Comments Add Comment

भारतीय पूर्वराजदूतको विश्लेषणः चुनावमा नआए मधेसी दललाई घाटा हुन्छ

भारतले नेपाललाई चुनावमा सघाउनुपर्छः राकेश सुद

२९ जेठ, काठमाडौं । नेपालमा हुन लागेको दोस्रो चरणको चुनावमा भाग नलिए मधेसकेन्द्रित दललाई घाटा हुने भारतीय कूटनीतिज्ञले निश्कर्ष निकालेका छन् ।

राष्ट्रिय जनता पार्टीले निर्वाचन बहिस्कारको घोषणा गरेकै भोलिपल्ट नेपालका लागि पूर्वभारतीय राजदूत राकेश सुदले स्थानीय चुनावमा भाग नदिए मधेसकेन्दि्रत दललाई घाटा हुने स्पष्ट पारेका हुन् ।

नेपाल मामिलाका जानकार पूर्वराजदूत सूदले भारतीय पत्रिका द हिन्दुमा सोमबार एक लेखमार्फत् भनेका छन् कि चुनावमा आएनन् भने मधेसी दलहरु एक्लिने छन् र उनीहरुलाई घाटा हुनेछ ।

अहिलेको स्थानीय चुनावमा भाग नलिँदा उनीहरुलाई आगामी प्रान्तीय चुनाव र केन्द्रको चुनावमा समेत घाटा हुन पूर्वराजदूत सूदले ठोकुवा गरेका छन् ।

राजपाको नाम नलिई सुदले भनेका छन्- ‘यदि उनीहरु आगामी पाँच वर्षका लागि स्थानीय राजनीतिबाट बाहिर रहे भने कार्यकर्तालाई थामिराख्न र आगामी प्रान्तीय र केन्द्रीय निर्वाचनमा राम्रो नजिता ल्याउन असमर्थ हुनेछन् ।’

नेपाली जनतामा यतिबेला चुनावप्रति आकर्षण देखिएको विश्लेषण गर्दै सुदले भनेका छन्- ‘एउटा सानो संख्या बाहेक, जनाधार भएका अधिकांश मधेसवादी नेताहरु दोस्रो चरणको स्थानीय चुनावमा सहभागी हुनुलाई राजनीतिकरुपले तर्कसंगत ठान्छन् । चुनावप्रति स्थानीय जनताको जर्बजस्त आर्कषण उनीहरुले देखिरहेका छन् र यो पनि उनीहरुलाई थाहा छ कि, उनीहरु सहभागी नहुँदैमा चुनाव रोकिँदैन, बरु उनीहरुलाई घाटा हुनेछ ।’

भारतले चुनावमा सघाउनुपर्छ

पूर्वराजदूत सूदले भारतले स्थानीय चुनाव सम्पन्न गर्ने प्रधानमन्त्री देउवाको कोसिसलाई सहयोग गर्न जरुरी रहेको बताएका छन् ।

यो स्थानीय चुनावले झण्डै २५ वर्षयताको माओवादी द्वन्द्व र गणतन्त्रमा रुपान्तरणको संक्रमणमा गुजि्रएको नेपाललाई स्थायित्व प्रदान गर्ने सूदको विश्लेषण छ ।

सुदले भनेका छन्- ‘त्योभन्दा पनि महत्वपूर्ण, मोदीको छिमेकी पहिलो नीतिको कार्यान्वयनका लागि पनि भारतले नेपाललाई दिने भनेको एक अर्ब डलरभन्दा धेरै सहयोग तत्कालै दिन सुरु गर्नुपर्नेछ ।’

नेपालमा चीनको सहयोग बढिरहेको भन्दै पूर्वराजदूत सूदले अब भारतले नेपालसँगको सम्बन्ध सुधार गर्नुका साथै सहयोग एवं मित्रता बढाउनुपर्ने सुझाव मोदी सरकारलाई दिएका छन् ।

देउवाको ‘ह्याप्पी इण्डिङ’

पूर्वराजदूत सूदले ‘देउवाका चुनौती’ उपशीर्षकमा आफ्नो लेखमा शेरबहादुर देउवाको कार्यकाल अरु समयको भन्दा छोटो हुने बताएका छन् ।

‘देउवाको यसपटकको कार्यकाल उनका अघिल्ला कार्यकालभन्दा धेरै छोटो हुने निश्चित छ,’ सूदले भनेका छन्- ‘दुईपटकसम्म राजाबाट असक्षमको अभियोगमा पदच्यूत गरिएका देउवालाई योपटक ‘ह्याप्पी इन्डिङ’को अवसर छ ।’

पूर्वराजदूत सूदले देउवाबारे थप विश्लेषण गर्दै भनेका छन्- ‘देउवाले तत्कालै दोस्रो चरणको स्थानीय चुनाव गर्नुपर्ने छ । तर, मधेसवादी दलहरु संविधान संशोधन नभएसम्म चुनावमा नजाने भनिरहेका छन् । ओलीको सहयोगविना देउवाले दुई तिहाइ पुर्‍याउन नसक्ने निश्चित छ, जसले गर्दा संविधान संशोधन हुन सक्दैन ।’

‘प्रचण्डले भारतसँगको सम्बन्ध सुधारे’

केपी ओलीका पालामा बिगि्रएको नेपाल भारत सम्बन्ध प्रचण्डले आफू सरकारमा रहँदा सुधार गरेको सूदको विश्लेषण छ ।

साथै प्रचण्डको प्रधानमन्त्रित्वकाल सुरुवातको ९ महिने कार्यकालभन्दा ‘उत्पादनमूलक’ रहेको उनको ठहर छ ।

‘प्रचण्डले मधेसीसँग सम्वादको थालनी गरेर नजिक ल्याउने कोसिस गरे, जसलाई केपी ओलीले टाढा धकेलिदिएका थिए’ सूदले प्रचण्डको मूल्यांकन गर्दै भनेका छन्- ‘उनले संविधान संशोधन विधेयक संसदमा टेबल गरे, तर केपी ओलीकै कारण दुई तिहाइ पुर्‍याउन सकेनन् ।’

पूर्वराजदूत सूद माओवादीका खरो आलोचक कूटनीतिज्ञका रुपमा परिचित छन् । तर, सोमबार प्रकाशित लेखमा उनले प्रचण्डको प्रशंसा गर्दै भनेका छन्- ‘योवीचमा प्रचण्डले भारतसँगको सम्बन्धलाई पुनर्जागृत गरे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment