+
+

बेलकोटगढीमा दोहोरिएको इतिहासः भरतलाई गोलीले उडायो, कविताले उपमेयर जितिन्

विनोद घिमिरे विनोद घिमिरे
२०७४ जेठ ७ गते २०:३०

७ जेठ, काठमाडौं । भनिन्छ, इतिहास दोहोरिँदैन । तर, नुवाकोटमा इतिहास दोहोरियो । ०६१ सालमा नुवाकोटका जिविस सभापतिलाई प्रहरीको गोली लागेर शहीद बनाएको थियो । उनकै छोरी यतिबेला पिताको पदचाप पच्छ्याउँदै जनप्रतिनिधि बनेकी छिन् ।

कथा हो नुवाकोटका शहीद (तत्कालीन) जिविस सभापति भरत ढुंगानाकी छोरी कविता ढुंगानाको ।

माओवादी युवा नेतृ कविताले नुवाकोटको बेलकोटगढी नगरपालिकाको उपमेयर पदमा लोकप्रीय मत लिएर निर्वाचित भएकी छिन् । उनको यो जितलाई माओवादीमात्रै होइन, एमाले पंक्तिबाटसमेत प्रशंसा भइरहेको छ । कविताका पिता भरत नुवाकोटका चर्चित एमाले नेता थिए, जो पछि माओवादीमा लागेका थिए ।

व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबीएस) गरिसकेकी उपमेयर कविता कानुन विषयमा स्नातक (एलएलबी) पूरा गरेर अधिवक्तासमेत भइसकेकी छन् । उनी हाल राजनीतिशास्त्रमा स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत छिन् ।

अनलाइनखबरले टेलिफोनमा कुराकानी गर्दैगर्दा उनी आफ्ना मतदाताहरुलाई धन्यवाद दिन घरदैलोमा जाने हतारोमा थिइन् ।

‘भोलि बिहान ११ बजे सपथ ग्रहण कार्यक्रम छ । त्यसअघि नै मलाई जिताउने मेरा मतदाताहरुलाई भेट्न जाँदैछु,’ २७ वर्षकै उमेरमा उपमेयर बन्न सफल ढुंगानाले अनलाइनखबरसँग भनिन् ।

कवितासँग हाम्रो कुराकानीको सुरुवात नगरपालिकाको उपमेयरमा निर्वाचित हुँदाको अनुभूतिबाट भयो ।

उनले सुरुमै आफूलाई जिताउने मतदाताहरुलाई धन्यवाद दिइन् र भनिन्, ‘एकदमै खुसी लागिराख्या छ । यतिधेरै जनताले साथ दिनुभयो । सबैभन्दा धेरै मत लिएर जितेकी छु, बेलकोटगढी नगरपालिकाबाट । युवा नेतृत्वले नै केही गर्नसक्छ भन्ने भरोसा र विश्वासका कारण पनि यो जित हासिल भएको हो ।’

कविताले आफ्ना पितालाई सम्झँदै भनिन्, ‘मतदाताहरुले पहिले मेरा बुवालाई गरेको माया र सदभावको प्रतिफल पनि हो यो ।’

निर्वाचनमा प्राप्त गरेको यो जितमा खुसीभन्दा पनि धेरै जिम्मेवारीबोध भएको उनले बताइन् ।

को हुन् कविता ?

कविता ढुंगाना नुवाकोटका पूर्वजिविस सभापति भरत ढुंगानाकी छोरी हुन् । ०५४ सालमा नुवाकोट जिविसको सभापति थिए भरत । कार्यकाल सकिन एक वर्ष बाँकी छँदा ०५८ सालमा उनी एमाले छाडेर माओवादीमा लागे । र, भूमिगत राजनीति सुरु गरे । पिताले पद र घरबार छाडेर भूमिगत राजनीति थाल्दा कविता वाल्यावस्थामै थिइन् ।

किसान संगठनको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा रहेका भरतप्रसाद ढुंगाना र विद्यार्थी नेता बैकुण्ठ पोख्रेललाई प्रहरीले धादिङको गुम्दीबाट निःशस्त्र अवस्थामा नियन्त्रणमा लिएर ०६१ असार ३१ गते हत्या गर्‍यो ।

आफ्ना पिताको हत्या हुँदा कविता ९ कक्षामा अध्ययनरत थिइन् ।

राजनीतिलाई खासै नबुझ्ने उनी अहिले परिपक्व राजनीतिक बहस गर्न सक्ने भएकी छन् । कम उमेरमै उपमेयरमा निर्वाचित भएको रेकर्ड बनाएकी उनी भन्छिन्, ‘अहिले मेरा बुवालगायत सबै शहीदको सपना पूरा गर्ने र राम्रो काम गरेर देखाउने अवसर आएको छ, यो अवसरसँगै धेरै चुनौतिहरु थपिएको महसुस पनि भएको छ ।’

चुनौति कुन अर्थमा ?

कविता भन्छिन्- नगरपालिकामा हाम्रो पूरै टिम पनि आएको छैन । मेयर पदमा हामी २९२ मतान्तरले हार्‍यौं । वडा नम्बर ३ र ४ मा हाम्रो पूरै प्यानल आयो । वडा नम्बर १३ मा दुई सदस्य जित्यौं तर, वडाध्यक्षमा १ भोटले हार्‍यौं । थोरै मतान्तरले हार्नुपर्दा एकदमै पीडा भयो । त्यही भएर नगरपालिकामा हाम्रो बहुमत छैन, जसका कारण काम गर्न केही चुनौति पक्कै हुन्छ भन्ने लागेको छ ।’

तर, चुनौति सामना गर्नका लागि मानसिक रुपमा तयार भएको बताउँदै कविताले भनिन्, ‘मलाई के विश्वास छ भने हाम्रो टिममा जो-जो छौं, सबै सहयोगी छौं । सबैबाट साथ सहयोग प्राप्त हुन्छ र हाम्रो सिंगो टिमले समृद्ध बेलकोटगढी बनाएर छाड्नेछ ।’

शहीद अर्थात् आफ्नै पिताको पदचाप

सानै छँदा बुवाको सहादत भएकाले कविताले धेरै समय बुवासँग बिताउन पाइनन् । जति समय बिताइन्, त्यो स्मरण पनि धमिलो भइसकेको छ । तर, उनलाई के थाहा छ भने बुवा भरतप्रसादको व्यक्तिगत स्वार्थ थिएन । जनतालाई अधिकार सम्पन्न गराउने सपना थियो । त्यो सपना पूरा गर्ने संघर्षमा बुवा शहीद हुनुभयो ।

अहिले उपमेयर बनेकी कविता भन्छिन्, ‘म सानै हुँदादेखि नै बुवा राजनीतिमा होमिसक्नुभएको थियो । कहिलेकाँही घरमा आउनुहुन्थ्यो । बुवासँग धेरै समय बिताउन पाइनँ । म सानै छँदा बुवाको सहादत भएकाले धेरै कुराहरु सम्झना पनि छैन । बुवासँगै राजनीति गरेका अग्रजहरु र आमाबाट बुवाका बारेमा धेरै कुराहरु थाहा पाएँ । उहाँले निषेधको राजनीति गर्नुभएन । सबैसँग मिलेर काम गर्नुभयो । उहाँले व्यक्तिगत स्वार्थका लागि राजनीति गर्नुभएन । देशमा गणतन्त्र ल्याउनुपर्छ, संघीयता लागू हुनुपर्छ, जनतालाई अधिकार सम्पन्न बनाउनुपर्छ भनेर उहाँ माओवादी राजनीतिमा लाग्नुभयो । अहिले हामी त्यही माओवादी राजनीतिको प्रतिफल स्वरुप संघीयतामा छौं ।’

स्व. भरतप्रसाद अहिले भौतिकरुपमा नरहे पनि नुवाकोटबासी र खासगरी बेलकोटगढीबासीमा भरतप्रसादप्रतिको विश्वास नमरेको छोरी कविताको ठहर छ । त्यही भएर उनले अठोट लिएकी छन्– बुवाको त्यो विश्वास मर्न दिनुहुँदैन र निःस्वार्थरुपमा जनताको पक्षमा काम गर्नुपर्छ । बुवाको त्यो निष्ठाको राजनीतिको बाटो मैले पछ्याउनुपर्छ ।

बुवाको निष्ठाको राजनीतिबाट प्रभावित भएर, विश्वास गरेर नै बेलकोटगढी नगरपालिकाका बासिन्दाले आफूलाई जिताएको उनले दोहोर्‍याइन् ।

तिक्तता छाडौं, हातेमालो गरौं

माओवादी शान्ति प्रक्रियामा आएको एक दशक पूरा भइसकेको छ । पहिले युद्ध लडेकाहरु अहिले शान्ति र मेलमिलापको नीतिअनुसार अघि बढेका छन् । विगतमा जो जसबाट पीडित भए पनि अब मनमा खोट नराखी अघि बढ्नुपर्ने उनी बताउँछिन् ।

कविताले भनिन्, ‘हाम्रो लडाईं सरकारसँग थियो । सेना पुलिस वा  वा फरक राजनीतिक बिचार राख्ननेहरुसँग हाम्रो व्यक्तिगत दुश्मनी पनि होइन, विरोध पनि होइन । जो जहाँ रहे पनि हामी सबै दाजु-भाइ, दिदी-बहिनीहरु हौं । त्यसैले सेना-प्रहरी हुँदैमा वा माओवादी हुँदैमा हाम्रो कुनै तिक्ततापूर्ण सम्बन्ध छैन र हुनु पनि हुँदैन ।’

उनले अघि भनिन्, ‘युद्धका घाउहरुमा मल्हम लगाउनुपर्छ । पहिलेका कुरा सम्झिएर, मनमा खोट राखेर बस्नुहुँदैन । त्यसैले मैले सबैलाई भन्ने गरेको छु, सबै तिक्ततालाई धोइपखाली गरौं । हातेमालो गरेर अघि बढौं र कम्तिमा हाम्रो बेलकोट गढीलाई समृद्ध बनाऔं । अहिले समाजले पनि त्यही माग गरेको छ ।’

तत्कालीन कार्ययोजना के छ ?

आफ्नो गाउँपालिकालाई समृद्ध बनाउने तत्कालीन कार्ययोजना पनि उनले सुनाइन् । स्थानीयको जनजीविकालाई सहज बनाउने कामहरु तत्कालीन प्राथमिकतामा पर्ने उनले बताइन् ।

‘समृद्ध नगरपालिकामा भौतिक संरचना खासै छैन । कुनै ठाउँमा एक-डेढ घण्टा उकालो हिँडेर जानुपर्ने बाध्यता पनि छ । त्यसैले ग्रामीण सडक निर्माण पहिलो योजना हुन्छ । सबै नाकाबाट केन्द्रसम्म सहजरुपमा आवत-जावत गर्ने सडकलाई निर्माण गर्ने र भएका सडकलाई अझै व्यवस्थित बनाउने पहिलो काम हुन्छ,’ कविताले आफ्ना योजना सुनाइन्, ‘जनताले सेवा सुविधा लिन केन्द्रसम्म जाँदा सास्ती भोग्नु नपरोस् भन्नेतर्फ हाम्रो ध्यान गएको छ । सडक निर्माणसँगै जनजिविकासँग प्रत्यक्ष जोडिएका खानेपानी, स्वास्थ्य, टेलिफोन लगायतका समस्या समाधान गर्ने कार्ययोजना पनि छ ।’

मेयरमा हार्ने उपमेयरमा जित्ने कारण के होला ?

स्थानीय चुनावमा आफू विजयी भए पनि आफ्नो टीमका धेरै उम्मेदवारहरु पराजित भएकोमा उनलाई दुःख लागेको छ । तर, पराजयको कारण बाह्यभन्दा आन्तरिक रहेको उनी बताउँछिन् । यसलाई गल्ती सच्याउने अवसरको रुपमा लिएको उनले बताइन् ।

‘मुख्य कुरा त हाम्रो तयारी पुगेन । प्राविधिक रुपमा पनि मिलाउन सकेनौं । जिलिङ, बेलकोट, मदानपुरलगायत दक्षिण भेगबाट जति धेरै अपेक्षा गरेका थियौं त्यति भोट आएन । अरुलाई दोष दिनुभन्दा हामीले हाम्रै कमजोरीबाट अपेक्षाकृत रुपमा भोट ल्याउन सकेनौं,’ कविता भन्छिन्, ‘मैले जिते पनि हाम्रो टिमका अरु साथीहरुले नजित्नुका केही आन्तरिक कारणहरु छन् । त्यसबाट शिक्षा लिँदै आगामी दिनमा सच्याउँछौं । आगामी दिनमा अझै सुदृढ बन्छौं ।’

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?