११ जेठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणना सम्पन्न भएसँगै मकवानपुरका सबै १० स्थानीय तहको नजिता सार्वजनिक भएको छ । १० मध्ये ६ स्थानीय तहका प्रमुख र ८ उपप्रमुख जितेर एमाले जिल्लाको सबैभन्दा ठूलो पार्टी बनेको छ ।
कांग्रेस र माओवादीले दुई/दुई स्थानीय तहका प्रमुख जितेर दोस्रो शक्तिमा स्थापित भएका छन् ।
मकवानपुरमा हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका र भिमफेदी गाउँपालिकामा कांग्रेस माओवादीवीच तालमेल भएको थियो ।
जिल्लामा एम्ाालेपछिको दोस्रो शक्ति मानिएको राप्रपा भने अध्यक्ष कमल थापाकै जिल्लामा एउटा पनि स्थानीय तह जित्न नसकी पत्तासाफ भएको छ ।
जिल्ला समन्वय समितिमा मतदान गर्ने कुल २० मध्ये १४ प्रमुख र उपप्रमुख जितेर एमालेले एकल जिल्ला समन्वय समिति गठन गर्ने प्रष्ट भएको छ ।
एमालेले पहिलो चरणमा चुनाव भएकामध्ये एकमात्र उपमहानगरपालिका हेटौंडामा मेयर उपमेयर दुबै जितेको छ । मेयरमा हरिबहादुर महत र उपमेयरमा एम्ाालेकै मीना लामा विजयी भएका छन् ।
त्यस्तै भिमफेदी गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धन पराजित गर्दै युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा अध्यक्ष र एमालेकी जिल्ला नेतृ पार्वती राना उपाध्यक्ष निर्वाचित भएका छन् ।
मनहरी गाउँपालिकामा पनि एमालेकै एकराज उप्रेती अध्यक्ष र मनिला विष्ट उपाध्यक्ष निर्वाचित भएका छन् । ऐतिहासिक मकवानपुरगढी गाउँपालिकामा एमालेका बिदुर हुमागाई अध्यक्ष र हर्कमाया रुम्बा उपाध्यक्षमा निर्वाचित भएका छन् ।
इन्द्रसरोबर गाउँपालिका अध्यक्षमा एमालेका जीवन लामा र उपाध्यक्षमा उमा लामा बिजयी भएका छन् । कैलाश गाउँपालिका अध्यक्षमा एमालेका टंक मोक्तान अध्यक्ष र सुकुमाया लामा उपाध्यक्ष निर्वाचित भएका छन् ।
बागमती गाउँपालिकामा एमालेले उपाध्यक्षमा धनकुमारी थिङ बिजयी भएकी छन् । यहाँ अध्यक्ष माओवादीले जितेको छ । त्यस्तै बकैया गाउँपालिकामा पनि अध्यक्ष कांग्रेसले जित्दा उपाध्यक्ष भने एमालेकी सरला बोलखे बिजयी भएकी छन् ।
कांग्रेसबाट बकैया गाउँपालिका अध्यक्षमा दामोदर खनाल बिजयी भएका छन् । त्यस्तै राक्सिराङ गाउँपालिकामा कांग्रेसका राजकुमार मल्ल अध्यक्ष र निर्मला हिमडुङ उपाध्यक्ष निर्वाचित भएकी छन् ।
कांग्रेसले थाहा नगरपालिकाको उपमेयर जितेको छ । कांग्रेसका खङ्ग नेपाली थाहाको उपमेयर भएका छन् ।
माओवादी केन्द्रले बागमती गाउँपालिकाको अध्यक्ष जितेको छ । माओवादीका सर्केश घलान अध्यक्ष जित्दा उपाध्यक्ष भने एमालेले जित्यो । थाहा नगरपालिकामा माओवादीका लबशेर बिष्ट मेयर निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4