Comments Add Comment

नेपाल-भारत सीमामा मानव तस्करी डरलाग्दो !

फाइल तस्वीर

२७ चैत, नयाँ दिल्ली । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल र भारतबीचको सीमा क्षेत्रमार्फत मानव बेचविखन डरलाग्दो रुपमा बढिरहेको जनाएको छ । यसलाई नियन्त्रणमा ल्याउन सुरक्षा एजेन्सीहरुले नयाँ उपायहरु अबलम्बन गर्नुपर्नेमा उसको जोड छ ।

एसएसबीको विज्ञप्तिअनुसार सन् २०१४ मा यसले बेचविखनका घटनामा यस क्षेत्रबाट ३३ जना पीडितलाई उद्दार गरेको थियो । यो बढेर २०१५ मा ३ सय ३६ र २०१६ मा ५ सय १ पुग्यो भने २०१७ को मार्चसम्ममा १ सय ८० जनालाई उद्दार गरिएको छ ।

मानव बेचनबिखनमा संलग्नहरु पक्राउ पर्ने क्रम पनि बढिरहेको छ । एक हजार ७ सय ५१ किलोमिटर लामो यस बोर्डरबाट २०१४ मा बेचविखनमा संलग्न ८ जनालाई पक्राउ गरिएको थियो । यो संख्या बढेर २०१५ मा १०२ र २०१६ मा १४८ पुग्यो । एसएसबीका अनुसार यस वर्षको मार्चसम्ममा ५१ जना पक्राउ परिसकेका छन् ।

बेचविखनको बढ्दो क्रमलाई रोक्ने रणनीति बनाउने उद्देश्यले एसएसबीले यस अपराधलाई नियन्त्रण गर्ने अख्तियारीप्राप्त सरोकारवालाहरुबीच एक दिने सम्मेलन आयोजना गर्दैछ ।

सम्मेलनमा बेचिएका बालबालिकाहरुको प्रमुख गन्तव्यको रुपमा रहेका मुम्बई, बैंगलोर र पञ्जाबजस्ता शहरका उच्च प्रहरी अधिकृतहरुका साथै उत्तर प्रदेश, बिहार र अन्य राज्यका प्रहरी बल, रेल्वे प्रहरी तथा एनजिओहरुको प्रतिनिधित्व रहने टाइम्स अफ इण्डियाले जनाएको छ ।

‘बेचविखन नियन्त्रण प्रहरी एक्लैबाट सम्भव छैन, यसका निम्ति जिम्मेवार सम्पूर्ण सरोकारवालाहरुलाई हामी सक्रिय तुल्याउन चाहन्छौ,’ एसएसबीका महानिर्देशक अर्चना रामासुन्दरमले भनिन् । वेचविखनको स्रोत र आपूर्ति गन्तव्य पहिचान गर्नुपर्ने आवश्यकतामा जोड दिदै उनले यो अपराधको जरो नै उखेल्नुपर्ने बताइन् ।

सोमबार हुने सम्मेलनले यस अपराधिक क्रियाकलापका आपूर्तिकर्ता र अन्तिम प्रयोगकर्ताको पहिचान गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने कार्यमा संलग्न विभिन्न एजेन्सीहरुबीच उच्चस्तरीय समन्वयका निम्ति रणनीति तर्जुमा गर्ने पनि रामासुन्दरमको भनाई छ ।

नेपाल-भारत सीमामा मानव बेचविखनका घटनाहरुमा पनि क्रमिक वृद्धि भइरहेको छ । सन् २०१४ मा ८ घटना मात्रै थिए भने २०१५ मा ७३ र २०१६ मा ७६ घटनाहरु भएका छन् । यस वर्षको मार्चसम्ममा मानव वेचविखनका घटना ३४ पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment