Comments Add Comment

मोर्चाका नेतालाई प्रचण्डको टेलिफोनः आउनुस् वार्ता गरौं

३१ चैत, काठमाडौं । सरकारले आन्दोलन छाडेर सहमतिमा आउन र तीनै तहको निर्वाचनलाई सफल बनाउन मधेसी मोर्चामा आवद्ध दलहरुलाई आह्वान गरेको छ । संघीयता, गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरेपक्षता लगायतका उपलब्धीलाई संस्थागत गर्न निर्वाचन अनिवार्य भएको भन्दै सरकारले आन्दोलन छाडेर सहमतिमा आउन आह्वान गरेको हो ।

मधेसी मोर्चाले संविधान संशोधन पनि नस्वीकार्ने र निर्वाचनमा पनि भाग नलिने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले नेताहरुलाई टेलिफोन गरेर वार्तामा आउन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रचण्डले कम्तिमा प्रमुख राजनीतिक शक्तिहरुको एकतामा जोड दिएका थिए ।

‘प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो लगायत सबैजसो नेताहरुलाई हिजो पनि आज पनि टेलिफोन गर्नुभयो र नमिलेका विषय छलफलबाटै मिलाउन तयार रहेको बताउनुभयो,’ प्रेस सल्लाहकार आचार्यले अनलाइनखबरसँग भने, ‘तीनै तहको निर्वाचनमा सबै राजनीतिक शक्तिहरु मिलेर जानुपर्ने भएको हुनाले आउनुस्, समस्या समाधान गर्न छलफल गरौं । सहमति गरेर जाऔं । अहिले आन्दोलन गर्ने बेला होइन नमिलेका कुरा केही छन् भने पनि मिलाइन्छ भन्नुभएको छ ।’

प्रचण्डले मोर्चाका नेताहरु समेत सहभागी अनौपचारिक कार्यदलले दिएको सुझाव अनुसार नै संशोधन प्रस्ताव ल्याइएको भन्दै सहमतिमा आउन आग्रह गरेका थिए ।

आचार्यका अनुसार अनौपचारिक कार्यदलमा कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका कृष्णबहादुर महरा, राप्रपाका दीपक बोहोरा तथा मोर्चाका नेताहरु लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठ सदस्य थिए ।

विगतको छलफलमा सीमांकनको विषयमा आयोग बनाएर जान तपाईंहरु राजी पनि भइसक्नु भएको हो,’ प्रचण्ड र मोर्चाका नेताहरुको कुराकानी उद्धृत गर्दै आचार्यले अनलाइनखबरसँग भने, ‘त्यही भएर अरु कुरामा केही छन् भने छलफल गरौं र तीनै तहको निर्वाचन सुनिश्चित गरौं भनेर उहाँले -प्रचण्डले)भन्नुभएको छ ।’

मोर्चाका नेताहरुले भने पूर्ववत अडानअनुसार नै कुरा राखेको आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment