२३ जेठ, घोराही । नेकपा माओवादी केन्द्रले दाङको बंगलाचुली गाउँपालिकामा चुनाव प्रचारप्रसार तीब्र बनाएको छ । एक महिनाअघि नै उम्मेदवार टुंग्याएर गाउँ छिरेको माओवादीले दुई चरणका प्रचार कार्यक्रम सकेर घरदैलो गरिरहेको छ ।
यो गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्तीलाई अघि सारेको छ । त्यस्तै वडा नम्बर १ मा सन्तराम भण्डारी, २ मा मेघराज रानामगर, ३ मा शोभाराज विक, ४ मा नारायण डाँगी, ५ मा यनुराज खत्री, ६ मा लीलबहादुर खत्री, ७ मा गिरबहादुर थापा र ८ गिरीराज बाँठालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले यो गाउँपालिकामा ‘जहाँ विकास पुगेको छैन, त्यहाँ विकास’ भन्ने चुनावी नारा अघि सारेको छ । सरकारी सेवासुविधाबाट सधैं ठगिने गरेका पहाडी गाउँहरुमा सरकारी सेवा प्रवाह छिटो छरितो र सुलभ बनाउने लक्ष्यअनुसार चुनावी नारा तय गरिएको माओवादी केन्द्रका दाङका संयोजक एवं चुनाव परिचालन समिति बंगलाचुलीका संयोजक सुवास पुनले बताए ।
मतदाताका गुनासो र सुझाव संकलन गर्दै चुनाव प्रचार अघि बढाएको बताउँदै उनले गाउँपालिकालाई आम जनसमुदायको सेवक संस्थाको रुपमा स्थापित मुख्य प्रतिबद्धतासहित चुनाव प्रचार तीब्र बनाएको जानकारी दिए ।
त्यस्तै वडा कार्यालयलाई सेवाकेन्द्रको रुपमा विकास गरी जनताका दैनिक समस्याहरु समाधान गर्ने, अनिवार्य विषय बाहेक गाउँपालिका धाउन नपर्ने व्यवस्था गर्ने, गरिब र विपन्न वर्ग लक्षित कार्यक्रमहरु ल्याउने, भूमिहीन सुकुम्बासीहरुलाई कानुन बनाई स्थायी जग्गाधनी प्रमाणपत्र वितरण गर्ने कुरालाई पनि माओवादीले मुख्य एजेण्डा बनाएको छ । यसैगरी कृषि प्राविधिज्ञहरुको व्यवस्था गरी ठाउँ अनुकूल खेती बाली, नगदे बाली, फलफूल, पशुपालनको लागि अध्ययन गरी लागू गर्ने लगायतका एजेण्डा प्रमुखताका साथ अघि सारिएको अध्यक्ष पदका उम्मेदवार भक्तबहादुर ओलीले जानकारी दिए ।
माओवादी केन्द्रले यो गाउँपालिकामा सडक, बिद्युतीकरण, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धनलगायतका विकासका एजेण्डा पनि अघि सारेको छ ।
अध्यक्ष पदका उम्मेदवार ओलीले आफू यसअघि पनि जनप्रतिनिधि भइसकेकाले मतदाताका मागलाई मनन गरिरहेको र विजयी भएमा लागू गर्ने सामर्थ्य पनि रहेको बताए ।
प्रतिक्रिया 4