Comments Add Comment

स्थानीय तहमा ५० प्रतिशत प्रतिनिधित्व गराउन महिला नेतृको माग

सरकारमा ३३ प्रतिशत महिला सहभागिता गराउन प्रचण्डको ध्यानाकर्षण

१ असार, काठमाडौं । महिला नेतृहरुले संविधानको मर्म र भावनाअनुरुप मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गर्न माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । साथै हरेक गाउँपालिका र नगरपालिका प्रमुख तथा वडा अध्यक्षमा ५० प्रतिशत महिला उम्मेदवार उठाउनैपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

बिहीबार बिहान माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै महिला अगुवाहरुले आफ्ना मागसहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संविधानमा हरेक तहमा ३३ प्रतिशत महिला अनिवार्य भनिए पनि त्यसअनुरुप सरकारमा महिला सहभागिता नभएको भन्दै महिला अगुवाहरुले प्रचण्डको ध्यानाकर्षण गराएका थिए । साथै स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर भए पनि हरेक गाउँपालिका र नगरपालिका प्रमुख तथा वडा अध्यक्षमा ५० प्रतिशत महिला उम्मेदवार उठाउनैपर्ने व्यवस्था गर्न माग गरेका थिए ।

भेटमा बिभिन्न राजनीतिक दलसँग आवद्ध महिला संगठनका नेतृहरु थिए । उनीहरुले दलितहरुको बस्ती नभएका स्थानमा अन्य समुदायका महिलाहरु उम्मेदवार हुने व्यवस्था गर्न पनि माग गरेका छन् ।

भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले महिलाहरुलाई नेतृत्व तहमा पुर्‍याउन ठूलै संघर्ष गरेको चर्चा गर्दै अर्थपूर्ण प्रतिनिधित्वबारे सोच्न आग्रह गरेका थिए । उनले नेतृत्व विकास गर्न सुझाव समेत दिएका थिए ।

प्रचण्डले भने, ‘महिलाहरुलाई नेतृत्वमा ल्याउन ठूलै संघर्ष गरियो, महिलाहरुको सहभागिता बढेको छ, स्थानीय तहको निर्वाचनमा पनि ठूलै संख्यामा महिलाहरु निर्वाचित हुनुभएको छ, यो राम्रो पक्ष हो । अब हामीलाई संख्याले मात्र पुग्दैन, गुण बृद्धि गर्नेतिर सोच्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment