Comments Add Comment

बाँकेमा कुन पार्टीले कति स्थानीय तह जित्लान् ?

११ असार, बाँके । नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको गृहजिल्ला बाँकेमा कुन दलले कति स्थानीय तह जित्लान् भन्ने चासो अहिले व्याप्त छ । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका सहित कोहलपुर नगरपालिका र ६ वटा गाउँपालिका छन् ।

संविधानसभा निर्वाचन ०७० मा ४ निर्वाचन क्षेत्र रहेको बाँकेमा एमालेले ३ र कांग्रेसले १ निर्वाचन क्षेत्र जितेका थिए । अन्यत्र जिल्लामा कांग्रेस र माओवादी केन्द्र वा अन्य ठूला दलहरुका बीचमा तालमेल भएपनि बाँकेमा भने यस्तो भएको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकामा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ । नेपालगञ्ज उपनगरपालिकामा कांग्रेस, एमाले र राप्रपाले आ-आफूले जित्ने दलिल पेश गरेपनि प्रतिस्पर्धा ५ राजनीतिक शक्तिबीच हुनेछ । माओवादी केन्द्र र संघीय समाजवादी फोरम एवम् नयाँ शक्तिको गठवन्धन पनि प्रतिस्पर्धामा रहने छन् ।

उपमहानगरपालिका सहित ४ गाउँपालिका जित्ने कांग्रेसको दावी

कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिकामा बहुमत वडासहित मेयर र उपमेयर जित्ने दावी गरेको छ । नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक समेत रहेका धनाढ्य डा. सुरेशकुमार कनौडियालाई उठाएको कांग्रेसले तत्कालिन पार्टी सभापति सुशील कोइरालाको बिरासत जोगाउन पनि यहाँ जित्ने रणनीति बनाएको छ । तर प्रतिस्पर्धा निकै नै पेचिलो बनेकाले थोरै मतले मात्रै जीत-हार फाइनल गर्ने छ ।

कांग्रेसले जानकी गाउँपालिकालाई जित्ने गाउँपालिकाको सू्चीमा राखेको छ । डडुवा र राप्ती सोनारी गाउँपालिका कांग्रेसले जित्ने गाउँपालिका हुन् । राप्ती सोनारीमा कांग्रेसका बाँके पूर्व उपसभापति बाबुराम थारु नै उम्मेदवार छन् । जानकी गाउँपालिकामा पनि कांग्रेसले जित्ने सम्भावना छ । प्रतिस्पर्धा संघीय समाजवादी फोरम, कांग्रेस र एमालेबीच हुने छ ।

एमाले भन्छ- हामी जित्छौं ५ स्थानीय तह

नेकपा एमालेले नेपालगञ्ज उपमहानगरपालिका सहित अन्य ३ स्थानीय तहमा जित सुनिश्चित भएको दावी गरेको छ । उपमहागनरपालिकामा मुस्लिम समुदायका उम्मेदवार समसुद्दिन सिद्दिकीले मुस्लिमहरुको मत पाएर निर्णायक जित्न हात पार्ने रणनीति एमालेले बनाएको छ । एमालेले जिल्लाका खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिकामा सहजै जित्ने र नरैनापुर गाउँपालिकामा प्रतिस्पर्धामा आएर जित्ने दावी गरेको छ ।

नरैनापुरमा एमाले क्षेत्र नम्बर २ का सांसद दिनेश यादवका छोरा अध्यक्षमा उठेका छन् । त्यहाँ एमाले र संघीय फोरमका वीचमा प्रतिस्पर्धा हुनेछ ।

कोहलपुर नगरपालिका एमालेले जित्ने दाबी गरेको छ । यहाँ अखिल क्रान्तिकारीको अध्यक्ष नरेन्द्र न्यौपाने, कांग्रेसका भानुभक्त न्यौपाने र एमालेबाट लुटबहादुर रावत मेयरमा उम्मेदवार छन् । नरेन्द्र युवा नेता हुन् भने, लुटबहादुर दुई पटकसम्म तत्कालीन कोहलपुर गाविस अध्यक्ष भएका ब्यक्ति हुन् ।

कांग्रेसले कोहलपुरमा बलराम शर्मालाई उम्मेदवार बनाएको भए एमाले र माओवादीलाई समस्या पर्न सक्थ्यो । प्युठानको मत शर्माले खान सक्थे जसले जितलाई नजिक ल्याउन बल दिन्थ्यो ।

माओवादीको आशा कोहलपुर र राप्ती सोनारी

माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकामा जित्ने बताए पनि माओवादी केन्द्रको अलिक राम्रो जनमत भएको स्थान हो राप्ती सोनारी । राप्ती सोनारी माओवादी केन्द्रका पूर्व सांसद पट्ट थारु उम्मेदवार छन् । एमालेबाट डाक्टर भनेर चिनिने तुलसी चौधरी युवा उम्मेदवार छन् कांग्रेसबाट पूर्व उपसभापति लाउराम थारु उम्मेदवार छन् ।

कोहलपुर नगरपालिकामा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने उठेका कारणले केही आशा माओवादीले यहाँबाट पनि गरेको छ ।

राप्रपालाई धवल समशेरको भर

पहिलो चरणको निर्वाचनमा जम्मा १ मात्रै स्थानीय तहको प्रमुख जित्न सकेको राप्रपाको सबै आशा अब धवलशम्शेर राणा माथि गएर थुपि्रएको छ ।

नेपालगञ्ज नगरपालिकाका पूर्वमेयर भएको र गएको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ३ मा कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको निकटतम प्रतिद्वन्द्वी धवल भएका कारणले पनि राप्रपाले ठूलो आशा गरेको छ । तर, हिन्दु राज्यको नारा बोकेर हिँडेको राप्रपालाई मुस्लिम समुदायको बाहुल्य रहेको नेपालगञ्जमा जित्न समस्या हुने आंकलन गरिएको छ ।

०५४ मा धवलसमशेर त्यतिबेलाको ठूलो पार्टी एमालेबाट मेयरमा विजयी भएका थिए । यसपटक उनी चौथो पार्टी राप्रपाबाट उम्मेदवार बनेका छन् ।

२ लाख ४६ हजार ७८ मतदाता, २९५ केन्द्र

बाँके जिल्लामा ८ वटा स्थानीय तहमा गरेर २ लाख ४६ हजार ७८ मतदाता छन् । कूल मतदातामध्ये महिला एक लाख २५ हजार ९३३, पुरुष एक लाख २० हजार ८४ र तेस्रोलिंगी एकजना छन् ।

निर्वाचनमा मतदाताले सहजरुपमा मतदानमा भाग लिन सकुन् भन्ने उद्देश्यले १३६ मतदानस्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । जिल्लाको खजुरा गाउँपालिकामा ३५, बैजनाथ गाउँपालिकामा ३८, जानकी गाउँपालिकामा २४, डडुवा गाउँपालिकामा २२, राप्ती सोनारी गाउँपालिकामा ३९, नरैनापुर गाउँपालिकामा २१ मतदान केन्द्र छन् । यस्तै कोहलपुर नगरपालिकामा ४३ र नेपालगञ्ज उपमहानगरपालिकामा ७३ मतदान केन्द्र रहेका छन् ।

सबै मतदान केन्द्रमा ६ जना निर्वाचन आयोगका कर्मचारी सुरक्षाकर्मीसहित पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment