Comments Add Comment

रक्सी छुटाउन सुधार केन्द्र राखिएका पदमको कसरी गयो ज्यान ?

पोष्टमार्टममा देखियो टाउकोमा चोट


३ बैशाख, काठमाडौं । रक्सीको कुलतमा फसेका श्रीमानलाई सुधार केन्द्रमा छाडेर आएकी सञ्जु देवकोटा अहिले भक्कानो फुटाएर रोइरहेकी छिन् । किनकि उनका श्रीमान सुधार केन्द्रबाट अब कहिल्यै नफर्किने भए ।

औपचारिक शिक्षामा रुपमा १० कक्षासम्म पढेका ३३ वर्षीय पदमबहादुर पौडेल रक्सीमा पानीसरी पौडिन थालेपछि उनको परिवार प्रताडित बनेको थियो । यही पीडाबाट पार पाउने आशामा उनलाई १८ दिनअघि बेहोशी हालतमा श्रीमतीले गोदावरीमा रहेको जीवनशैली सुधार केन्द्रमा पुर्‍याइन् ।

शनिबार बिहान १० बजेर ३ मिनेटमा सञ्जुलाई सुधार केन्द्रबाट फोन आयो । तर, खबर सुखद थिएन । ‘तपाईंको मान्छे सिरियस बिरामी भएर पाटन हस्पिटलमा लगिएको छ, छिट्टै आउनुस,’ उताबाट भनियो ।

जेठाजुलाई लिएर दौडादौड गर्दै अस्पताल पुगिन् सञ्जु । उनले श्रीमानको शरीर त भेटिन् तर, प्राण गइसकेको अवस्थामा ।

एक जड्याहाको नियति

गौरीवास-४, महोत्तरी स्थायी ठेगाना भएका पदमको कोटेश्वरमा पनि घर छ । त्यहाँ उनी आमा, श्रीमती, एक छोरा र दुई छोरीसहित र श्रीमतीसहित बस्थे । महाबौद्धमा उनको रेडिमेड कपडा पसल छ ।

पदम नियमित बिहान ८ बजे पसल खोल्न जान्थे । श्रीमती १० बजे श्रीमानलाई खाना लिएर पसल पुग्थिन् ।

खाना खाइसकेपछि पसलबाट पैसा निकाल्थे र रक्सी पिउन भट्टीमा छिर्थे । श्रीमती पसल रुँगेर बस्थिन् । पदम एकैचोटि राति मात्तिँदै घर आउँथे । उनलाई पिउन साथी पनि चाहिँदैन थियो । एक्लै गएर पिइदिन्थे । यो क्रम दुई वर्षदेखि चलिरहेको थियो ।

श्रीमती र आफन्तले उनलाई धेरै सम्झाए तर केही लागेन । ‘हामीले सम्झाउँदा अब आइन्दा पिउँदिन भन्थ्यो,’ पदमका भिनाजु टपिन्द्र तिमल्सिनाले भने, ‘तर, पिउन भने छोड्दैनथ्यो ।’

कमाएको पैसा जति श्रीमानले रक्सीमै सिध्याउन थालेपछि सञ्जुलाई घर चलाउन धौधौ पर्‍यो । पसलको व्यापार पनि बिगि्रयो । अनि उनले आफन्तहरुको सल्लाहमा श्रीमानलाई गोदावरी लगेर ६ महिनाका लागि छोडेकी थिइन् ।

सुधार केन्द्रको नियमअनुसार १ महिनासम्म उनले श्रीमानलाई भेट्न पाउँदिन थिइन् । तैपनि साह्रै न्यास्रो लागेर अघिल्लो शनिबार उनी सुधार केन्द्र पुगिन् । श्रीमानलाई भेट्न त पाइनन् तर, हालखबर बुझिन् । सबैले राम्रो छ भनेपछि सन्तोष मान्दै फर्किइन् ।

त्यसको एक हप्तापछि उनलाई सुधार केन्द्रबाट फोन आएको थियो ।

अस्पतालमा मृत घोषणा

शनिबार बिहान पौने १० बजे पाटन अस्पताल ल्याइँदा पदमको अवस्था नाजुक थियो । अस्पतालको इमर्जेन्सी गेटमा उनले रगत वान्ता गरेको त्यहाँ सुरक्षामा खटिएका एसपी मीनबहादुर परियारले अनलाइनखबरलाई बताए ।

‘अस्पताल ल्याउँदा प्राण गइसकेको थिएन,’ उनले भने, ‘इमर्जेन्सीको गेटमा छादेको आफैंले देखेको हुँ ।’

अस्पतालका निर्देशक विष्णु शर्माले भने अस्पताल ल्याउनुअघि नै मृत्यू भइसकेको दावी गरे । शर्माका अनुसार ल्याउनासाथ इसिजी गर्दा फ्याट देखिएपछि उनलाई १० बजे मृत घोषित गरिएको थियो । त्यसपछि शवलाई शवगृहमा राखियो ।

त्यसको केही समयपछि आफन्त र महाबौद्धका केही व्यापारीहरु जम्मा भए । उनीहरुले शव मागे । तर प्रहरीले पोष्टमार्टम गरेपछि मात्रै दिन सकिने बतायो ।

यत्तिकैमा पदमकी आमा अस्पताल आइन् । उनले छोराको जसरी पनि छोराको शव हेर्ने अड्डी लिइन् । उनलाई देखाउन लास निकालियो । त्यतिबेला सबैले शवको टाउकोबाट सलल रगत बगिरहेको देखे । त्यसपछि सबैलाई शंका भयो कि यो स्वाभाविक मृत्यु नभएर हत्या हुन सक्छ । त्यसपछि उनीहरुले घटनाको अनुसन्धान हुनुपर्ने माग राखे ।

अस्पतालमा आएका सुधार केन्द्रका व्यक्तिहरुले पदमले सोही दिन एक्कासी वान्ता भएको, त्यसपछि मोडल हस्पिटल लगिएको तर त्यहाँबाट पाटन हस्पिटल रिफर गरिएको बताएका थिए ।

पोष्टमार्टममा देखियो टाउकोमा चोट

पदमको लाशलाई टिचिङ अस्पताल महाराजगञ्जमा लगेर पोष्टमार्टम गरिएको छ । पोष्टमार्टममा मृतकको टाउकोमा चोट देखिएको र त्यसैको कारणले मृत्यु भएको डा. हरिहर वस्तीले अनलाइनखबरलाई बताए ।

‘छाति र तिघ्रामा पनि खोसि्रएको डाम छ,’ उनले भने, ‘तर मृत्युको कारण टाउकाको चोट नै हो ।’

यो घटना हत्या वा दुर्घटना जे पनि हुन सक्ने उनको भनाइ छ ।

प्रहरीले सुधार केन्द्रका सञ्चालकलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । मृतकको आइतबार बेलुकी पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment