Comments Add Comment

राजपा बन्यो मधेसको ठूलो पार्टी, अब चुनावमा आउला ?

मध्यरातमा मधेसी नेताले भने- हाम्रो आत्मा मिल्यो

७ बैशाख, काठमाडौं । मधेसी मोर्चामा आवद्ध पाँचवटा पार्टीबीच बुधबार मध्यरातमा एकता भएको छ । पार्टी एकताको औपचारिक घोषणा बिहीबार अपरान्ह हुँदैछ । पाँच पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) अब मधेसको सबैभन्दा बढी सीट भएको पार्टी ठहरिएको छ ।

नयाँ दल राजपामा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र्र महतो नेतृत्वको सदभावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक आवद्ध भएका छन् ।

अनिल झा नेतृत्वको नेपाल सद्भावना पाटर्र्लिई पनि एकता प्रक्रियामा सामेल गर्ने प्रयन्त भइरहेको नेताहरुले बताएका छन् ।

बुधबार राति एक बजेसम्म भएको डिनरसहितको छलफलले पार्टी एकताको टुंगो लगाएको हो । एकताको घोषणा ब्हिीबार अपरान्ह डिल्लीबजारस्थित अमृत भोग पार्टी प्यालेसबाट गर्न लागिएको नेता राजकिशोर यादवले अनलाइनखबरलाई जानकारी दिए ।

पार्टी एकता भएपछि तराई मधेसका विभिन्न जिल्लामा ब्याण्ड बाजासहित उत्सव मनाउन र बिहीबार साँझ दिपावली गर्न नेताहरुले जिल्लाका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मधेसको ठूलो पार्टी

हाल मधेसमा अस्थित्वमा रहेका मधेस केन्दि्रत दलहरुमध्ये संसदमा प्रतिनिधित्वका आधारमा राजपा सबैभन्दा ठूलो दल बनेको छ । अब संसदमा यो दलको सीट संख्या २३ पुगेको छ ।

हाल संसदमा तमलोपाको ११ सीट छ भने सदभावनाको ५ सीट छ । रामसपा र तमसपाको ३/३ सांसद छन् भने गणतान्त्रिक फोरमको १ सीट छ । यो सबै जोड्दा अब नयाँ पार्टी २३ सीटको बनेको छ ।

संसदमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको १६ सीट छभने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको १५ सीट छ भने । यो आधारमा हेर्दा अब राजपा संसदमा पाँचौं दल बन्न पुगेको छ । ३७ सीट रहेको चौथो शक्ति राप्रपा पछाडि राजपाको स्थान बनेको छ ।

पाँचजनाको अध्यक्ष मण्डल, चुनावचिन्ह छाता

पार्टी एकताका लागि भएको सहमति अनुसार पाँच पार्टीका अध्यक्षहरु रहेको अध्यक्ष मण्डल गठन गरिएको छ, जसमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र यादव र राजकिशोर यादव रहनेछन् ।

पाँचै दलका पदाधिकारीहरु सम्मिलित पदाधिकारीको संयन्त्र रहनेछ । तर, नीतिगत निर्णयहरु लिनका लागि राजनीतिक समिति गठन गरिने सहमति भएको अध्यक्ष मण्डलका नेता राजकिशोरले अनलानइनखबरलाई जानकारी दिए ।

आगामी एक वर्षभित्र महाधिवेशन गर्ने र त्यसअघि अध्यक्ष मण्डलले सामुहिक नेतृत्वका आधारमा पार्टी चलाउने समझदारी भएको यादवले बताए ।

कुनै पनि कार्यक्रम वा बैठकहरुमा पार्टीका तर्फबाट एकजनाले प्रतिनिधित्व गर्नुपर्ने भए कसले प्रतिनिधित्व गर्छ ? यो प्रश्नमा यादवले भने-‘त्यहाँ महन्थ ठाकुरजी जानुहुन्छ ।’

तर, अध्यक्ष मण्डलका अध्यक्षहरुको कुनै बरियता नतोकिएको र सबैको स्टाटस समान हुने उनले बताए ।

नयाँ पार्टीको सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित सहभागितामूलक समावेशी लोकतन्त्र’ रहने यादवले जानकारी दिए । नयाँ पार्टीको झण्डा तीन रंगको हुनेछ । सबैभन्दा माथि रातो रंग हुनेछ भने वीचमा सेतो रंग हुनेछ । आधारमा हरियो रंग हुनेछ । क्रान्ति, शान्ति र समृद्धिको प्रतीकका रुपमा तीन रंग राखिएको नेताहरुले बताएका छन् ।

झण्डाको वीचमा पार्टीको चुनावचिन्ह रहने बताइएको छ । साझा पार्टीको चुनावचिन्ह छाता प्रस्ताव गरिएको छ । नेपाललाई छाताको रुपमा विकास गर्नका लागि यस्तो चुनाव चिन्ह प्रस्ताव गरिएको एक नेताले बताए ।

पाँच पाण्डवको चर्चा

बुधबार राति पार्टी एकताबारे छलफल भइरहँदा केही नेताहरुले पाँचजना शीर्ष नेतालाई पाँच पाण्डवको संज्ञासमेत दिन भ्याए ।

उनीहरुले महन्थ ठाकुरलाई सबैका जेठा दाजु, युधिष्ठिरजस्तै निष्ठावान र सत्यवादी नेता भएको बताए भने भीष्मको संज्ञा चाहिँ महेन्द्य्र यादवलाई दिए ।

पार्टी एकतासम्बन्धी बैठकमा राजेन्द्र महतोले भावुक हुँदै आफ्नो २७ वर्षे राजनीतिक जीवनमा आजको दिन जति खुशी कहिल्यै नलागेको बताए ।

पार्टी एकताका लागि ‘चाणक्य’को भूमिका खेलेका राजकिशोर यादवले पार्टी एकताबाट उत्साह जागेको बताउँदै अनलाइनखबरसँग भने- ‘मैले सुरुमा पार्टी एकताको प्रयास थालनी गर्दा कतिपय नेतावीच बोलचालसम्म थिएन । तर, बुधबार राति एक अर्कालाई खाना सर्भ गर्दै नेताज्युहरुले भन्नुभयो कि हामीवीच पार्टी एकतामात्रै भएको होइन, आत्माको एकता भएको हो ।’

यादवले अघि भने-‘यो एकताले निकै ठूलो सन्देश दिएको छ, यो दलहरुको एकता हैन, मधेस आन्दोलनको एकता हो, मधेसका जनताको भावनाको एकता हो । जनताले हामीलाई एक भएर आउ भनेका थिए, त्यसलाई हामीले पूरा गर्‍यौं ।’

अन नयाँ पार्टीलाई व्यवस्थित बनाएर मधेसको मात्रै होइन, देशकै एउटा बैकल्पिक शक्ति बनाउने यादवले बताए ।

अब चुनावमा आउला ?

आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय चुनावका विषयमा नयाँ पार्टी राजपाले आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । सम्भवतः बिहीबार अपरान्ह हुने एकता घोषणा सभामा नेताहरुले यसबारे केही संकेत देलान् ।

सरकारले यदि मधेसी मोर्चा निर्वाचनमा भाग लिन्छ भने दुई चरणमा चुनाव गर्न सकिने बताउँदै आएको छ । एमालेले पनि यसमा सकारात्मक हुन सकिने संकेत दिइसकेको अवस्था छ ।

तर, चुनावको बारेमा प्रश्न गर्दा नेता राजकिशोरले भने, ‘हामीले चुनावका बारेमा केही सोचेकै छैनौं । हामी अहिले पार्टी एकतालाई पूर्णता दिने अभियानमा छौं ।’

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई शुक्रबार बिहान छलफलका लागि बालुवाटार बोलाएका छन् । त्यहाँ प्रधानमन्त्रीको कुरो सुनिसकेपछि पार्टीले आन्तरिक छलफल गरेर आफ्नो धारणा बनाउने यादवले बताए । तर, अहिलेसम्म आफूहरुको प्राथमिकता चुनाव नभएर संविधान संशोधन रहेको यादवले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment