Comments Add Comment

ऋण लिन बैंक जाँदै हुनुहुन्छ ? १५ प्रतिशतमाथि तिर्न तयार रहनुस्

निक्षेपको ब्याजसँगै अब ऋणको ब्याजदर पनि दोब्बर !

५  बैशाख, काठमाडौं । ऋण लिन बैंक जाने सोचाइमा हुनुहुन्छ भने महंगो ब्याज तिर्न तयार भएर जानुहोस् । लगानीयोग्य रकमको अभावमा ऋण पाउन कठिन भइरहेका बेला बैंकहरुले ब्याजदर १५ प्रतिशतसम्म पुर्‍याएका छन् ।

बचत खातामा ब्याजदर वृद्धि गरिरहेका बैंकहरुले अधिकांश शीर्षकको कर्जाको व्याजदर बढाएर १५ प्रतिशतसम्म पुर्‍याएका छन् । पुँजीको लागत वृद्धि भएको भन्दै बैंकहरुले कर्जाको ब्याजदरमा पनि पुनरावलोकन गरेका हुन् ।

राष्ट्र बैंकले चैतसम्ममा कल निक्षेप खाताको ब्याजदर साधारण बचत खाताको सरह बनाउन निर्देशन दिएको थियो । सो निर्देशनपछि फागुनयता मात्रै १५ वाणिज्य बैंकले बचत खाताको ब्याजदर वृद्धि गरेको विवरण सार्वजनिक गरिसकेका छन् । कतिपयले फागुनको दोस्रो सातादेखि नै बचतको ब्याजदर बढाएका थिए भने अझै केही संस्थाको ब्याजदर परिवर्तनको सूचना आइरहेको छ ।

बैंकहरुले कल निक्षेपको खातामा ११ प्रतिशत ब्याजदर दिएका थिए । तर, राष्ट्र बैंकको निर्देशनपछि सो ब्याजदर घटाउनुभन्दा बचतको ब्याजदर बढाउनतिर बैंकहरु लागेका हुन् ।

बचत खातामै अधिकतम ८ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका बैंकहरुले कर्जाको ब्याजदर पनि बढाउनुपरेको हो । हाल कारोबार गरिरहेका ऋणीलाई ब्याजदरमा केही सहुलियत दिए पनि सर्वसाधारण ग्राहकहरुलाई धेरैजसो शीर्षकको कर्जामा १५ प्रतिशतसम्म ब्याजदर लगाइएको छ । यसअघि पनि बैंकहरुले निश्चित अवधिको लागि मुद्दती खातामा १२ प्रतिशतसम्म दिएका थिए ।

बैंकहरुले प्रकाशित गरेको नयाँ वित्तीय विवरण अनुसार विशेष ग्राहकबाहेकका अन्यले अहिले गाडी कर्जा र घर कर्जा ११ प्रतिशतदेखि १६ प्रतिशतसम्ममा मात्र पाउने छन् । कतिपय बैंकहरुको यी शीर्षकमा न्युनत्तम ब्याजदर नै १२ प्रतिशत छ ।

त्यस्तै, सेयर धितोमा कर्जाको ब्याजदर ११ देखि १७ प्रतिशतसम्म रहेको छ । कतिपय बैंकले भने सेयर कर्जाको न्युनतम ब्याजदर नै १५ प्रतिशतसम्म तोकेका छन् । सर्वसाधारण ग्राहकलाई ओभरड्राफ्ट कर्जामा पनि न्युनत्तम १२ देखि १७ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

ब्याजदर वृद्धि ‘क्षणिक’

निक्षेप र कर्जामा ब्याजदर बढे पनि यो क्रम केही महिनामा नै सेलाउने बैंकरहरुको अनुमान छ । ‘अन्तिम त्रैमाश (बैशाखदेखि असार) मा हरेक वर्ष लगभग १ खर्बदेखि १ खर्ब ५० अर्बसम्म निक्षेप बढ्छ’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने-‘ हाम्रा ग्राहकहरु १२ प्रतिशत माथिको कर्जा लिन नचाहने प्रवृत्तिका छन्, पुँजी भित्रिएपछि कर्जा गएन भने बाध्य भएर पनि ब्याजदर घटाउनुपर्ने हुन्छ ।’

अन्तिम त्रैमाशमा सरकारी खर्च बढ्ने गरेकोले निक्षेपमा वृद्धि हुने गरेको हो । दाहालका अनुसार अहिले कल निक्षेप खातामा भएको रकम जोगाउन मात्र बैंकहरुले साधारण बचतमा पनि ब्याज दर बढाउन परेको हो । तर, अन्तिम त्रैमाशमा सरकारी खर्च वृद्धिसँगै प्रणालीमा पुँजी भित्र्दा कल निक्षेप मात्र नभई अन्य खाताको पनि ब्याजदर कम गर्न सकिने अवस्था आउने उनको प्रक्षेपण छ ।

सरकारी खर्च बढे पनि सबै बैंकले समान रुपमा निक्षेप वृद्धि गर्न सक्दैनन् । यद्यपी साउन, भदौंसम्ममा भने लगभग सबैको निक्षेपमा केही न केही वृद्धि हुन सक्ने भएकोले पनि ब्याजदर वृद्धिको प्रवृत्ति नियन्त्रण हुने अनुमान गरिएको छ । यस्तो भएमा हाल पुँजी लागत बढेको भन्दै कर्जाको ब्याजदर समेत बढाएका बैंकहरुले यसलाई पनि कम गर्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment