Comments Add Comment

भारतको ‘दादागिरी’: एकाधिकार तोडिने डरले नेपाली ग्यास बुलेट रोक्ने प्रयास

साढे ५ अर्बको लगानी जोखिममा, उद्योगी आन्दोलनको तयारीमा


३१ जेठ, काठमाडौं । भारतले नेपाली उद्योगीका ग्यास बुलेटलाई ग्यास ढुवानी गर्न तत्काल अनुमति नदिने संकेत गरेको छ । ९ महिनादेखि नेपाली बुलेटले मागेको अनुमति रोकेर भारतले आफ्ना बुलेटवाला ट्रान्सपोर्टरलाई संरक्षण गरिरहेको छ ।

नेपाली उद्योगीले भित्र्याएका बुलेटलाई भारतले बिष्फोटको खतराबाट मुक्त रहेको प्रमाणित गर्न मानेको छैन । नेपाल भित्रिसकेका नेपालकै बुलेटसमेत भारतको हेपाह प्रवृत्तिका कारण ग्यास लिन जान पाएका छैनन् ।

भारतका साढे ५ सयभन्दा बढी बुलेटले अहिले नेपालमा ग्यास ढुवानी गरिरहेका छन् । तर, नेपाल सरकारले उच्च तहमा यसलाई पहल गरेर सुल्झाउन चासो दिएको छैन ।

एक आपूर्ति अधिकारीकाअनुसार लाखौं आम्दानी हुने भएकाले भारतले आफ्नो ढुवानी बजार गुमाउन चाहेको छैन । त्यसैले किनिएका नेपाली बुलेटलाई योजनाबद्ध रुपमा भारतले रोकेको दाबी आपूर्ति मन्त्रालय स्रोतको छ ।

नेपाल आयल निगमले भारतीय ग्यास बुलेट विस्थापित गर्ने निर्णय गरेपछि त्यसैको प्रतिक्रिया स्वरुप भारतले नेपाली बुलेटलाई बिष्फोटको खतरामुक्त रहेको ‘एक्स्प्लोसिभ’ सर्टिफिकेशन गरेको छैन । यस्तो प्रमाणित नभएसम्म भारतीय आयल कर्पोरेशनले ग्यास बुलेट र ट्यांकरमा तेल तथा ग्यास भर्दैन ।

नेपाल आयल निगमका ग्यास विभाग प्रमुख दीपक बराल मन्त्रालय स्तरबाट नेपाली बुलेटलाई ग्यास ढुवानी अनुमति दिन पहल भइरहेको बताउँछन् । मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठ आफूहरुले परराष्ट्र मन्त्रालयमार्फत नेपाली ब्यवसायीले किनेका बुलेटलाई खतरामुक्त गर्न पहल गरिएको बताउँछन् ।

भारतको पेट्रोलियम तथा एक्स्प्लोसिभ सेफ्टी अर्गनाइजेशनले यस्तो अनुमतिपत्र जारी नगरेसम्म नेपाली बुलेट भारतमा ग्यास लिन जानै पाउँदैनन् । आयल निगमले झण्डै ९ महिनाअघि नै नेपाली नम्बर प्लेटको बुलेटलाई यस्तो अनुमति दिन आग्रह गर्दै पत्राचार गरेको थियो । तर, भारत यस विषयमा मौन बसेको छ ।

आपूर्ति मन्त्रालयका सहसिचिव श्रेष्ठ भारतले आफ्नो पत्रको कुनै प्रतिक्रिया नदिएको बताउँछन् । मन्त्रालयनै के कारणले भारतले नेपाली बुलेट रोके भन्नेमा अन्योलमा छ । भारतीय बुलेटका ट्रान्सर्पोटरहरुले आफ्नो सरकारलाई नेपाली बुलेटलाई एकैपटक यस्तो अनुमति नदिन दबाव दिएको ग्यास उद्योगीहरु बताउँछन् ।

आफ्नो ब्यवसाय एकैपटक चौपट हुने भन्दै भारतीय ट्रान्सर्पोटरहरुले आफ्नो बुलेट अन्तै प्रयोग गर्ने ब्यवस्था नभएसम्म नेपाली नम्बर प्लेटका बुलेटलाई पनि अनुमति नदिन दबाव दिएको आयल निगमका एक उच्च अधिकारी बताउँछन् ।

नेपाली उद्योगी मारमा


भारतबाट ग्यास नेपाल ल्याउन ७ सय ७५ वटा नेपाली ग्यास बुलेट किनिँदैछ । मंसिर १७ गते नै वीरगञ्ज नाकामा दुईवटा नेपाली ग्यास बुलेट आइपुगेका थिए । झण्डै झण्डै ४५० वटा बुलेट भारतमा तयार भएर नेपाल भित्रिने तयारीमा रहेको नेपाल एलपीजी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

अन्य ३२५ बुलेट भारतमा निर्माणको अन्तिम चरणमा छन् । ‘सरकारको फितलो पहल र लापर्बाहीको शिकार हामी भएका छौं’ घिमिरेले भने, ‘हाम्रो झण्डै साढे ५ अर्बको लगानी जोखिममा परेको छ । सरकार मौन बसिरहे हामी आन्दोलनमा जान्छौं ।’

लगानीको चिन्ता

विगत ४० वर्षदेखि भारतीय ट्रान्सपोर्टरका ५ सय बुलेटहरुले नेपालमा ग्यास ल्याइरहेका छन् । तर, भारतीय नाकाबन्दीमा आपूर्ति नराम्रोसँग प्रभावित भएको थियो । त्यसपछि नेपाली बुलेट खरिदको प्रक्रिया सुरु भएको थियो ।

ग्यास आपूर्तिमा भारतीय बुलेटको एकाधिकार समाप्त गर्न भन्दै ५४ उद्योगले ७ सय ७५ बुलेट खरिदका लागि झण्डै साढे ५ अर्ब खर्चिएका छन् । भारतीय बुलेटको प्रयोग हटेपछि वर्षमा झण्डै ३ अर्ब रुपैयाँ बराबरको भाडा बचत हुनेछ ।

एउटा ग्यास बुलेटलाई उद्योगी व्यवसायीले करिब ७० लाख रुपैयाँ लगानी गरेका छन् । नेपाली बुलेट भित्रिन सुरु भएपछि २०१७ को नोभेम्बरसम्म सबै आयातमा भारतीय बुलेटको प्रयोग हट्ने गरी सम्झौता नै गरिएको छ । उद्योगीलाई नेपाल बुलेट ल्याउन सरकारले भन्सार छुटको ब्यवस्था पनि गरेको थियो ।

नेपाल भित्रिएका बुलेटहरु १८ मेट्रिक टन क्षमताका हुन् । अहिले भित्रिने बुलेटले अबको १० वर्षसम्म मागअनुसार आपूर्ति गर्न सक्ने ग्यास उद्योग संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment