Comments Add Comment

एमालेमा अन्तरविरोधः बिर्तामोडमा कार्यालय घेराउ, अर्जुनधारामा उम्मेदवार कुटिए

झापाका १२ स्थानीय तहमा उम्मदेवार छानिए (सूचीसहित)

१६ जेठ, झापा । नेकपा एमालेभित्रको गुटगत समस्या झापामा छताछुल्ल भएको छ । चुनावको मुखमा एमालेभित्र केपी ओली पक्ष र माधव नेपाल पक्षको अन्तरविरोध बाहिरीरुपमै प्रकट हुन थालेको छ । हल्दीबारी गाउँपालिकाको अध्यक्षमा माधव नेपाल पक्षकी मञ्जु सिटौलालाई उम्मेदवारी दिइएपछि केपी ओली पक्षका कार्यकर्ताले बिर्तामोडस्थित आफ्नै पार्टी कार्यालयमा पुगेर जिल्ला कमिटीका पदाधिकारीको नामावली रहेको बोर्ड च्यातचुत पारेका छन् ।

चुनावकै मुखमा झापामा एमालेभित्र भद्रगोल स्थिति देखिएको छ, यसले निर्वाचनमा पार्टीलाई नकारात्मक असर पार्न सक्ने चिन्ता कार्यकर्ताले गर्न थालेका छन् । आइतबार बिर्तामोडस्थित पार्टी कार्यालयमा भेला भएका ७ सय बढी पार्टी सदस्यले मञ्जु सिटौलाको उम्मदेवारीको विरोध जनाए ।

त्यस क्षेत्रबाट आएका ७ सय पार्टी सदस्यसहित दुई हजार कार्यकर्ताले पार्टी कार्यालय बाहिर रहेको ‘होडिङ बोर्ड’मा टालिएको उम्मेदवारको फोटोसहितको नामावलीको फेल्क्स प्रिन्टसमेत च्यातेर फालिदिए ।

‘हल्दीबारी क्षेत्रमा प्रमुख पदका लागि मञ्जु कमजोर उम्मेदवार हुन्’, एकजना स्थानीय नेताले अनलाइनखबरसँग भने, ‘एमालेले यहाँ मोहन रेग्मीलाई उठाउनुपथ्र्यों ।’
मोहन केपी ओली पक्षका हुन् भने मञ्जु माधव नेपाल पक्षका हुन् ।

पार्टी कार्यालय घेर्न आइपुगेका ओली पक्षका कार्यकर्ताहरुका अनुसार हल्दीबारीमा मोहनको राम्रो पकड रहेको स्थानीय बताउँछन् । स्थानीय भन्छन्, ‘रेग्मीलाई अध्यक्ष र मञ्जुलाई उपाध्यक्षमा उठाएको भए जित एमालेको पक्षमा हुन्थ्यो । तर, त्यसो गरिएन ।’

स्थानीय एमालेको एक समूहले राप्रपासँग तालमेल गरेर विपक्षी उम्मेदवारलाई जिताउने खेल सुरु भएको भन्दै एमाले नेताहरुमाथि आरोप लगाएको छ ।

‘मञ्जु सिटौला प्रमुख पदका लागि कमजोर उम्मेदवार हुन्’, एक स्थानीयले भने, ‘उनलाई उठाउँदा विपक्षीलाई फाइदा हुन्छ ।’

हल्दीबारीमा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनका भाइ रविन्द्र लिङदेन पनि अध्यक्षका लागि चुनावी मैदानमा होमिएका छन् । एकथरि एमाले कार्यकर्ताको आशंका के छ भने गाउँपालिका अध्यक्षमा राप्रपालाई सघाउने उद्देश्यले एमालेले कमजोर उम्मेदवार छानेको हो ।

दमकमा अन्तरविरोध, बिर्तामोडमा अन्योल

केपी ओलीको गृहनगर दमकमा कसलाई उम्मदेवार बनाउने भन्ने विषयमा एमालेभित्र अन्तरविरोध चर्किएको छ ।

दमकको विवाद मिलाउन पार्टी अध्यक्ष केपी ओली आफैं केही दिनभित्र दमक आउने एमाले स्रोतले जनाएको छ

एमालेले दमकमा रोम ओलीलाई मेयरका रुपमा अघि सारेको छ । तर, स्थानीय पार्टीले सिफारिस नगरेको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै पार्टीभित्रैबाट विरोध आएको छ ।

दमकको विवाद मिलाउन पार्टी अध्यक्ष केपी ओली आफैं केही दिनभित्र दमक आउने एमाले स्रोतले जनाएको छ ।

एमालेले बिर्तामोड नगरपालिकाको उम्मेदवार टुंगो लगाउन सकेको छैन । मेची नगरमा पनि उसलाई उम्मेदवार छान्न सकस परिरहेको छ ।

उम्मेदवार कुटिएपछि विवाद मिल्यो !

यसैवीच झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार रमेश त्रिखत्रीले एमालेकै कार्यकर्ताबाट पिटाइ खाएका छन् । त्रिखत्रीलाई पूर्वएमाले कार्यकर्ता एवम् स्थानीय अर्जुनधारा माविका शिक्षक भोला पौडेलले कुटपिट गरेका हुन् । पौडेललाई यसअघि पार्टी हित विपरीत कार्य गरेको भन्दै एमालेले कारबाही गरेको थियो । शनिबार भोट माग्न पौडेलको घरमा पुगेका त्रिखत्रीलाई पौडेलले कुटपिट गर्नुका साथै वडा सदस्यका उम्मेदवार कमल निरौलामाथि पनि दुव्र्यवहार गरेको एमाले कार्यकर्ताले जनाएका छन् ।

कुटपिटपछि प्रहरी चौकी शनिश्चरेले पौडेललाई नियन्त्रणमा लिएको थियो । तर, एमालेका जिल्ला कमिटी सदस्य भोला परियार, क्षेत्रीय सचिव पुण्य सुवेदी र नगर अध्यक्ष प्रेमसागर सापकोटासहितको छलफलले समझदारीमा पौडेललाई रिहा गराएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार पौडेललाई एमालेको पूर्ववत् जिम्मेवारीमा फर्काइएको छ भने उनकै घरमा निर्वाचन प्रचारप्रसार सुरु गर्ने तयारी गरिएको छ ।

१२ स्थानीय तहमा उम्मेदवारको टुंगो लाग्यो

एमालेले झापाका १२ स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ । शुक्रबार अबेरसम्म बसेको प्रदेश नं. १ कमिटीको सचिवालय बैठकले १२ स्थानीय तहमा उम्मेदवारहरुको टुंगो लगाएको हो ।

बिर्तामोड र मेचीनगरपालिकाको उम्मेदवार भने टुंगो लगाउन एमालेलाई सकस भएको छ । एमालेले झापाका दुई स्थानीय तहको प्रमुखमा महिलालाई उठाउने निर्णय गरेको छ ।

कमल गाउँपालिकाको अध्यक्षमा मेनका काफ्ले र हल्दिबारी गाउँपालिकाको अध्यक्षमा मञ्जु सिटौलालाई उठाइने भएको हो । काफ्ले अनेमसंघकी केन्द्रीय सचिव हुन् भने सिटौला जिल्ला कमिटी सदस्य हुन् ।

यो पनि पढ्नुहोस् 

झापामा एमालेका २ महिला उम्मेदवारको टिकट खोसियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment