२३ असार, काठमाडौं । १४ मेगावाटको कुलेखानी तेस्रो निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनी झे जियाङ जिल्लुनले आयोजनाको काम सुस्त गतिमा गरिरहेको छ । काममा खासै चासो नदिएका कारण आगामी पुष सम्ममा पनि आयोजना सञ्चालनमा ल्याउन निकै चुनौतिपुर्ण देखिएको छ ।
म्याद थप भएको साउन महिनासम्ममा आयोजना सञ्चालनमा आउने कुनैपनि सम्भावना नदेखेपछि नेपाल बिद्युत प्राधिकरणले अहिले यो आयोजना पुषसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ । तर यही गतिमा काम अघि बढ्ने हो भने आगामी पुष सम्ममा अयोजना सञ्चालनमा आउने कम सम्भावना देखिन्छ ।
यसअघि बिद्युत प्राधिकरणले यही वर्षको साउन १५ सम्ममा कुलेखानीको सबै काम सक्ने लक्ष्य लिएको थियो । प्राधिकरणकै लक्ष्यअनुसार पूर्व प्रधानमन्त्री प्रचण्डले पनि साउनमै आयोजना निर्माण सक्न निर्देशन दिएका थिए । तर प्रधानमन्त्रीको निर्देशनपछि केहि समय काममा तिव्रता दिएपनि अहिले पुरानै ढङ्गमा सुस्त तरिकाले काम अघि बढिरहेको छ ।
राम्रोसंग नियमीत काम गर्ने हो भने यो आयोजना अबको दुई तिन महिनामै सम्पन्न हुने देखिन्छ । तर यही गतीमा काम अघि बढाउने हो भने अबको १० महिनामा पनि काम सम्पन्न नहुने देखिन्छ ।
यही कारण अहिले प्राधिकरणले सम्झौताका बेलामा के कस्ता त्रुटि भए भनेर औल्याउन लागेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी भन्छन् , ‘उसको माग के छ त्यसलाई पनि सकेसम्म सम्बोधन गरि पुष सम्ममा आयोजना सञ्चालनमा ल्याउने तयारीमा छौ । ’
कुलेखानी तेस्रोमा इलेक्ट्रोमेकानिकलको काम झे जियाङ जिल्लुनले जिम्मा लिएको छ । आयोजना स्थलमा उपकरणहरु पनि सबै आइपुगेका छैनन् । करिब १५ प्रतिशत उपकरण आयात गर्न बाँकी रहेको छ । मेसीन जडानको जिम्मा लिएको स्वदेशी कम्पनी हुँलासले पनि काम राम्रोसंग अघि बढाएको छैन ।
यो आयोजनाको सुरुको लागत दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएकोमा विविध कारणले आयोजनाको म्याद लम्बिँदा झण्डै चार अर्ब बढी खर्च भइसकेको छ ।
आयोजनामा सिभिलको भने ९८ प्रतिशत काम सकिएको छ । सिभिलको ठेक्का लिएको सिनो हाइड्रोले लगभग सबै काम सकेको छ ।
बाँकी २ प्रतिशत काममध्ये १ प्रतिशत सिभिल आफैंले सम्पन्न गर्न सक्छ भने अर्काे एक प्रतिशतको लागि इलेक्ट्रोमेकानिकलको सहायता लिन पर्दछ । इलेक्ट्रोमेकानिकलको काम अघि बढ्न नसक्दा सिभिलको काम पनि प्रभावित भएको छ ।
मेसीन जडानको काम ६० प्रतिशत जति सकिएको छ भने ४० प्रतिशत बाँकी छ । टर्वाइन जडान र जेनरेटर जडानको काम अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।
पुर्व प्रधानमन्त्रीको चासोपछि गत फेब्रुअरीमा झे जियाङको ४÷५ जनाको टोलि आएको थियो । यो बाहेक अन्य सबै काम नेपाली हुलास कम्पनीले नै गरेको छ ।
आयोजनाका एक अधिकारी भन्छन्, ‘काम ढिलो हुनुमा मूख्य दोष चिनीया कम्पनी नै हो , र हाम्रो स्वदेशी कम्पनीले पनि राम्रोसंग काम अघि बढाएको छैन जसले गर्दा आयोजना कहिलेसम्ममा सञ्चालनमा आउँछ भन्ने निश्चीत छैन । ’
सन् २००८ को अप्रिलदेखि सुरु भएको यो आयोजनाको निर्माण सन् २०११ डिसेम्बरसम्म सक्ने लक्ष्य थियो । तर तोकिएको समय गुज्रेको पाँच वर्ष बितिसक्दा पनि काम भने सकिएको छैन ।
प्रतिक्रिया 4