+
+
Shares

रामेछापका जनप्रतिनिधिको योजनाः कुलमान घिसिङको गाउँ ६ महिनामै झिलिमिली

सुनकोशीको पानी तान्नेदेखि फलाम र तामाखानी चलाउनेसम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २९ गते ११:३९

२९ जेठ, काठमाडौं । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो हरफ कण्ठ नहुने नेपालीहरु शायदै होलान् । अझ राजनीति गरेर चुनाव जितेका जनप्रतिनिधिले त यसलाई सिद्धान्त नै बनाउने भइहाले ।

रामेछाप जिल्लाका ८ स्थानीय तहबाट निर्वाचित प्रमुख र उपप्रमुखहरुले आइतवार साँझ काठमाडौंको एक रेष्टुरेन्टमा भेला भएर यस्तै महत्वाकांक्षी योजना सुनाए ।

रामेछाप काठमाडौं पत्रकार समाजले जिल्लाका आठै तहका प्रमुख र उपप्रमुखहरुको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिले सडक, विद्युत, खानेपानी र कृषि तथा पर्यटन विकासका आफ्ना योजना सुनाए ।

माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका सुनापाति गाउँपालिकाका अध्यक्ष धावा लामाले आफ्नो कार्यकालभित्र सुनकोशी तेस्रो जलविद्युत आयोजना सम्पन्न गरी गाउँ उज्यालो बनाउने बताए । उनले सुनकोशीमा रामेछापबासीलाई १० प्रतिशत शेयर दिलाउने योजना समेत सुनाए ।उनले यो महत्वाकांक्षी योजना सुनाउनुको पछाडि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ढाडस पनि छ ।

धावाले ६ महिनाभित्र सुनापति गाउँपालिका झिलिमिली बनाउने र सुनकोशीको बिजुली बेच्ने लक्ष्य सुनाए । कुलमान घिसिङ सोही गाउँपालिकाका बासिन्दा हुन् ।

एमाले जिल्ला उपाध्यक्ष समेत रहको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमवहादुर तामाङले सुनकोशीको पानी लिफ्टििङ गरेर काकाकुल जनताका घर घरमा खानेपानी पुर्‍याउने योजना सुनाए ।

तामाङले भने–खाँडादेवी गाउँपालिका सुख्खाक्षेत्र हो । मेरो पहिलो निर्णय नै सुनकोशीको पानी लिफ्टिङ गरेर जनतालाई पानी पिलाउने फाइलमा सही गरेर शुरु भएको छ । उनले सडक कालोपत्रे, कृषिमा पकेट क्षेत्र घोषणा र पर्यटनका नयाँ गन्तव्य खुलाउने योजना पनि सुनाए ।

सोही गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले भूकम्प पीडितले अझै राहत र अनुदान पाउन नसकेकाले पुननिर्माणलाई प्राथमिकता दिने बताइन् । उनले महिलाहरुको क्षमता विकास र न्यायमा पहुँच स्थापित गर्ने बताइन् ।

एमाले जिल्ला कमिटी सदस्य समेत रहेका गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले भने नेपालकै चर्चित ठोसेको फलामखानी पुनः सञ्चालन गर्ने र ताँवेडाँँडाको तामाखानी पनि सन्चालनमा ल्याउने महत्वकांक्षी योजना पेश गरे । सुनुवारले धसिंगरेलगायतका हिमाली जडिबुटीहरुको प्रशोधन र संरक्षणमा गाउँपालिका अग्रसर हुने बताए ।

कांग्रेसका जिल्ला नेता समेत रहेका रामेछाप नगरपालिकाका मेयर नरबहादुर थापाले शिक्षा, खानेपानी, सडक र कृषिमा योजनाबद्ध विकास गर्ने आफ्नो प्रतिबद्धता रहेको बताए । त्यस्तै एमाले नेता समेत रहेका मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतले सामुदायिक विद्यालयको स्तर आफ्नो कार्यकालभित्र निजी विद्यालयको सरह बनाउने योजना सुनाए ।

पूर्वजनमुक्ति सेनाका कमाण्डर समेत रहेका दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले भने जनताले गरेका अपेक्षा र जनप्रतिनिधिको अधिकार क्षेत्र साँघुरिएकाले काम गर्ने चुनौति थपिएको बताए ।

सोही गाउँपालिकाकी उपाध्यक्ष कृशाला घिसिङले कृषि र पर्यटनको विकासमा ५ वर्षे योजना बनाउन लागिएको जानकारी दिइन् ।

एमाले जिल्ला सचिवालय सदस्य समेत रहेका लिखु गाउँपालिका अध्यक्ष गोविन्दवहादुर खड्काले विकासले पछाडि परेको दुरागाउँमा योजनाबद्ध विकास गर्नेदेखि बासे खोलाको पानी गाउँपालिका केन्द्र रहेको धोबी बजारमा ल्याएर खानेपानी व्यवस्थापन गर्ने योजना सुनाए ।

सो कार्यक्रममा लिखु गाउँपालिका उपाध्यक्ष दिपशीखा दाहाल, उमाकुण्ड गाउँपालिका अध्यक्ष उर्मिला कार्की, रामेछाप नगरपालिका उपमेयर सिर्जना खड्का, मन्थली नगरपालिका उपमेयर माया कार्की,सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्ट लगायतले पनि आफ्ना योजना सुनाएका थिए ।

कार्यक्रममा सांसदहरु शिवबहादुर खड्का, श्यामकुमार श्रेष्ठ र आङटावा शेर्पाले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सांसद विकास कोषको रकम सदुपयोग हुने र अब विकासमा हातेमालो गर्ने बताए ।

सो अवसरमा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, माओवादी केन्द्रका नेता तथा परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव युवराज चौलागाई र कांग्रेस युवा नेता रत्न कार्कीले रामेछापको विकासमा दलभन्दा माथि उठेर सहकार्य गर्न तयार रहेको बताए ।

रामेछाप–काठमाडौं पत्रकार समाजका अध्यक्ष मधुसुदन रायमाझीको अध्यक्षतामा भएको जनप्रतिनिधिको बधाई तथा शुभकामना कार्यक्रममा पत्रकार कपिल काफ्ले र मात्रिका पौडेलले जनप्रतिनिधिले सञ्चारमाध्यम र सञ्चारकर्मीसँग राख्नुपर्ने सम्बन्धका बारेमा जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?