साहुले उनलाई भेडा र ऊँट चराउन लगाएका छन् । हैदरलाई अहिलेसम्म एक रुपैयाँ पनि तलब नदिइएको परिवारका सदस्यहरुको भनाइ छ । उनलाई अहिले साउदीको अलहासा भन्ने स्थानमा राखिएको छ ।

हैदरका दाजु अयुब भाइले कहिलेकाहिँ लुकेर फोन गर्ने गरेको र जतिसक्दो उद्धारका लागि आग्रह गर्ने गरेको बताउँछन् ।

हैदरसँग दुईजना बंगलादेशी र एकजना सुडानी नागरिकसमेत साथमा छन् । उनीहरुलाई भने साहुले तलब दिने गरेको हैदरका दाजु अयुबले बताए । उनीहरुलाई घर जान दिए पनि हैदरलाई भने परिवारसँग सम्पर्क गर्नसमेत बन्देज लगाइएको उनले बताए ।

आफ्नो छोराले खाना र पानीसमेत राम्रोसँग खान नपाएको भन्दै हैदरका बुबा सखावत अलीले चिन्ता व्यक्त गरे ।

‘फूल गोड्न’ भन्दै कतार पुर्‍याइयो

सुनसरीको सत्तेरझोडाका फैजवा खान मार्फत उनी कतार पुर्‍याइएका हुन् । उनलाई मेनपावरका दलालले घरको काम गर्नुपर्छ भनेका थिए ।

खाने र बस्ने सुविधासहित महिनाको ८ सय कतारी रियाल पाउने आश्वासन पाएपछि घर परिवारले नै सल्लाह गरेर हैदरलाई विदेश पठाएका हुन् ।

छोरालाई विदेश पठाउन सखावतले एजेन्टलाई त्यहीबेला ८५ हजार रुपैयाँ बुझाएका थिए ।

‘घरमा फूल गोड्नुपर्छ, पुछपाछ र सरसफाइ गर्नुपर्छ भनेर चिनेजानेकै मानिसले भनेपछि हामीले हैदरलाई शिदेश पठायौं’ बुबा सखावत अलीले अनलाइनखबरसँग भने- ‘बिदेश गएपछि छोरोले न घरको काम पायो, न त तलब नै । कतार गएको छोरा अहिले साउदीको मरुभूमिमा जबरजस्ती ऊँट चराइरहेको छ ।’

कतार पुगेको सातदिनमा नै हैदरलाई साउदी लगेर छाडेको परिवारको भनाइ छ । हैदरका दाजु अयुबले अनलाइनखबरसँग भने- ‘खान पाइनँ, मर्न लागंे, यहाँबाट छिटो निकाल भनेर भन्छ, हामीले कसरी निकाल्नु ?’

अयुबका अनुसार हैदर बसेको ठाँउमा मरुभूमि बाहेक केही देखिँदैन । उँट र भेडाको हेरचाह गर्ने हैदरलाई भाग्न खोज्दा उनीसँगै रहेका अरुले भाग्न दिँदैनन् । भागेर पनि जाने कहाँ ? कुनै उपाय छैन ।

हैदरलाई साहुले हप्ता-हप्ता दिनमा खाना ल्याइदिने गरेको र गर्मीमा त्यही खानाले जसोतसो बाँचिरहेको परिवारका सदस्यले बताए ।

टुरिष्ट भिसामा साउदीसम्म

बन्धकजस्तै बनाइएका भाइलाई कुनै पक्षबाट उद्धारका लागि सहयोग नपाएपछि हैदरका दाजु आफैं साउदी गएका छन् । कतैबाट उपाय नलागेपछि छोरो भिजिट भिसामा साउदी गएको सखावतले अनलाइनखबरलाई बताए ।

तीन लाख रुपैयाँ खर्च गरेर टुरिष्ट भिसामा साउदी पुगेका हैदरका दाजु मोहम्मद गिसुदिन अबको केही दिनमा नेपाल फर्कँदैछन् ।

त्यहाँ पुगेर नेपाली दुताबासमा निवेदन दिए पनि उनले भाइ भेट्न नपाएको अर्का दाजु अयुबले अनलाइनखबरलाई बताए ।

‘लेभर कोर्टमा पनि मुद्दा हालिएको छ, तर केही उपाय लागेको छैन, हामीले गर्न सक्ने केही छैन, तपार्इको मान्छे साउदीमा छैन, हामीले उनलाई भेट्न सक्दैनौं,’ दुताबासका अधिकारीलाई उधृत गर्दै हैदरका दाजु अयुब भन्छन् ।

साउदीस्थित दुताबासबाट दाजुले कर्मचारीहरुको सहयोगमा साहुलाई फोन गर्दासमेत फोन नउठेको अयुबले बताए । र, दाजु ३ लाख रुपैयाँ खर्च गरेर असफल साउदी यात्रा पूरा गरी केही दिनमै नेपाल र्फकन लागेको अयुवले जानकारी दिए ।

पिताको अपील

वैदेशिक रोजगारीमा गएर अप्ठ्यारो परेकालाई कसैले सहयोग गर्छ भनेको सुन्नासाथ कागजपत्र बोकेर सखावत दौडिइहाल्छन् ।

उनी जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय, बैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय सबैतिर पुगिसके । तर, कसैले अहिलेसम्म सहयोग गरेनन् ।

‘छोरो हिँडेदेखि मेरो अरु कुनै काम छैन,’ चार छोराका बाबु सखावतले भने, ‘सहयोग गर्छु भन्ने धेरै निस्कए, तर कसैले गरेनन् । सरकारले पनि केही गरेन । अब त आशा नै मरिसक्यो ।’

यद्यपि सास रहुञ्जेल आश रहन्छ भनेजस्तै सखावत अहिले पनि विभिन्न निकायमा छोरालाई स्वदेश फर्काउने पहल गरीदिन आग्रह गर्दै  धाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment