Comments Add Comment

देवी ज्ञवाली भन्छन्ः प्रचण्ड र शेरबहादुरसँग चुनाव लडेको हुँ

सामान्य बहुमतले जित्छुः रेणु दाहाल

१२, जेठ, चितवन । पहिलो चरणमा निर्वाचन भएका ४ महानगरपालिका मध्ये ललितपुर नतिजा कांग्रेसको पक्षमा आइसकेको छ भने पोखरा-लेखनाथ महानगरपालिकाको परिणाम एमालेको पोल्टामा गएको छ ।

काठमाडौंमा पनि एमाले जितको सन्निकट छ । तर, भरतपुर महानगरपालिकामा भने कसले चुनाव जित्ला भन्ने कौतुहलता कायमै छ । अत्यास लाग्दो मतगणना प्रकृयाका बीच मेयरका प्रत्यासीको घट्दो दूरीको प्रतिस्पर्धाले कसले बाजी मार्ला यसै भन्न सकिने अवस्था देखिँदैन ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालको उम्मेदवारीकै कारण सुरुबाटै चर्चामा आयो भरतपुर महानगर । त्यसमा कांग्रेस माओवादीको गठवन्धन, कांग्रेसका मेयर उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ता र कांग्रेस कार्यकर्ताको असन्तुष्टिले थप ततायो भरतपुरलाई । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने एमाले भर्सेस कांग्रेस-माओवादी गठवन्धनको पेचिलो प्रतिस्पर्धालाई तीन दलका अध्यक्षहरुले नै प्रतिष्ठाको विषय बनाए ।

बैशाख २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर प्रचण्ड, मेयरकी उम्मेदवार बनेकी छोरीका लागि भोट माग्न भरतपुर पुगे । यो पूर्व सूचना पाएका एमाले अध्यक्ष केपी ओली पार्टी महासचिवलाई लिएर त्यसको १ घण्टा अघि नै चितवन आए र पोखरा वसपार्कको एमाले सभामा भाषण गरे ।

केही सय मिटरको दुरीमा भएको जनसभामा सम्बोधन गरेका नेताहरुले भरतपुरको चुनावलाई प्रतिष्ठाको विषय बनाए । नेताको प्रतिष्ठाको विषय त छँदै थियो । पोखरा वा काठमाडौंको जस्तो गरी पूर्व नतिजा आकंलन गर्न सक्ने प्रकारको जनमत नदेखिएपछि भरतपुरको गणना झनै ‘हटकेक’ बनेको छ ।

अहिलेसम्मको मतको प्याट्रनलाई हेर्दा कांग्रेसको ५० देखि ६० प्रतिशतको हाराहारीको मत रेणु दाहालले पाएको देखिन्छ । यो मत एमालेले अपेक्षा गरेको भन्दा थोरै बढी हो भने माओवादीले अपेक्षा गरेको भन्दा कम हो ।

दिनेश कोइरालाको उम्मेदवारी फिर्तासँगै देखिएको असन्तुष्टिलाई लिएर कांग्रेस कार्यकर्ताले रेणुलाई भोट नै हाल्दैनन् भन्ने प्रचार र चर्चा दुबै नभएको होइन । तर, मतदानको दिन नजिकिँदै जाँदा भरतपुर एमालेले जित्यो भने भोलिका चुनावहरुमा सिंगो चितवनमा नै कांग्रेसलाई धक्का लाग्छ भन्ने विश्लेषण कांग्रेस नेतृत्वले गर्‍यो र त्यही सन्देश उसले कार्यकर्ता र समर्थकमा पुर्‍यायो ।

यसले कांग्रेसकै आक्रोशित मतको बलमा सहजै जितिन्छ भन्ने एमाले अनुमानलाई गलत सावित गरिदिएको छ । तर, रेणुले जित्दा के राजनीतिक लाभ वा हानी हुन्छ भन्ने समीक्षा गर्न कांग्रेस चुकेको देखिन्छ ।

कांग्रेसले अनुमान गरे जस्तै अहिलेसम्मको मत परीणाममा हेर्दा चितवनको करीव आधा भूभागमा एमाले हावी भएको छ । पूर्वी चितवनका सबै नगरपालिकाको नेतृत्व एमालेको पोल्टामा गएको छ । माडी नगरपालिकामा ४४ मतले एमालेले मेयर गुमाएपनि उपमेयर भने भारी मतान्तरले जित्यो । एक मात्र गाँउपालिका इच्छाकामनामा एमाले १९२ मतले मात्रै पराजित बन्यो ।

आफ्नो गढ भनिएको चितवनमा कांग्रेस मेयरबिहीन भएको छ । भरतपुर महानगर कांग्रेसका तर्फबाट उपमेयरको उम्मेदवार बनेकी पार्वती शाहले जित्ने लगभग निश्चित जस्तो भएको छ । तर, चुलिँदा प्रतिस्पर्धाले मेयरमा भने कांग्रेस चितवन पनि ढुक्क हुन सकेको छैन । दुई पार्टी मिल्दा पनि एमालेले मेयर फुत्कायो भने कांग्रेसका लागि यो भन्दा ठूलो राजनीतिक पराजय केही हुने छैन ।

भरतपुर महानगरको मेयर कसले जित्ला भनेर उम्मेदवार वा सम्वन्धित पार्टी मात्र होइन, धेरैको चासो देखिएको छ । सम्वन्धित दलका कार्यकर्ता र शुभेच्छुकहरु त्यो भन्दा कम तनावमा छैनन् । ठाँउठाँउमा बसेर मतको आकंलन र हिसाव गर्दै बसिरहेका भेटिन्छ ।

स्वंय मेयरका उम्मेदवारहरुलाई चाहि कस्तो अनुभव गरिहेका छन् होला ? अनलाइनखबरले मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली र कांग्रेस माओवादी गठवन्धन उम्मेदवार रेणु दाहालको धारणा लिने प्रयास गरेको छ ।

शेरबहादुर र प्रचण्डसँग चुनाव लडिरहेको छुः ज्ञवाली

मेयरका एमाले उम्मेदवार देवी ज्ञवाली मत गणनास्थल नजिकै रहेको नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा जिल्लाका केही सिमित नेताहरुसँग गफिँदै गरेको अवस्थामा भेटिए । साथमा थिइन उपमेयर उम्मेदवार दिब्य शर्मा आर्चाय । त्यहाँ निर्वाचनकै बिषयमा समिक्षा भइरहेको रहेछ ।

निर्वाचनको धपेडी र पट्यारलाग्दो मतगणना प्रकृयाबाट केही थाकेको जस्ता देखिएका ज्ञवालीको निर्वाचन जित्ने आत्मविश्वासमा भने कुनै कमी थिएन ।

चुनावी परिणामबारे प्रश्न सोध्नासाथ देवी ज्ञवालीले भने, ‘म निर्वाचनको परीणाम एमालेको पक्षमा आउनेमा कन्फिडेण्ट छु । चुनावको प्रतिस्पर्धा तीव्र छ र यो अझै पनि चुलिएको छ । मेरा केही साथीहरु आत्तिएको देख्छु । तर, म किञ्चित बिचलित छैन । किन हो मलाई थाहा छैन, अन्तरआत्माले भनिएको छ म चुनाव जित्छु । म अत्यन्तै आत्मबिश्वासका साथ भन्छु, म निर्वाचन जित्छु ।

उनले अघि भने, एउटा चुनाव त मैले जितिसकें । त्यो के हो भने राज्यशक्तिको समेत प्रयोग गरेर आएका सत्ताधारी दुई प्रमुख पार्टीसँग मैले मुकाविला गरिरहेको छु । राज्यशक्ति लिएर बसेका दुई प्रमुख पार्टीसँगको प्रतिस्पर्धा नै मेरो जित हो । प्रतिस्पर्धामा म अहिलेसम्म अगाडि छु । म एकपटक पनि उहाँहरुको गठवन्धनको तल बस्नुपरेको छैन । दुई ठूला दल मिलेर एउटा दललाई हराउन सजिलै सकिन्थ्यो होला तर, महानगरका जनताले मलाई हराउन त के तल पर्नसम्म पनि दिएका छैनन् । सबैको माया र साथ पाएको छु, भोट पाएको छु । मलाई उर्जा नै मिलेको छ ।

कुराकानीका क्रममा एमाले उम्मेदवार देवी ज्ञवालीले आफ्नो प्रतिस्पर्धी रेणु दाहाल नभएको बताए । उनले प्रष्ट शब्दमा भने, ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरिरहेको छु । रेणु जीलाई मेरो भन्नु केही पनि छैन । देवी ज्ञवालीको प्रतिस्पर्धा पुष्पकमल र शेरबहादुरसँग हो, एमालेको प्रतिस्पर्धा कांग्रेस र माओवादीसँग हो ।

त्यसपछि हामीलाई जान्न मन लाग्यो, सुरुवातमा राम्रो अग्रता लिएका देवी घट्दो मतान्तरबारे के सोच्दा हुन् ?

सुुरुवाती गणनाका क्रममा त उनलाई धेरै मतान्तर अर्थात ४ हजार जतिको फरकमा जितिन्छ कि भन्ने लागेको रहेछ । भन्छन्, ‘तर त्यस्तो नहुन अवस्था आयो । साविक भरतपुरको कोर एरियाबाट सोचे भन्दा थोरै कम मत आयो । तैपनि जति आयो, त्यो प्रतिस्पर्धात्मक जितका लागी काफी छ ।’

देवी ज्ञवालीले आत्मविश्वासका साथ सुनाए, अब १५ सयदेखि १९ सयको वीचमा निर्णय हुन्छ र म त्यो मतले जित्छु ।

यस्तो दाबी गर्नुका पछाडि उनको आफ्नै तर्क छ ।

अब मुलत ३ हजार मत भएका वडाहरु गणना गर्न बाँकी छ । एमाले निरन्तर पश्चिम चितवनका जनतासँग भिजेको पार्टी हो । त्यहाँ नागरिकहरुको विवेकको मत मलाई छ । वीपीले भन्नु भएको थियो जब द्धिविधा हुन्छ तब बिवेकको प्रयोग गरेर फैसला गर्नु । हो पश्चिम चितवनका आम मतदाताले पनि विवेकले फैसला गर्नुभएको छ र मलाई बिश्वासको मत दिनुभएको छ । म त्यसलाई खेर जान दिन्न ।

वडा नः २१, २२, २३, २४ वडा हाम्रो प्रभाव राम्रै छ । वडा नः १७ मा पनि राम्रो आउँछ । बाँकी ३ वडामा हाम्रा युवा नेताहरुलाई उठाएका छौं । स्थापित नेताहरु नै चुनाव लडेका छन् । कांग्रेस र माओवादीको ठूलाठूला गढ पार गरेर आएका छौं । जनताले बदलिदो परिवेशलाई आत्मसाथ गरेका छन् ।

देवी ज्ञवालीसँग कुराकानी गरिसकेपछि हामीले कांग्रेसको समर्थन समर्थन पाएकी माओवादी उम्मेदवार रेणु दाहाललाई पनि भेट्यौं ।

कन्फिडेन्ट छु, म चुनाव जित्छुः रेणु दाहाल

हामिकचोक नजिकको एक घरमा आफ्ना केही आफन्तहरुसँग गफिँदै थिइन् रेणु । सम्भावित निर्वाचन परीणाम के होला भन्नेमा त्यति कन्फिडेन्ट नदेखिएपनि रेणुले कुराकानीका क्रममा भने निर्वाचन जित्ने बताइन् ।

चितवन आएर एमाले केपी ओलीले गरेको टिप्पणी, राजनीतिक एजेण्डा भन्दा पनि व्यक्तिगत टिकाटिप्पणी गरेको भन्दै रेणुले मन दुखाइन् ।

प्रचण्ड पुत्री समेत रहेकी रेणुले भरतपुरको मत परिणमप्रति आम मानिसको चासोलाई स्वभाविक मानेकी छन् । राजनीतिक र गठवन्धन दुबै अर्थमा भरतपुरको चर्चा हुनु स्वभाविक भएको उनले बताइन् । भनिन्, ‘टफ कम्पिटिसन’ भएको कारणले गर्दा सबैको ध्यान यता छ ।’

कुराकानीका क्रममा उनले अहिलेसम्म आएको मतको विश्लेषण पनि सुनाइन् ।

शहरी क्षेत्रमा एमालेको प्रभाव राम्रो देखियो । गठवन्धनका हिसाबले कांग्रेसबाट जति मत आउनुपर्ने हो आएन । तर, निर्वाचन क्षेत्र नः ४ बाट भने कांग्रेसको मत राम्रै आएको छ । वडा नः १६ एमालेको बाहुल्यता छ भन्न सुनेको छु । अरु वडामा भने हामी लिड गर्दछौं र जित्छौं ।’

उनले अघि भनिन्, पहिलो र तेस्रो पार्टीको गठवन्धन हुँदा भारी मतान्तरले जित्छौं भन्ने अपेक्षा थियो तर, त्यो भएन ।

यसको कारण सोध्दा उनी भन्छिन्,

हामीसँग जनतालाई बुझाउने प्रयाप्त समय भएन । प्रेसर अति नै भयो । गठवन्धनको औचित्य पुष्टि गर्न पनि सकिएन । तर, पनि कम मतान्तरले जित्छौं । उहाँ (देवी ज्ञवाली)ले सुरुदेखि निरन्तर लिड गरिरहनु भएको छ । त्यसले हल्का स्ट्रेस त दिएको छ । अव के हुन्छ भन्ने खालको प्रतिस्पर्धा छ । तर, म चुनाव जित्छु । अल्ली बढिको फरकमा जितिन्छ कि जस्तो लागेको थियो तर, अब त्यो सम्भव छैन ।’

कहिल्यै माओवादी केन्द्रले रुखमा र कांग्रेसले हसिया हथौंडामा मतदान नगरेका कारणले यो समस्या भएको उनको बुझाइ छ । तथापि सामान्य बहुमतले जित हात पार्छु भन्ने रेणुको दाबी छ ।

कुराकानीको अन्त्यमा रेणुले सुनाइन्, अबका दिनमा माथिवाट मात्रै गठबन्धन बनाएर तालमेल नहुँदो रहेछ भन्ने सन्देश यसले पनि दिएको छ । आगामी दिनमा शिक्षाका रुपमा यसलाई लिनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment