Comments Add Comment

धनगढीबासीलाई प्रचण्डको आश्वासनः माओवादीलाई भोट दिए महानगर बनाउँछु


९ असार, कैलाली । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि केही फुर्सदिला बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले पार्टी उम्मेदवारलाई भोट माग्न देश दौडाहामा छन् ।

नेपालगञ्ज हुँदै धनगढी पुगेका प्रचण्डले धनगढीबासीलाई थुप्रै आश्वासन बाँडेका छन् । प्रदेश नम्बर ७ को एक मात्र उपमहागर धनगढीमा माओवादीले रामसमझ रानालाई मेयर शान्ति अधिकारी क्षेत्रीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नै कारणले व्यवस्थापिका, कार्यपालिका र न्यापालिका स्थानीय तहमा आएको दाबी गरे । गणतन्त्र विरोधी ठूला पार्टीहरुले स्थानीय निकायमै चुनाव गराउन खोजेको तर, आफूले स्थानीय तहकै चुनाव गराउनुपर्छ भन्ने अडान लिएका कारण सिहदरवारको अधिकार गाउँगाउँमा आएको उनले बताएका छन् ।

पार्टी उम्मेदवारलाई भोट माग्दै प्रचण्डले माओवादीको टिमलाई विजयी गएर धनगढीलाई महानगर बनाउने बताए । गोदावरी नगरपालिकालाई धनगढीमा गाभेर महानगर बनाउने र ७ नम्बर प्रदेशकै नमुना र अत्याधुनिक शहर बनाउने बताए ।

७ नम्बर प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने, पञ्चेश्वर, पश्चिम सेती, महेन्द्रनगरमा सुख्ख बन्दरगाहा बनाउने र गौरीफन्टा नाकाको स्तरोन्नती गर्ने उनको आश्वासन छ । माओवादी अध्यक्ष प्रचण्डले यस क्षेत्रको शैक्षिक, आर्थिक, भौतिक तथा औद्योगिक विकासका लागि आफु सदैव तयार रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment