Comments Add Comment

भावी मेयरलाई साझा प्रश्नः काठमाडौंलाई ‘स्मार्ट सीटी’ बनाउने कि ‘हेरिटेज सीटी’ ?

२७ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा सबैको नजरमा परेको छ काठमाडौं महानगरपालिकामा । निर्वाचनमार्फत महानगरमा आउने नयाँ नेतृत्वले यो शहरलाई कुन ढंगले विकास गर्नुपर्छ भनेर बहसहरु भइरहेका छन् ।
हामीले काठमाडौंका प्रमुख ४ उम्मेदवारहरुलाई सोध्यौं- तपाईं काठमाडौंलाई ‘हेरिटेज सीटी’ बनाउन चाहनुहुन्छ कि ‘स्मार्ट सीटी’ ? प्रस्तुत छ उनीहरुले दिएको जवाफ :यसै सन्दर्भमा मूलतः दुई अवधारणा आएका छन्ः एउटा यहाँका सांस्कृतिक धरोहरहरुको संरक्षण र सम्वर्द्धन गर्दै सम्पदा शहरको रुपमा विकास गर्ने र दोस्रो आधुनिकतातर्फ लैजाँदै ‘स्मार्ट सिटी’का रुपमा विकास गर्ने ।

ऐतिहासिकता र आधुनिकताको मिश्रण गर्नुपर्छ

विद्यासुन्दर शाक्य, नेकपा एमाले 

हामीले काठमाडौंलाई ऐतिहासिकता र आधुनिकताको मिश्रति शहरको रुपमा लैजाने भनेर अवधारणा सार्वजनिक गरेका छौं । एकातर्फ ऐतिहासिक र सांस्कृतिक धरोहरहरुलाई पुनर्निमाणमार्फत जिवित राख्ने र सँगसँगै आधुनिक प्रविधिलाई पनि भित्र्याएर मिश्रति प्रणाली विकास गर्न चाहन्छौं ।

सम्पदा शहरसँगै पर्यटकीय शहर पनि बनाउन चाहन्छौं र विश्वमा पाइने सबै साधन-स्रोतहरु उपलब्ध गराउन चाहन्छौं ।

अहिलेको सबैभन्दा पहिलो आवश्यकता भनेको पुनर्निमाण हो । पुनर्निमाणमा विभिन्न निकायबीच द्वन्द्व पनि छ । कतिपय सम्पदाहरु गुठी संस्थानको मातहतमा छन् । कतिपय पुरातत्वले हेरिरहेको छ । कतिपय महानगरले हेरिरहेको छ । यो तीनवटै निकायबीचमा समन्वय नहुँदा धेरै काम अघि बढ्न सकेका छैनन् ।

यो सँगसँगै केही स्थानीय व्यक्तिहरुले ठेक्का-प्रथाबाट होइन उपभोक्तामार्फत काम गराउनुपर्छ भनेर ठेक्का लागिसकेका काम पनि गराउन दिएका छैनन् । भोलिका दिनमा सबैको व्यवस्थापन गरेर महानगरपालिकाको नेतृत्वमा सकभर छिटो काम सुरु गर्नेछौं ।

पुराना शहरको आफ्नै पहिचान छ, तर नयाँ बस्ती धेरै बसिसकेका छन् । अब पुरानै ढाँचामा बसेर महानगरलाई विकसित बनाउन सकिन्न ।

त शहर होइन, महानगरलाई जिवित शहर बनाउनु पर्छ । त्यसैले प्रविधिहरु भित्र्याउनुपर्छ ।

स्मार्ट सिटी बनाउन अरु पूर्वाधारभन्दा पहिले इ-गभर्नेन्स सुरु गर्ने हो र सुशासन कायम गर्ने हो । हामी स्मार्ट सिटिजन कार्ड वितरण गछौर्ं ।

न्य स्मार्ट प्रविधिहरु विकास गछौं । त्यसपछि विश्वमा भएका सबै सुविधाहरु उपलब्ध गराउने गरी पेपर लेस ढंगले काम अघि बढाउँछौं ।

‘हेरिटेज’ र ‘स्मार्ट’ लाई समायोजन गर्नुपर्छ

राजुराज जोशी, कांग्रेस उम्मेदवार

काठमाडौं सम्पदाहरुमा धनी छ । हामीसँग पुराना मठमन्दिरहरु छन् । घोडेजात्रा, इन्द्रजात्रा जस्ता कैयन मौलिक परम्पराहरु छन् नाचगानहरु छन् । तिनीहरुको संरक्षण गर्नैपर्छ । यसका लागि आवश्यक बजेट महानगरपालिकाले छुट्याउनैपर्छ । किनकि विदेशी पर्यटकहरुले काठमाडौंमा हेर्ने भनेका यिनै चिजहरु हुन् जसलाई काठमाडौंको सम्पत्ति मान्न सकिन्छ ।

दुई वर्षअघि आएको भूकम्पले काठमाडौंका मठमन्दिरहरुलाई क्षति पुर्‍याएको छ । तिनीहरुलाई पुरानै संरचनामा पुनर्निमाण गर्नेमा मेरो प्राथमिकता रहनेछ । यस्ता मठमन्दिर पुनर्निर्माण गर्दा डण्डी र सिमेन्ट प्रयोग गरिने छैन । पाँच वर्षभित्र सबै मठमन्दिरलाई पुरानै रुप आउनेगरी पुनर्निर्माण सम्पन्न गर्ने मेरो लक्ष्य छ ।

यो त सम्पदाको कुरा भयो । तर, हामीले सम्पदा मात्रै भनेर पनि हुँदैन । आधुनिकतातर्फ पनि सोच्नुपर्छ । स्मार्ट सीटी त धेरै ठूलो कुरा भयो । त्यो बनाउन सजिलो छैन । तर, एउटा महानगरमा हुनुपर्ने अत्यावश्यक पूर्वाधारहरु विकास गर्नैपर्छ ।

मैले चुनाव जितेमा पाँच वर्षभित्र मेट्रो रेल स्थापना गर्ने लक्ष्य लिएको छु । यो चुनौतिपूर्ण छ तर अत्यावश्यक पनि छ । ७८ किलोमिटर मेट्रो रेलका लागि ६ सय अर्बसम्म चाहिन्छ । यसका लागि मैले पब्लिकलाई सेयर बाँड्नेदेखि अन्य देशहरुबाट सफ्ट लोन लिनेसम्मको योजना बनाएको छु ।

यसैगरी मैले वाइफाइ पि|m जोनको कुरा गरेको छु । यो धेरै ठूलो लगानी गर्नुपर्ने विषय होइन । सरकारी स्कुलहरुलाई अपग्रेड गर्नेदेखि फोहोरमैलाको व्यवस्थापनसम्मको कुरा मेरा घोषणापत्रमा छन् । काठमाडौंलाई यूरोपको एउटा महानगरको स्तरमा लैजाने मेरो लक्ष्य हो ।
यसरी मूलरुपमा भन्दा म काठमाडौलाई सम्पदा शहर र आधुनिक शहरको फ्यूजनका रुपमा अघि बढाउन चाहन्छु ।

काठमाडौंलाई हेरिटेज सीटी नै बनाउनुपर्छ

किशोर थापा, साझा पार्टी

काठमाडौंलाई हेरिटेज सीटीकै रुपमा विकास गर्नुपर्छ भन्ने पक्षमा छु म । मेरो अवधारणा के हो भने सीटीलाई हेरिटेज बनाउने र सिटिजनलाई स्मार्ट बनाउने ।

काठमाडौंमा धेरै ऐतिहासिक ठाउँ र पुराना शहर, -असन, इद्रचोक, बसन्तपुर लगायत) छन् । तिनीहरुको मौलिकता कायम गर्दै सुधारतर्फ लैजानुपर्छ । भूकम्पले गर्दा त्यहाँ धेरै क्षति पुगेको छ । त्यसलाई मर्मत सम्भार र पुनर्निमाण गर्नुपर्छ ।

पुननिर्माण कार्य गर्दा यहाँको नेवार समुदायको धर्म-संस्कृतिलाई असर नपरोस भन्नेमा ध्यान दिनु आवश्यक छ । किनकि यहाँका हरेक संरचनासँग नेवार समुदायको संस्कृति र परम्परा जोडिएको छ ।

पशुपति क्षेत्र, देवपतन, स्वयम्भू एरियालगायतका क्षेत्रहरु पर्यटकीय हिसाबले आकर्षक छन् । तिनीहरुको जगेर्ना गर्नुपर्छ । तिनीहरुलाई जीवित संग्रहालयका रुपमा विकास गर्न पानी, बत्ती लगायतका अत्यावश्यक सुविधा पुर्‍याउनुपर्‍यो ।

स्मार्ट सिटिजन कसरी बनाउने भन्ने प्रश्नमा अहिले हरेकको हातमा मोबाइल छ । हामीले विभिन्न खालका एप्स बनाएर सीटीका यावत सुचनाहरु प्राप्त गर्ने व्यस्वस्था मिलाउन सकिन्छ ।

काठमाडौंका सडकमा हामी गाडी मात्रै कुदाइरहेका छौं । यी सडकहरु दिनभरि व्यस्त रहन्छन् । राति ट्राफिक कम भएको बेला यहाँ ‘स्टि्रट मार्केट’ चलाउन सकिन्छ । नाङ्लो पसल राम्रो ठाउँ । नगरवासीलाई पनि घुमघाम । जाडोमा सम्भव नहोला गर्मीमा । गर्न सक्छौं । हाम्रा कतिपय सडकलाई तोकिएको समयमा भेइकल पि|mश्र। बत्ती मोबाइल ट्वाइलेट । युवाहरुका लागि म्युजिक बजाउने बस्ने ठाउँ तोक्ने । र्टेन टाइम मात्रै हुन्छ ।

महानगरबाट पाउने धेरै सेवा अनलाइनबाटै पाउने मोबाइलबाटै थाहा पाउने क्षमता । वाइफाईफ्रि पूरा शहरमा गर्दिन युवाहरु ह्यांग आउट पार्क स्टिट मार्केट हेरिटेजहरुलाई वाइफाइफ्रि गर्न सकिन्छ ।

सहरलार्इ हाेइन सरहबासीलार्इ स्मार्ट बनाउनुपर्छ 

पवित्र बज्राचार्य, फोरम/नयाँशक्ति

काठमाडौं महानगरपालिकालाई विश्वमा एउटा सांस्कृतिक नगरका रुपमा चिनिन्छ । विश्व सम्पदा सुचीमा रहेका ५ वटा ऐतिहासिक महत्वका धरोहर यहाँ छन् । तिनीहरुको संरक्षण र सम्वर्द्धन अनिवार्य छ ।

सिंगो काठमाडौं महानगरलाई हामीले दुई भागमा बाँडेर बिकास गर्नुपर्छ । काठमाडौंको कोर एरिया, जहाँ ऐतिहासिक सम्पदाहरु रहेका छन्, तिनीहरुको मौलिकतालाई नष्ट गर्नु हुँदैन । तिनीहरुलाई नष्ट गर्नु भनेका आफ्नै नाक काट्नु जस्तै हो ।

भूकम्पका कारण काठमाडौंका धेरै सम्पदाहरु क्षतिग्रस्त भएका छन् । तिनीहरुको मर्मत सम्भार गरेर पुरानै संरचनामा फर्काउनु मेरो प्राथमिकता हुनेछ । स्थानीयवासीको संलग्नतामा पुरानै आर्किटेक्ट अनुसार पुनर्निमाण गरिनेछ ।

दोस्रो भनेको, नयाँ बस्तिहरुको विकास हो । तिनीहरुलाई आधुनिकतातर्फ लैजान सकिन्छ । अहिले स्मार्ट सिटीको कुराहरु आएका छन् । मेट्रो रेल चलाउने कुराहरु आएका छन् ।

मेरो विचारमा सबैभन्दा प्रमुख कुरा शहरलाई स्मार्ट बनाउनुभन्दा पहिले शहरवासीलाई स्मार्ट बनाउनुपर्‍यो । खल्तीमा स्मार्टफोन छ, तर चलाउन जानेन भने त्यसको के अर्थ ?

स्मार्ट शहर भन्नेबित्तिकै के परिकल्पना गरिन्छ भने एउटै कार्डले रेस्टुरेन्ट, ट्याक्सी, पसल सबैतिर काम गरोस् । हातमा एउटा कार्ड भएपछि सबै सुविधाहरु उपभोग गर्न सकियोस् । त्यो भनेको आजको भोलि हुने कुरा होइन ।

मेरो विचारमा पाँच वर्षमा काठमाडौंलाई स्मार्ट सिटी बनाउन सम्भव छैन । कलंकीमा सय मिटरको अन्डर पास रोड डेढ वर्षसम्म बनाउन सकिएको छैन । साढे दुई वर्ष एक सय मिटरको बाटो बन्न लाग्छ । भने, पाँच वर्षमा ट्रेन चलाउँछु भन्ने दिवा स्वप्न हो । त्यसको अध्ययन गर्न मात्रै दुई-तीन वर्ष लाग्छ । त्यसैले पार्टीहरुले मेट्रो चलाउने नारा दिएर जनतालाई मूर्ख बनाउने काम मात्रै गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment