४ असार, काठमाण्डौ । जनताले तिरेको सबारी कर राज्यको खातामा जम्मा नगरी मिलीजुली हिनामिना गरेको अभियोगमा इटहरीस्थित यातायात ब्यबस्था सबारी कार्यालय कोशीका आठ जना कर्मचारीबिरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
तीन आर्थिक बर्षका कागजात अनुसन्धान गर्दा उनीहरुले करिव ६१ करोड एक्काइस लाख, २८ हजार पाँच सय ५५ रुपैयाँ हिनामिना गरेको ठहर भएको भन्दै अख्तियारले आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले उपसचिवहरु रमेशप्रसाद दाहाल, बिष्णुप्रसाद पौडेल र नयराज नेपाल, लेखा अधिकृत कुमारबहादुर कटवाल र टिकाराम अधिकारी एवं लेखापाल सुरेश अधिकारी, देवराज नेपाल र रुद्रप्रसाद दाहालविरुद्द भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
अनौठो के छ भने यो सम्पूर्ण घोटाला काण्डको डिजाइनर नायब सुब्बा सुरेश अधिकारी हुन् जसले तीन आर्थिक बर्षसम्म जनताले तिरेको राजश्व बाँडीचुँडी खाँदा पनि यातायात ब्यबस्था बिभाग र मन्त्रालयले सुँइकोसम्म पाउन सकेका थिएनन् ।
अधिकारीलाई सरुवा गर्न खोज्दा उच्च राजनीतिक नेतृत्वबाट सरुवा नगर्न तिब्र दबाब आएपछि संका लागेर बिभागले अनुसन्धान गर्दा ठूलो रकम हिनामिना गरेको तथ्य खुलेको थियो । प्रारम्भिक अनुसन्धानपछि बिभागले संलग्न कर्मचारीलाई निलम्बन गर्दै थप अनुसन्धान र कारबाहीका लागि अख्तियार पठाएको थियो ।
आइतबार अख्तियारले उनै अधिकारीबिरुद्द सवैभन्दा धेरै अर्थात ६१ करोड २१ लाख २८ हजार ५ सय ५५ रुपैयाँ बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।
यो पनि पढनुहोस्
५७ करोड हिनामिना प्रकरणः यातायात कार्यालय इटहरीका प्रमुखसहित ५ निलम्बित
प्रतिक्रिया 4