
२२ वैशाख, काठमाडौं । भावी नेतृत्व जोडिएको सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा प्रक्रिया अघि बढेको छ ।
१४ वैशाखमा सशस्त्र प्रहरीको मानव स्रोत विभागले एक सूचना निकाल्दै सात दिनभित्र बढुवाको योग्यता पूरा भएका उम्मेदवारले फारम भर्न भनेको थियो । आइतबारदेखि सात दिनको म्याद सकिएकाले अब बढुवा चाँडै निकाल्ने तयारी रहेको छ ।
एआईजी बढुवा सिफारिस समितिमा गृह सचिव अध्यक्ष रहेको समिति हुन्छ । उक्त समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले एआईजी बढुवालाई निश्चित गर्नेछ ।
२ वैशाखमा सशस्त्रका एआईजी चन्द्रप्रकाश (सीपी) गौतम ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए । उनै गौतमको ठाउँमा एक एआईजीको पद रिक्त छ ।
बढुवाको प्रतिस्पर्धामा डीआईजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कलिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत सि.सं. १ का डीआईजीहरू छन् ।
सशस्त्र हेडक्वाटर स्रोतका अनुसार एक एआईजी बढुवाका लागि आठ जना डीआईजीले फारम भरेका छन् । उनीहरूमध्येबाटै एक जनालाई बढुवा सिफारिस समितिले सिफारिस गर्नेछ ।
अहिले रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति २०८४ सालमा संगठन प्रमुख बन्ने बलियो आधार हुने भएकाले यो बढुवा निकै पेचिलो बनेको छ ।
विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्ने अवस्था आउँछ ।
१८ चैत २०५४ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका उनीहरू ३० वर्षे सेवा अवधिका कारण १७ चैत २०८४ मा अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि भने अहिले एआईजीमा बढुवा हुने व्यक्ति सबैभन्दा सिनियर एआईजी हुने भएकाले संगठन प्रमुख बन्ने सम्भावना बलियो हुन्छ । जसका कारण अहिलेको एआईजी बढुवामा भावी नेतृत्व पनि जोडिएपछि बढुवा निकै सकसपूर्ण बनेको छ ।
यो अवस्थामा सि.सं. १, २ का टोलीसमेत आईजी बन्ने अवस्था नभई पदावधिकै कारण अवकाश हुनुपर्ने अवस्था आउँछ । यही अवस्था आउने भएको बताउँदै यसअघि डीआईजीको पदावधि एक वर्ष नथप्नेसमेत लबिइङ भएको थियो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको हुन्छ । अहिलेको एआईजीको बढुवाका दाबेदारहरू गिरी, ठाडामगर, नेम्वाङ र सुवेदी चार वर्षे पदावधिका कारण २२ पुसमा अवकाश जाँदै थिए ।
तर, नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने व्यवस्थाअनुसार उनीहरूको एक वर्ष पदावधि थप भएको थियो । उनीहरू अहिले एआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया 4