३० चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधान संशोधन विधेयक स्वीकार नगर्ने निर्णय गरेको छ । साथै उनले आफ्नो माग पुरा नहुँदासम्म हुने कुनै पनि चुनावमा भाग नलिने समेत बताएको छ ।
तमलोपाको कार्यालयमा बुधबार बसेको मधेसी मोर्चाको बैठकले ११ र २६ बुँदे माग अनुसार संविधान संशोधन नहुँदासम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । ‘आन्दोलन जारी रहेको वर्तमान अवस्थामा हुने निर्वाचनमा मोर्चा सहभागी नहुने निर्णय गर्दछ’ शीर्ष नेताहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
मधेसी मोर्चाले विगतमा भएको वार्ता तथा सहमतिको मर्म विपरित सरकारले संविधान संशोधन विधेयक ल्याएको भन्दैस्वीकार्य नहुने बताएको छ । उसको निर्णय छ, ‘सीमांकन लगायत मुलभूत मुद्दाहरु सम्बोधन नहुने भएको हुनाले संशोधन विधेयकलाई मोर्चा अस्वीकार गर्दछ ।’
बैठकपछि मोर्चाका नेताहरुले आफहरु स्थानीय चुनावमा भाग नलिने बताएका छन् । ‘हाम्रो माग पुरा नहुँदासम्म कुनै पनि चुनावमा भाग नलिने हुनाले स्थानीय तहको चुनावमा भाग नलिने भयौं’ रामसपाका महासचिव केशव झाले भने ।
मधेसी मोर्चाको बैठकले दबावमुलक आन्दोलनका कार्यक्रम पनि घोषणा पनि गरेको छ । भोलि तराई मधेसका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने र वैशाख ३ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने उसको कार्यक्रम छ ।
बाँकी आन्दोलनका कार्यक्रम पछि तय गरिने मोर्चाका नेता रामनरेश रायले बताए ।
प्रतिक्रिया 4