Comments Add Comment

गोरखा अस्पतालमा जेष्ठ नागरिकले पाएनन् निःशुल्क उपचार सेवा


३० जेठ, गोरखा । खुट्टाको उपचार गर्न नाम्जुङ्ग-२ धुसेनीका ७१ बर्षीय बिष्णुप्रसाद काप्री सोमबार जिल्ला अस्पताल गोरखा पुगे ।

निःशुल्क उपचारको अपेक्षा गरेर अस्पताल पुगेका काप्रीले कुनै सेवा निःशुल्क पाएनन् । ७० बर्ष नाघेका जेष्ठ नागरिकले निशुल्क उपचार सेवा पाउने प्रावधान रहेपनि काप्रीले ओपिडी टिकटदेखि खुट्टाको एक्स-रे गर्नसम्म शुल्क तिर्नु पर्‍यो ।

उनी मात्र होइन निशुल्क उपचार पाउने विश्वासले अस्पताल पुग्ने जेष्ठ नागरिकहरु उपचारका लागि शुल्क तिर्न बाध्य छन् । सरकारले जेष्ठ नागरिक र अति बिपन्नलाई निःशुल्क उपचारको घोषणा गरेपनि जिल्ला अस्पतालले भने सरल सेवामा अंकुश लगाएको छ ।

सरकारले दिने निशुल्क उपचार सेवा आफूहरुले नपाउने गरेको अस्पताल आउने अधिकांश जेष्ठ नागरिकको गुनासो छ । जेष्ठ नागरिक, विपन्न, कैदीवन्दीलाई निःशुल्क उपचारका लागी अस्पतालमा बर्षेनी मन्त्रालयबाट रकम निकासा हुने गर्छ ।

यो वर्ष निःशुल्क उपचार सेवाका लागी मन्त्रालयबाट पाँच लाख रकम आएको अस्पतालका प्रमुख डा. श्रीराम तिवारीले बताए । तर लक्षित वर्गले भने निःशुल्क उपचार पाएका छैनन् ।

‘पहिले पहिले उमेर भनेको भरमा जेष्ठ नागरिकलाइ सेवा दिन्थ्यौ,’ तिवारीले भने ‘तर अहिले आवश्यक कागजपत्र पेश गर्नुपर्ने व्यवस्था गरेका छौ ।’ निःशुल्क सेवा पाउनका लागी जेष्ठ नागरिकले नागरिकता वा बृद्धाभक्ता पाएको कागजपत्र ल्याउनुपर्ने उनले बताए । गत चैत्र महिनादेखि अस्पतालले उक्त नियम लागू गरेको हो ।

आवश्यक कागजात ल्याउनुपर्ने भएपछि अधिकांश जेष्ठ नागरिकहरु निशुल्क उपचार सेवाबाट बञ्चित हुँदै आएका छन् । अधिकांशलाइ कागजपत्र ल्याउनुपर्ने नियम बारे थाहा नहुँदा समस्या भएको हो ।

‘कागजपत्र चाहिन्छ भनेर थाहा पनि भएन,’ उपचारका लागी आएकी एक जेष्ठ नागरिकले भनिन् ‘फेरि बिरामी भाको बेला कागजपत्र बोक्ने मेसो हुँदैन ।’ पहिले सहज रुपमा सेवा पाएपनि अहिले झन्झट भएको उनको गुनासो छ ।

उनले भनिन् ‘गाउँबाट उपचार गर्न अस्पताल आयो अब नागरिकता चाहिन्छ भनेर फेरि गाउँ जान भएन, त्यो भन्दा शुल्क तिरेर उपचार गर्नु वेश ।’

त्यस्तै उपचारका लागि जेष्ठ नागरिकलाइ लाइन बस्नुनपर्ने भएपनि टिकट काट्नेदेखि उपचार गराउनका लागि उनीहरु लाइनमा बस्नुपर्ने बाध्यता अस्पतालमा छ । अस्पतालले भने टिकट काउण्टर साँघुरो हुदा समस्या भएको बताएको छ ।

त्यस्तै सरकारले उपलब्ध गराउने निःशुल्क औषधी पनि प्रायः नपाउने गरेको गुनासो बिरामीहरुको छ । निःशुल्क औषधी वितरणका लागि अस्पतालमा यो वर्ष दश लाख रकम निकासा भएको छ ।

सरकारले ७० थरिका औषधी निःशुल्क उपलब्ध गराउने प्रावधान बनाएपनि जिल्लामा ५५ थरिका औषधी निःशुल्क वितरण हुदै आएको अस्पतालको प्रमुख तिवारीले दावी गरे । तर, बिरामीहरुले भने निःशुल्क पाउने औषधी प्राय नपाएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment