Comments Add Comment

सचेत हुनुस्, कपाल झर्नुको कारण थाइराइड हुन सक्छ !

कपाल झर्ने समस्या पछिल्लो समय आम रुपमा देखिएको समस्या हो । अनुपयुक्त खानपान, प्रदुषण, विशेष रोग, बढी केमिकल भएको स्याम्पुका साथै  वंशाणुगत असरका कारण पनि कपाल झर्छ ।

कपाल झर्नुको अर्को पाटो पनि छ । त्यो हो, थाइराइड रोगसँग यसको सोझो सम्बन्ध  । यदि तपाईंलाई थाइराइड रोगको समस्या छ भने कपाल झर्नु स्वाभाविक मानिन्छ । किनकि कपाल झर्ने समस्या थाइराइडको प्रमुख लक्षणमध्येमा पर्छ ।

कसैलाई थाइराइड भएकै कारण कपाल झर्ने समस्या छ भने उपचारबाट त्यसलाई ठीक पार्न सकिन्छ । तर, त्यस अगाडि थाइराइड रोग र कपाल झर्ने समस्याबीचको सम्बन्ध जान्न आवश्यक हुन्छ ।

कपाल झर्ने समस्या र थाइराइडबीचको सम्बन्ध

थाइराइडको बिरामीलाई थकान महसुस हुनु, तनाव सिर्जना हुनु, तौल बढ्नु, शरीरको तापमान कम हुनु सामान्य कुरा हो । त्यो सँगै कपाल झर्नु पनि एउटा समस्या हो । जसबारे धेरैलाई थाहा नहुन सक्छ ।

हेर्दा पुतली जस्तो देखिने थाइराइड ग्रन्थि घाँटीको बीच भागमा श्वास नलीको माथि हुन्छ । यो ग्रन्थिले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया ) लाई नियन्त्रणमा राख्छ । यसका साथै थाइराइड ग्रन्थिले मुटु, कोलेस्ट्रोल, हड्डी र मांशपेशीलाई समेत प्रभावित गर्छ ।

थाइराइड हर्मोनमा हुने गडबडीकै कारण मानिसलाई थाइराइडको समस्या हुने गर्छ । यो समस्या पुरुषको तुलनामा महिलामा बढी देखिने गर्छ । यो समस्या भएका व्यक्तिले विभिन्न शारीरिक उतारचढावको सामना गर्नुपरे पनि यसबारे सजिलै थाहा नहुने भएकाले धेरैले आफूलाई थाइराइड भएको सजिलै थाहा पाउँदैनन् ।

यद्यपि कपाल झर्ने समस्या देखिँदा यसलाई शरीरमा थाइराइड हर्मोनमा गडबडी भएको संकेतका रुपमा बुझ्नुपर्छ । किनकि कपाल झर्नु थाइराइडको मुख्य लक्षण हो । थाइराइडको अत्यधिक गडबडीले कपाललाई हल्का तथा पातलो बनाउँछ ।

थाइराइडका दुई प्रकार हुन्छन्, हाइपोथाइराइडिज्म र हाइपर थाइराइडिज्म । यी दुवैले कपाल झर्ने समस्यालाई बढाउन सक्छ । विशेषज्ञका अनुसार, थाइराइड हर्मोनको गडबडीले टाउकोको कपाल मात्र नभई शरीरका अन्य भागमा रौं समेत झार्ने गर्छ ।

यो समस्या स्थायी हो ?

चिकित्साशास्त्रमा कुनै पनि समस्यालाई स्थायी मानिँदैन । यसैले थाइराइडको उपचार गरेमा कपाल झर्ने समस्या पनि आफैं कम भएर जान्छ ।

एक अध्ययन अनुसार, करिब ९० प्रतिशत महिलामा कपाल झर्नुको मुख्य कारण थाइराइडको समस्या हुने गर्छ । त्यसैले कसैको कपाल झर्ने समस्या बढी भने चिकित्सकले उनीहरुलाई थाइराइडको जाँच गराउन सल्लाह दिन्छन् ।

उपचार के हो ?

सामान्यतया थाइराइड रोगको पहिचान रगत परीक्षणबाट गर्न सकिन्छ । यसका साथै इन्डोक्राइनोलोजिस्टको सल्लाह अनुसार थाइराइडको परीक्षणबाट यो समस्या भए/नभएको पत्ता लगाउन सकिन्छ ।

थाइराइडको उपचार सुरु भएपछि हर्मोन ठीक ठाउँमा आउन केही समय लाग्न सक्छ । त्यसैले कपाल झर्ने समस्या तुरुन्तै हट्दैन । त्यस्तो बेला आत्तिनेभन्दा पनि विभिन्न प्राकृतिक पद्धतिबाट कपालको स्याहार गर्न सकिन्छ । कपाल उमार्ने विधितिर जान सकिन्छ ।

कपाल झर्नुको मुख्य कारण थाइराइडको समस्यालाई मानिए पनि यो मात्र कारण हो । अन्य विभिन्न कारणले कपाल झर्ने भएकाले खास कारणको निदानमा ध्यान दिनुपर्छ । केही लक्षण देखा परेमा तुरुन्तै चिकित्सकसित परामर्श गरेमा गम्भीर समस्याबाट समयमै बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment