Comments Add Comment

निर्वाचनका लागि रमाना हुँदै कर्मचारीहरु


७ असार, डोटी । दिपायल सिलगढी नगरपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशी जिल्ला निर्वाचन कार्यालयको प्राङ्गणमा पलेटी कसेर बसेका थिए ।

हातमा मतदानका लागि चाहिने सामग्रीको सूची थामेका उनीसंगै रहेका अर्का कर्मचारीलाई सामान रुजु गर्न निर्देश गर्दै थिए । जोरायल गाउँपालिका-२ को कपलकट्टेश्वर आधारभूत बिद्यालय मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न खटिएका जोशी निर्वाचन सामग्री बुझ्नका लागि निर्वाचन कार्यालयमा पुगेका थिए । जोशी जस्तै अन्य कर्मचारीहरु पनि निर्वाचन सामग्री बुझ्नका लागि कार्यालयमा पुगेका थिए ।

असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका बिकट गाउँपालिकाहरुमा खटिएका कर्मचारीहरु बुधवार नै रमाना भईसकेका मुख्य निर्वाचन अधिकृत एवं डोटी जिल्ला अदालतका न्यायाधिश नरनारायण पौडेलले जानकारी दिए । ‘हामीले भौगोलिक दुरीका आधारमा कर्मचारीलाई ४ चरणमा रमाना गर्ने योजना वनाएका छौं’ अनलाईन खवरसंग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत पौडेलले भने,’पहिलो चरणमा बढी केदार र जोरायल गाउँपालिकाका लागि बुधवार रमाना हुँदैछन ।’

दोस्रो चरणमा बोगटान र के.आई.सिंह, तेश्रो चरणमा आदर्श र सायल गाउँपालिका र चौथो चरणमा दिपायल सिलगढी नगरपालिका, शिखर गाउँपालिका र पूर्वीचौकी गाउँपालिकामा क्रमसः कर्मचारीहरु रमाना हुने पौडेलले वताए ।

निर्वाचनका लागि करिव नौ सय कर्मचारीहरु खटिएको पौडेलले वताए । निर्वाचन सम्पन्न गर्नका लागि कर्मचारी खटाउने र मतपत्र उपलव्ध गराउने जिम्मा मुख्य निर्वाचन अधिकृतको कार्यालयको, निर्वाचन सामग्रीहरु उपलव्ध गराउने काम जिल्ला निर्वाचन कार्यालयको र निर्वाचनमा सुरक्षा दिने काम स्थानीय प्रशासनको भएकोले सोही अनुसार काम भइरहेको समेत पौडेलले वताए ।

सूचना सम्प्रेषणमा समस्या

आसन्न स्थानीय तहको चुनाव सम्पन्न गर्ने जिम्मेवारी पाएका डोटीका मुख्य निर्वाचन अधिकृत एवं डोटी जिल्ला अदालतका न्यायाधिश नरनारायण पौडेलले नेटवर्कको कमजोरीका कारण दुर्गममा स्थानीय तहबाट सूचना प्राप्त गर्न समस्या रहेको वताएका छन ।

डोटीमा क्रियाशील सञ्चारकर्मीहरुले सूचना सम्प्रेषणका लागि सहज वातावरण बनाउन आग्रह गरेपछि पौडेलले यस्तो बताएका हुन् । ‘म सञ्चारकर्मीहरुले सहजै र सही सूचना पाउन भन्ने चाहान्छु’ पौडेलले भने ‘तर गाउँतिर सञ्चार प्रबिधिले कामै नगर्ने रहेछ, हामीहरुलाई पनि काम गर्न धेरै समस्या भएको छ ।’ निर्वाचन अधिकृतहरुलाई जतिसक्दो छिटो सूचना सम्प्रेषण गर्न खबर गरेको बताउँदै उनले यसका लागि फेरि पनि छलफल गरिने बताए ।

दलहरु र सरकारी कर्मचारीहरुबाट समेत निर्वाचन आचारसंहिता उलंघन भएको भन्ने मौखिक तथा लिखित खवरहरु प्राप्त भएको भन्दै पौडेलले आचारसंहिता अनुगमनलाई कडाई गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment