Comments Add Comment

सरिता गिरीले ‘ब्यूँताइन्’ नेपाल सदभावना पार्टी


८ बैशाख, काठमाडौं । पूर्वमन्त्री सरिता गिरीले नेपाल सदभावना पार्टी ‘ब्यूँताएको’ घोषणा गरेकी छन् । अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीसहित ६ मधेसवादी दलले एकता गरेर राष्ट्रिय जनता पार्टी घोषणा गरेको भोलिपल्ट गिरीले नेपाल सदभावना पार्टी ‘ब्यूँताएको’ घोषणा गरेकी हुन् ।

गिरी अध्यक्ष रहेको नेपाल सदभावना पार्टी र झा नेतृत्वको संघीय सदभावनाबीच एकता भएर नेपाल सदभावना पार्टी बनेको थियो । तर, पार्टी एकताको केही समयपछि नै गिरीले पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।

लामो समय मौन रहेकी गिरीले शुक्रबार विज्ञप्ति जारी गर्दै एकीकरणको मूल उद्देश्य विपरीत ६ दलसँग एकता घोषणा गरेकामा आफूहरुको समर्थन नरहेको बताएकी छन् । ‘एकीकरण पूर्वको मूल नेपाल सदभावना पार्टीको नेता र कार्यकर्तासँग केही नसोधी पार्टीको इतिहास र अस्तित्व नै समाप्त गर्ने गरी एकीकरण घोषणा गरिएको छ,’ उनले भनिन् ।

छिट्टै राजनीतिक भेला गर्ने भन्दै उनले नेपाल सदभावना पार्टीको नाम र झण्डा कायम राख्न र पार्टीलाई सक्रिय बनाउन कार्यकर्तालाई निर्देशन दिएकी छन् ।

तर, पार्टी सदस्यता नै त्यागेको व्यक्तिले राष्ट्रिय अध्यक्ष भन्दै विज्ञप्ति जारी गरेकी छन् । अनलाइनखबरसँग कुराकानी गर्दै गिरीले आफूले आवेशमा आएर पार्टी परित्यागको घोषणा गरेको बताइन् ।

पार्टी अध्यक्ष झा एकीकरणको भावना अनुसार नचलेकाले परित्यागको घोषणा गरेको भन्दै उनले भनिन्, ‘मैले सामाजिक सञ्जालमा लेखेको हो । पार्टीमा कुनै लिखित रुपमा दिएको छैन र पार्टीले पनि कारबाही गरेको छैन ।’

गिरीले आफू अनिल झासँग पार्टी एकता गर्नु पूर्वको नेपाल सद्भावना पार्टी ब्यूँताउन लागेको समेत बताइन् । यसका लागि आफूहरुले सर्वोच्च अदालतमा निवेदन दिएको र त्यो विचाराधीन रहेको समेत उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment