+
+
Shares

युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ दुई वर्षदेखि बेखबर

सरकारी पहलकदमीको लागि परिवारको आग्रह

‘विपिनको शव भेटिएको, नेपाल ल्याउँदै गरेको समाचार सुनेर झन् दिक्क लागिरहेको छ,’ सिद्धार्थकी आमा गंगाले भनिन्, ‘निराश भइसकियो । विपिनको जस्तै हालत भइसक्यो कि भन्ने चिन्तामा छु ।’

कपिल कोइराला कपिल कोइराला
२०८२ कात्तिक ३ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल दुई वर्षदेखि युक्रेनी सेनाको नियन्त्रणमा छन् र परिवारले उनको अवस्थाबारे कुनै जानकारी पाएका छैनन्।
  • सिद्धार्थले १३ मंसिर २०८० मा बुबालाई पठाएको अडियोमा युद्धमा जाने कुरा बताएका थिए र त्यसपछि युक्रेनी सेनाले उनको भिडियो सार्वजनिक गरेको थियो।
  • सिद्धार्थका बुबा–आमाले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर छोराको उद्धारको पहल गर्न चाहन्छन् र निरन्तर समाचार सुन्दै छोराको खबरको प्रतिक्षा गरिरहेका छन्।

३ कात्तिक, काभ्रेपलाञ्चोक। युक्रेनी सेनाको कब्जामा रहेका काभ्रे मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल दुई वर्षदेखि बेखबर छन् । २६ महिनाअघि अध्ययनका लागि मस्को गएका ढकाल रुसी सेनामा भर्ना भएका थिए।

१३ मंसिर २०८० मा बुबालाई सम्बोधन गरेर अडियो म्यासेजमार्फत पठाएको आवाज सुनेका परिवारले त्यसपछि सिद्धार्थको न आवाज सुने, न पछिल्लो अवस्थाबारे जानकार नै छन् ।

बुबा बिदुर ढकाललाई ‘बुबा, म आजबाट उता वार (युद्ध) मा जाँदैछु, ८/१० दिन टावर हुँदैन । कुरा नहुन पनि सक्छ’ भनेर अडियो पठाएको ६ दिनपछि युक्रेनी सेनाले एक भिडियो सार्वजनिक गरेसँगै सिद्धार्थ युक्रेनी सेनाको नियन्त्रणमा रहेको खुलेको थियो । त्यसपछि अहिलेसम्म उनी कुन र कस्तो अवस्थामा छन्, पत्तो छैन ।

राम्रोसँग बोल्न नसक्ने सिद्धार्थका बुबा बिदुर ढकाल र आमा गंगा ढकाल सिद्धार्थ आउने बाटो हेर्दै बसेका छन् ।

‘आज आउला, भोलि आउँला भन्दाभन्दै निराश भइसकियो,’ सिद्धार्थकी आमा गंगाले भनिन्, त्यही एउटा सन्तान थियो, बाँचेर आए हुन्थ्यो, अरू केही चाहिन्नथ्यो । मेरो छोरा फर्काउन सरकारले पहलकदमी लिइदिए हुन्थ्यो ।’

ढकाल दम्पती जेनजी आन्दोलनपछि बनेको सरकारले छोरा फर्काउन गर्ला कि भन्ने आशमा छन् । ‘छोरा फर्किने बाटो हेरेको आउने १७ मंसिरमा २ वर्ष पुगेर ३ वर्ष लाग्छ,’ आमा गंगाले भनिन्, ‘अहिलेकी प्रधानमन्त्री रहेका सुशीला कार्कीसँग भेटेर कुरा राख्न मन छ । उहाँले भनेपछि त पक्कै हुन्छ । उहाँलाई कसरी भेट्ने होला।’

सिद्धार्थको बारेमा केही आउँछ कि भन्दै मध्यरातिसम्म समाचार सुनेर बस्ने गरेको उनीहरूको भनाइ छ । ‘दिनैपिच्छे सिद्धार्थको बारेमा केही आउँछ कि भनेर डाटा किन्दै भिडियो हेर्ने, समाचार सुन्ने गरिरहेका छौं । तर केही आउँदैन । निराश हुँदै सुत्न खोज्छौं, सक्दैनौं,’ सिद्धार्थका बुबा बिदुरले भने ।

दैनिकै समाचार सुनिरहने ढकाल दम्पती हमासको नियन्त्रणमा रहेर ज्यान गुमाएका विपिन जोशीका बारेमा पनि जानकार छन् । ‘विपिनको शव भेटिएको, नेपाल ल्याउँदै गरेको समाचार सुनेर झन् दिक्क लागिरहेको छ,’ सिद्धार्थकी आमा गंगाले भनिन्, ‘निराश भइसकियो । विपिनको जस्तै हालत भइसक्यो कि भन्ने चिन्तामा छु ।’

दिनरात छोराकै बरेमा सोच्दासोच्दै न केही खान मन नलाग्ने, निद्रा पनि नलाग्ने अवस्था भएको गंगाले बताइन् । उनले भनिन्, ‘रातको दुई बजेसम्म समाचार हेर्छु, आँखा पोल्छ । सुतौं निद्रा लाग्दैन । सिद्धार्थका बा पनि निदाउन सक्नुहुन्न ।’

२६ महिनाअघि अध्ययनका लागि मस्को गएका सिद्धार्थ रुसी सेनामा भर्ना भएका थिए । ढकाल दम्पती एक्लो छोरालाई विदेश पठाउन तयार थिएनन् । तर छोराको जिद्दी सामु उनीहरूको केही लागेन । सहकारीबाट ऋण निकालेर छोरालाई रुस पठाए ।

काठमाडौंस्थित टेक्सास इन्टरनेसनल कलेजमा पढ्दाका सिद्धार्थका एक जना साथी रुसमा थिए । सिद्धार्थ उनीमार्फत नै श्याम ढकाल, सुगम ढकाल र अजय भट्टराईसहित रुस जाने तयारीमा लागे ।

२५ भदौ २०८० मा उड्ने भनेर एयरपोर्ट पुगेका सिद्धार्थ कागजपत्र नमिलेको भनेर एयरपोर्टबाटै फर्काइए । पछि ३० भदौमा चारै जना काठमाडौंबाट रुसका लागि उडेका थिए । सिद्धार्थसहित चारैजना साथी स्टुडेन्ट भिसामा रुस गएका थिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?