Comments Add Comment

नेपालगञ्जमा २० वर्षपछि धवलको डबल धमाका !

२० असार, नेपालगञ्ज । जंगबहादुर राणाले बसालेको पुरानो सहर नेपालगञ्ज उपमहानगरको मेयरमा २० वर्षपछि उनै जंगबहादुरकै बंशका धवलसमशेर राणाले अन्ततः डबल धमाका दिएका छन् ।

२० वर्षअघि यही समयमा उनी तत्कालीन नेपागञ्ज नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । फरक के मात्रै हो भने त्यो बेला उनी एमालेका तर्फबाट मेयर निर्वाचित हुँदा उपमेयर एमालेकै समसुद्धिन सिद्धिकी थिए ।

यसपटक भने राणाले राप्रपाबाट मेयर जित्दा उनका उपमेयर सिद्धिकी प्रतिस्पर्धामा तेस्रो बनेका छन् । चुनावअघि धेरैले नेपालगञ्जमा अब राणा शासनको जमाना अन्त हुन लागेको भन्दै उनको बिजयको कल्पना गरेका थिएनन् ।

तर, मतगणनाको शुरुदेखि नै फराकिलो अग्रता लिएका राणाले त्यसपछि कहिल्यै पछि फर्किनुपरेन । नेपालगञ्जमा दोस्रो पटक मेयर जितेर राणाले डबल धमाका दिएका छन् । एउटा त नेपालगञ्जमा उनको फेरि कमब्याक भएको छ ।अर्को चाहिँ स्थानीय चुनावमा निराशाजनक असफलता भोगिरहेको राप्रपालाई नेपालगञ्ज उपमहानगर जितेर सफलताको धमाका दिएका छन् ।

राणाको राजनीतिक जीवनमा एक संसदीय निर्वाचन दुई संविधान सभाको निर्वाचन नफापे पनि स्थानीय तहका दुई वटै निर्वाचन भने फापेको छ । संविधानसभाका दुबै चुनावमा पराजित भएका राणालाई नेपालगञ्जका तिनै मतदाताले मेयरमा भने दुवै पटक जिताए । यसले के देखाउँछ भने नेपालगञ्जका बासिन्दा उनलाई आफ्नो दैनिक दुःख सुखमा सँगै राख्न चाहान्छन् ।

स्थानीय तहको निर्वाचन ०७४ घोषणासँगै राप्रपाका नेता डा. राणाको उम्मेदवारी घोषणा भएको थियो । ०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालासँग २ हजारभन्दा कम मतले पराजित राणा ०५१ सालमा संसदीय निर्वाचनमा हार व्यहोरे । उनले ०६४ सालको संविधान सभाको निर्वाचनमा पनि हार व्यहोरेका थिए ।

वडा अध्यक्षसहित प्यानलै कांग्रेस र एमालेको जित्दा पनि मेयरमा धवलले दोब्बर भोट पाएपछि कांग्रेस एमालेमा खैलाबैला छ । नेपालगञ्जमा धवलको धमाकाले सबै पार्टीमा आरोप प्रत्यारोप पनि चलिरहेको छ ।

एमाले नेपालगञ्ज उप–महानगरपालिकाका निर्वाचन परिचालन संयोजक प्रमोद धितालले पार्टीले अपेक्षा गरे अनुसारको मत नपाएको स्वीकार गरे । ‘अपेक्षाकृत मत आएन, आशा गरिएका वडामा हार्नुपर्‍यो  । भोट क्रसिङ त हाम्रो मात्र समस्या हैन । राप्रपालाई सबै पार्टीबाट गएको देखियो’, उनले भने ।

राप्रपाले नेपालगञ्जका वडा नं. ४, ५ र ८ मा वडाध्यक्षसहित प्यानलै जितेको छ । हिन्दू राज्यको एजेण्डा बोकेको राप्रपाबाट मुस्लिम उम्मेदवारले वडाध्यक्ष जितेका छन् । एमालेले वडा नं. १, ९, ६, १८ र २० वडा जितेर पनि मेयरमा भोट पाउन सकेन ।

राणाले अग्रता फराकिलो पार्दै अघि बढेपछि नेपालगञ्जको मेयरका प्रतिस्पर्धी उम्मेदवारहरुले हार स्वीकारी सकेका थिए । दुई दिनअघि नै कांग्रेस मेयर उम्मेदवार सुरेश कनौडिया भतिजीको विवाहमा सरिक हुन काठमाडौं गए ।
एमाले उम्मेदवार सिद्धिकीले भोट प्याट्रनको फोटो राख्दै आफ्नो फेसबुकवालमा असन्तुष्टि व्यक्त गर्दै भनेका छन्– ‘३६४ दिन एमाले हुने, भोट हाल्ने दिन गाई र दाईलाई हाल्नेलाई कुन निकायले छानविन गर्ला ?

को हुन् धवल शमसेर ?

धवलर शमसेर जंगबहादुर राणाका भतिजा श्री ३ महाराजा देव शमसेरका खलकका सन्तति हुन् । उनी पुस्तौंदेखि नेपालगञ्जका स्थायी बासिन्दा हुन् । नेपालगञ्जको प्रतिष्ठित परिवारका खानदानी सदस्य राणा हिन्दू मुस्लिम सबैका प्रिय बन्न सक्नु नै जितको आधार हो ।

होटल बाटिकाका सञ्चालक समेत रहेका राणाको कृषि फारम, स्कूल लगायत व्यवसाय सञ्चालित छन् । उनी व्यवसायीबाटै एमालेमा प्रवेश गरेर ०५४ मा मेयर भएका थिए । तर, तत्कालीन राजाले शासन सत्ता हातमा लिएपछि उनी शाही कदमको समर्थन गर्दै एमालेबाट बाहिरिए ।

अहिले उनी राप्रपाको महामन्त्री छन् ।

२० वर्षअघिको काम जितको आधार

धवलशमसेर जबराले नेपालगञ्ज उपमहानगरको मेयरमा जित्नुको आधार २० वर्षअघि उनले गरेको काम पनि मुख्य हो । पारदर्शिता र हक्की स्वाभावले उनलाई जनताबीच लोकप्रिय बनायो ।

२० वर्षअघि एमालेबाट मेयर हुँदा उनले नेपालगञ्जको पूर्वाधार विकासमा धेरै काम गरे । नेपालगञ्जको महेन्द्र पार्कलाई मिनी चिडियाखाना बनाए । रानी तलाउमा फाउन्टेन फोहोरासहितको बोटिङ सञ्चालन गराए । सरकारी जग्गा अतिक्रमण रोकेर तलाउ बनाए । प्राचीन बंगला र पाटीपौवाहरुको संरक्षण गरे । समग्रमा उनले कुनै नराम्रो काम गरेनन् र चुनाव जित्ने आधार बनाए ।

यो पनि पढ्नुस
कमल थापाका दुई हातः एउटा झापा, अर्को बाँकेको साथ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment