Comments Add Comment

भवन भट्टले जापानमा एकैपटक थपे १४० रेष्टुँरा

२७० रेष्टुरेण्टका मालिक, ३० अर्बको वाषिर्क कारोबार


१९ बैशाख, टोकियो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले जापानमा एकैपटक १४० वटा रेष्टुँरा खरिद गरेका छन् ।

भट्टको कम्पनी टीबीआई ग्रुपले १४० रेष्टुँराको स्वामित्व रहेको होरी फुड्स कम्पनी खरिद गरेको छ । यसअघि भवन अध्यक्ष रहेको टीबीआई ग्रुपले टोकियो क्षेत्रमा १३० वटा रेष्टुँरा सञ्चालन गर्दै आएको थियो । योसँगै भवनको स्वामित्वमा अब जापानमा २७० वटा रेष्टुँरा सञ्चालन हुनेछन् ।

‘टीबीआई अहिलेसम्म कोर सिटी एरियामा केन्द्रीत थियो तर, उहाँहरुको उपस्थीति टोकियोको पश्चिमी सर्बअर्ब-ग्रामिण)क्षेत्रमा बलियो छ’ भवनले अनलाइनखबरसँग भने-‘फरक क्षेत्रमा उहाँहरुको स्ट्रेन्थ देखेरै हामीले अक्वायर गरेका हौं ।’

होरी फुड्स अन्र्तगत बिभिन्न १० वटा ब्राण्डमा १४० वटा रेष्टुरेण्टहरु सञ्चालित छन् । यी सबै रेष्टुरेण्टले स्थानीय जापानी खानाको स्वाद पस्किन्छन् ।

‘हाम्रो ग्रुपको मुख्य बल र बिशेषज्ञता नै फुड बिजनेस हो’ भट्टले भने- ‘आफ्नो दखल भएको क्षेत्रमा लगानी विस्तार गर्ने अबसर आएपछि हामी अगाडी बढेका हौं ।’

टीबीआई फुड्सले हाल बाषिर्क २२ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आइरहेको छ । १४० रेष्टुँरासहितको नयाँ कम्पनी थपिएपछि अब बाषिर्क कारोबार ३० अर्ब रुपैयाँ पुग्ने टीबीआईले जनाएको छ ।

यसअघि झण्डै ३ हजार ८ सयलाई रोजगारी दिइरहेको टीबीआईले अब झण्डै ५ हजार ५ सयलाई रोजगारी दिने छ । कारोबार र सञ्जालका हिसावले जापानमै आफ्नो ग्रुप अब फुड बिजेसनमा उत्कृष्ट १५ भित्र पर्ने भट्टको दावी छ ।

भट्टको टीबीआई ग्रुपले जापानमा रेष्टुँरासँगै रियलस्टेट, निर्माण, आयात निर्यात, पर्यटन र होटलमा लगानी गरिरहेको छ ।

भाषा बिद्यार्थीका रुपमा जापान गएका भवन यहाँको नेपाली समाजमा सफलताका प्रतिक हुन् । झण्डै डेढ दशकको अबधिमा उनले जापानको रेष्टुँरा बिजनेसमा लोभलाग्दो प्रगति हाँसिल गरेका छन् ।

भट्टले नेपालमा एयरलाइन्स, रिसोर्ट, बियर उद्योग, पत्रिका र पर्यटन सेवा उद्योगमा पनि लगानी गरेका छन् । आफ्नो मुख्य ज्ञानको क्षेत्र भएकाले थप अबसर आए जापानमा अझै रेष्टुरेण्टमै लगानी थप्दै जाने भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment