Comments Add Comment

दार्जीलिङे दम्भः ‘फोबी’ को सपना भर्सेस ‘सीमा’ ब्राण्ड

चियाका बुट्यान र दार्जीलिङबासी उस्तै उस्तै !

मिरिक निवासी फोबी राई गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनका सभासद हुन् । जसै उनको बैठक कोठामा प्रवेश गरियो, थरीथरीका हस्तशिल्पीले हठात् ध्यान खिच्यो ।

राईको कोठामा टोकरीमा चिया टिपिरहेकी मंगोलिन वर्णकी वृद्धा, च्याब्रुङको तालमा कम्मर मर्काइरहेका युवा, डम्फुको तालमा मच्चिरहेका तामाङ ठिटो, धनुष–बाण लिएर शिकारमा हिँडिरहेका होचो कदका यलम्बर राजाको आकृति सजाइएको थियो ।

यी हस्तशिल्पी उनै फोबी राईले खिपेका रहेछन् । भन्थे, ‘राजनीति र कलाकारितालाई सँगसँगै अघि बढाइरहेको छु ।’

उनको फ्ल्याट अघिल्तिर बुढो र जीर्ण चियाका बुट्यानहरु यत्रतत्र लडाइएका थिए । ‘ती निर्जिब ठुटाहरुमध्ये कुनैमा म बोजुको अनुहार देख्छु, कुनैमा बगानमा काम गर्ने बढाको’ राईले दार्शनिक पारामा यसै भने ।

उनलाई लागेको रहेछ, दार्जीलिङमा आफ्ना पूर्खाहरु बर्षौं–बर्षौं अरुका निम्ति बाँचे । जसरी यो भूगोमा चियाको बुट्यानहरु बाँचिरहेका छन् । कलिला मुना अरुले लुच्छन् । तर, चियाको बुट्यानलाई कहिल्यै बढ्न दिइदैन । जहिल्यै दबाएर राखिन्छ ।

आफूहरु (दार्जीलिङबासी) यसरी नै दबिएर, हेपिएर बस्नुपरेको तीतो अनुभव छ उनीसँग । यही तिक्तताले उनलाई १६ बर्षमै ‘गोर्खाल्यान्ड आन्दोलन’मा लगायो । कहिले सडकमा त भूमिगत अवस्थामा रहे । त्यसबेला आन्दोलनका सारथी थिए, सुबास घिसिङ ।

राईको भाषामा त्यो कुनै राजनीतिक आन्दोलन नभई ‘भूगोल र भावना’को लडाई थियो । र, आजका दिनसम्म उनी निरन्तर ‘गोर्खाल्यान्ड आन्दोलन’मा छन् । राई भन्छन्, ‘कुनै दिन त गोर्खाल्यान्ड प्राप्त हुन्छै, हुन्छ ।’

राईको बैंठक कोठामा टि–टेबल छ, आफ्नै हातले खिपेको । त्यो कलात्मक टि–टेबल ढेड सय बर्ष पुरानो चियाको बुट्यानबाट बनाइएको रहेछ, जसलाई उनी आफ्ना पूर्खाको बिम्ब ठान्छन् ।

त्यो टी–टेबलतर्फ इंगित गर्दै राईले सुनाए, ‘यो बुट्यानलाई कहिल्यै हुर्कन दिइएन । यसलाई काटेर, छाँटेर, कलिलो मुना निमोठियो । यसका गाँठा, बाङ्गाटिङ्गा हाँगाहरु ज्वालामुखीझै उम्लन खोजिरहेका छन् ।’

उनले देखेको त्यही ज्वालामुखी हो, गोर्खाल्यान्ड आन्दोलन ।

दार्जीलिंगे दम्भ

‘दोजु पहाडबाट आउनुभएको ?’

चाहे तपाई भित्री मधेस सिराहा, सप्तरीकै बासिन्दा भए पनि दार्जीलिङेहरु यसै भन्छन् ।

पहाड अर्थात नेपाल । तपाईले दार्जीलिङ पुगेपछि दार्जीलिङकै रङ फेर्नुपर्छ । नभए भनिहाल्छन्, ‘दोजु त कस्तो टोप्पा हौ ?’

टोप्पा अर्थात पाखे । पाखे अर्थात पहाडे ।

दार्जीलिङमा यस्तो वचन पचाउन ‘हजमोला’ खाइरहनुपर्दैन । दार्जीलिङेहरुमा दम्भ छ, आफ्नो सभ्यताप्रति । यो इस्ट इन्डिया कम्पनीले छाडेर गएको अंग्रेज शासकको अवशेष हो ।

तर, उनीहरु पूर्णतः अंग्रेजकै ठाँटमा बाँच्न सकेका छैनन् । ‘पहाडे’ हुन पनि चाहँदैनन् । ठिमाहा सभ्यतामा उभिएका छन् । उनीहरुको मनोविज्ञान के छ भने, हामी ‘पहाडे दाजुभाइ’ भन्दा सभ्य छाैं ।

हामीले पचाउनैपर्छ कि, दार्जिलिङेको रहन–सहन अलि उन्नत छ । चाहे त्यो चिया बगानमा काम गर्ने श्रमिक नै किन नहोस् । उसको घरभित्रको सज्जा, खाने–बस्ने तरिका, शिष्टाचार लोभलाग्दो छ । बोल्ने लजवमा लय छ ।

सुकुलगुन्डा नै किन नहुन्, गाडीमा महिला तथा अशक्त उभिएका छन् भने हार्दिकतापूर्वक आफ्नो सीट छाडिदिन्छन् । होटलमा होस्, चाहे गाडीमा, नचिनेका मान्छेहरु पनि ‘कहिलेदेखि चिनेजस्तै गरी’ साइनो लगाएर बोल्छन् । कुनै सहयोग माग्नुहोस्, एकदमै आत्मियतापूर्वक सहयोग गर्न तत्पर हुन्छन् ।

अर्को घतलाग्दो पाटो छ ।

उनीहरु दशैं, तिहार धुमधाम मनाउँछन् । बिहे, भोजमा मौलिक रुपमा दौरा सुरुवालमा ठाँटिन्छन् । जातीय संस्कार विधिपूर्वक गर्छन् । र, नेपालीपनमा हुरुक्कै हुन्छन् ।

सीमा सुवेदी ब्राण्ड

सामाजिक सञ्जालमा चिहाउनुहोस्, जताततै ‘सीमा सुवेदी’ भेटिन्छन् । यी पात्रको हर्कतले अहिले ट्युवलाइटका सलमान खान, गोर्खाल्यान्डका विमल गुरुङ र नेपालको स्थानीय तहको निर्वाचनलाई पाखा लगाइदिएको छ ।

तिनी गोर्खाल्यान्ड आन्दोलनको पाश्र्वध्वनीमा नेपालीमाथि ‘लुलो गाली’ बर्साउँछिन् । भन्छिन्, ‘दुनियाँभर के बरतन माझ्ने वाले तुम्हारे नेपाल से आते है । तुम्हारे लिए हम बदनाम है ।’

बीर गोर्खालीले पनि ‘मौन ब्रत’ लिएर बसेका छैनन् । ‘ईंटका जवाफ पत्थर से’ फर्काइरहेका छन् । गोर्खाल्यान्ड आन्दोलनलाई दबाउन खोज्नेहरु यस्तो तमसा देखेर वाइनको गिलास जुधाउँदै ‘चियर्स’ गरिरहेका होलान् ।

अहिले भर्चुअल वाकयुद्ध ‘क्लाइमेक्स’मा पुगेको छ, त्यो पनि बहादुर गोर्खे र गोर्खालीबीच । दार्जीलिङमा एकाथरी आफ्नो माटो र सह–अस्तित्वका लागि ज्यानलाई दाउमा राखेर लडाइँ लडिरहेका छन् । अर्काथरी चाँहि एउटा कोठामा लुकेर सामाजिक सञ्जालमा कुर्लिरहेका छन् । र, भनिरहेका छन्– ‘हामी दार्जीलिङेलाई तिमी नेपालीहरुको समर्थन र सद्भाव चाहिँदैन ।’

कतिपय सीमा सुवेदीहरुभित्र अहिले फोबी राईमा जसरी ज्वालामुखी उम्लिएको छैन । बरु, दम्भ र अहंकार अंकुराएको छ ।

दार्जीलिङे बोलीचालीको भाषामा ती ‘उल्लू का पट्ठा’ हुन्, जो गोर्खाल्यान्ड आन्दोलनको मर्मलाई बिझाउने गरी आफू दार्जीलिङे भएको दम्भ देखाइरहेका छन् ।

र, हामी ‘इमोशनल’ भएर आक्रामक जवाफ फर्काउन हतारिरहेका छौं । ‘सीमा सुवेदीलाई अहिलेसम्मकै कडा जवाफ’ भन्ने ट्रेन्ड फेसबुक र युट्युबमा ‘उही पुरानो बाजेको पेडा’ जस्तै ब्रान्डिङ भइरहेको छ ।

उरन्ठेउला एवं बकमफुस्से केटाकेटीले ओकलेका मनगढन्ते कुरालाई आधार बनाएर हामी समग्र दार्जीलिङेमाथि धारे हात फर्काइरहेका छौं । छिमेकीका घरमा पालेको कुकुर भुक्यो भनेर कुकुर धनीलाई ‘टेडो आँखा’ले हेर्नु वा बैरभाव राख्नु कति शोभनीय हो ? यसबारे बहस भएको छैन ।

जब उदाउनेछ नयाँ बिहानी

फोबी राईले बर्षौंदेखि कुँदेका कलाकृतिहरु उनकै घरभित्र संग्रहित छन् । उनी त्यसलाई बेलाबखत प्रदर्शन त गर्छन्, तर बिक्री गर्दैनन् । राई ढुक्क छन्, ‘एकदिन गोर्खाल्यान्ड प्राप्त भएरै छाड्छ ।’ र, त्यही सुखद् बिहानीमा उनले आफ्नो संग्रहालयको घुम्टो उघार्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment