२२ असार, बिराटनगर । प्रदेश नम्बर १ को एकमात्र महानगरपालिका बिराटनगरमा जारी मतगणनामा कांग्रेसका उम्मेदवार भीम पराजुली लगातार अग्रता लिइरहेका छन् । पराजुलीसँग प्रतिस्पर्धा गर्न एमालेले फोरम लोकतान्त्रिकसँग तालमेल गरेको छ । संघीय समाजवादी फोरमले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको छ । तर, गठबन्धनका उम्मदेवारलाई पराजुलीले उछिनिरहेका छन् ।
तर, पनि भीम लगातार अगाडि छन् । अहिलेसम्म गणना भएको वडाहरुको मत विश्लेषण गर्दा बोनस मतले भीमलाई अग्रता दिलाएको देखिएको छ । र, यदि यो अनुपात कायमै रहे उनलाई मेयर हुनबाट रोक्न एमाले र संघीय फोरम असफल हुने देखिएको छ ।
कांग्रेस नेता गगन थापा भन्छन्, ‘जब चुनावमा तालमेल हुन्छ, तालमेल गर्ने पार्टीका शुभेच्क्षुक लोयालिटीको बन्धनबाट मुक्त हुन्छन् र, चाहेका उम्मेदवारलाई भोट हाल्न सहज हुन्छ ।’ यो एमालेको हकमा लागू नहोला तर, कांग्रेस, माओवादी, फोरमको हकमा धेरै हदसम्म लागू हुन्छ । किनकि एमालेले ०४८ देखि नै तालेमल गर्दै आएको छ । तर, अन्य अधिकांश दलले स्थानीय चुनावमा पहिलो पटक तालमेलको अभ्यास गरेका छन् ।
कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेको भरतपुरलाई हेर्नुस् वा बुटवललाई हेर्नुस्, त्यही संकेत गर्छ ।
बिराटनगरमा पनि त्यस्तै भएको देखिएको छ । त्यहाँ एमालेसँग तालमेल गरेका फोरम लोकतान्त्रिक र माओवादी केन्द्रका समर्थक तथा शुभेच्क्षुकहरु ‘पार्टीप्रति लोयालिटी’को बन्धनबाट मुक्त भएको देखिएको छ । र, यसको लाभ कांग्रेस उम्मेदवार पराजुलीले लिएका छन् ।
बिहीबार दिउँसोसम्म बिराटनगर महानगरको १ देखि ५ र १५ देखि १९ वडाको मत गणना सकिएको छ ।
हामीले हरेक वडामा मेयर र दलका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतलाई विश्लेषण गरेको छौं । यसले के देआउँछ भने यदि तालेमल सफल भएको भए एमालेका मेयरका उम्मेदवार विनोद ढकालले अग्रता लिनुपर्ने थियो भने फोरमका उम्मेदवार उमेश यादवको मत पनि अहिलेको भन्दै बढी हुनुपर्ने थियो । तर, त्यसो भएन ।
कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले पार्टीका वडाध्यक्षका उम्मेदवारले भन्दा झण्डै ३ हजार बढी मत पाएका छन् । अर्थात यो चुनावी तालेमल गर्ने दलहरुबाट पाएको बोनस मत हो ।
पराजुलीलाई हरेक वडामा बोनस
अन्तिम परीणाम आइसकेका ९ वडा मध्ये अधिकांशमा कांग्रेसका उम्मेदवार पराजुलीले बोनस मत पाएका छन् ।
वडा नम्बर १ एमालेको बलियो प्रभाव भएको वडा मानिथ्यो । तर, पराजुली त्यही वडामा हाबी भए । त्यहाँ कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १५३१ मत पाएका छन् भने पराजुलीको खातामा १८३२ मत आएको छ । यो मत अन्य दलको समर्थक/शुभेच्छुकबाट आएको प्रष्ट देखिन्छ ।
किनकि यो वडामा एमालेका उम्मेदवारले १३०३ र फोरम लोकतान्त्रिकले १५३ मत पाएका छन् । यस आधारमा मेयरका उम्मेदवार ढकालले १४ सय बढी मत पाउनुपर्ने हो तर, १२४३ मै सीमित भएका छन् । जुन मत एमालेका वडाध्यक्षले पाएको भन्दा पनि कम हो ।
यस्तै फोरमका मेयर उम्मेदवार उमेशले ४३५ मत पाएका छन् । जबकि फोरमका वडाध्यक्षले ४३१ मत पाएका छन् भने माओवादीका वडाध्यक्षका उम्मेदवारले ३३२ मत पाएका छन् । यहाँ माओवादीका धेरै समर्थक तथा शुभेच्छुकले उमेशको साटो भीमलाई मत दिएका देखिन्छ ।
वडा नम्बर २ र ३ मा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर, यहाँ पनि भीम नै हावी भए । उनले झण्डै १४ सय मत बोनस पाएको देखिन्छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ६९६ मत पाएको यो वडामा भीमको मत १४३८ छ । जबकि एमालेका मेयरका उम्मेदवार ढकालले पार्टीका वडाध्यक्षले भन्दा पनि कम मत पाएका छन् ।
वडा नम्बर ४ कांग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्थ्यो । तर, एमाले र कांग्रेसको भोट समान जस्तै देखिएको छ । फोरम लोकतान्त्रिकको राम्रै र माओवादीको औसत उपस्थिति देखिन्छ । वडाध्यक्ष र मेयरले पाएको मत विश्लेषण गर्दा फोरम लोकतान्त्रिकको भोट आफ्नो गठवन्धनतिर मात्र नगई कांग्रेस उम्मेदवार भीमसँग बाँडिएको देखिन्छ ।
वडा नम्बर ५ कांग्रेसको पकड भएको वडा मानिन्छ । यहाँ पनि भीमले बोनस मत पाएका छन् तर, एमालेको पनि राम्रै उपस्थिति र फोरम लोकतान्त्रिकको केही मत पाउँदा मेयरमा विनोद र भीमको अन्तर झिनो रहन पुग्यो । यहाँ उमेशले पनि पार्टीको भोटमा थपेका छन् ।
एमालेको पकड भएको भनिएको वडा हो १५ नम्बर । तर, मेयरका उम्मेदवार विनोदले यहाँ पनि ‘लुज’ गरेका छन् । कांग्रेसका भीमले मुस्किलले आफ्नो मत जोगाएको यो वडामा संघीय फोरमका उमेश हावी भएका छन् । उनको पार्टीको वडाध्यक्षको मत १२८२ छ तर, उनले १८८९ मत पाएका छन् । यहाँ माओवादीको वडाध्यक्षको मत ६८९ खसेको छ ।
बिराटनगरको वडा नम्बर १६, १७ र १८ कांग्रेस र मधेस केन्दि्रत दलको पडक भएको क्षेत्र हो । यहाँ भने संघीयका उमेश हावी भएका छन् । कांग्रेसका मेयरका उम्मेदवार भीमले पार्टीको मत पनि जोगाउन सकेको छैनन् । वडा नम्बर १६ मा कांग्रेसका वडाध्यक्षले १०७९ मत पाएका छन् । तर, मेयरका उम्मेदवारको खातामा ८८७ मत मात्र थपिएको छ ।
एमालेका मेयर उम्मेदवार विनोदले वडाध्यक्षले आफ्नो पार्टी र फोरम लोकतान्त्रिका वडाध्यक्षले पाएको भन्दा केही बढी ५०० मत पाएका छन् । तर, वडाध्यक्षमा एमालेका वडाध्यक्षले पाएको ४६६ मा मात्र ३४ मत बढी हो । र, यो वडामा फोरम लोकतान्त्रिकले २७ मत पाएको छ ।
वडा नम्बर १७ र १८ मा उमेश हाबी भएका छन् । उनले क्रमशः १२४८ र १८४३ मत पाएका छन् । १७ मा पार्टीका वडाध्यक्षले पाए भन्दा केही मत मात्र उनले थपेका हुन् ।
तर, १८ मा उनले कांग्रेसका भीम मात्र होइन, एमालेका विनोदलाई पनि माइनसमा पुर्याएका छन् । उनले सबै दलबाट भोट ‘चोरेको’ देखिन्छ । यो वडामा फोरमका वडाध्यक्षले मात्र ६१५ र माओवादीका उम्मेदवारले ५३० मत ल्याएका छन् । जबकि उमेशको मत १८४३ छ ।
उमेशले मत बढी पाएका कारण भीम र विनोद दुबैले पार्टीका वडाध्यक्षले पाएको मत पनि जोगाउन सकेनन् ।
वडा नम्बर १९ मा फेरि भीम हावी भए । पार्टीका वडाध्यक्षका उम्मेदवारले ४४२ मत पाउँदा मेयरका उम्मेदवार भीमले ८०९ मत पाएका छन् । माओवादी, फोरम लोकतान्त्रिक र केही हदसम्म एमालेकै भोट भन्दा फरक नपर्ला । किनकि एमालेका वडाध्यक्षले ६२१ मत पाउँदा विनोदको खातामा ५९८ मत मात्र भएको छ । फोरम लोकतान्त्रिकको ११८ मत त छुट्टै छ ।
संघीयका उमेशले पार्टीका वडाध्यक्षले पाएको ३८ मा केही थपेर ८४ पुर्याए । तर, वडाध्यक्षमा माओवादी केन्द्रले पाएको ३३९ मध्ये धेरै कांग्रेसका उम्मेदवार भीमतिर नै गएको छ ।
यसरी हेर्दा अहिलेसम्म गणना भएका वडा नम्बर १८ बाहेक हरेकमा कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले बोनस मत पाएका छन् । यदि यो वडामा विनोद हावी भएको भए भीमका लागि खतरा हुन सक्थ्यो तर, तेस्रो स्थानमा रहेका उमेशले यो वडामा धेरै भोट पाए । यसले उनलाई दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार विनोदको नजिक ल्याइपुर्याएको छ ।
अब के होला ?
बिराटनगरमा ६ देखि १४ नम्बर वडाको मत गन्न बाँकी नै छ । त्यसलै अहिले नै परिणामबारे पूर्वामानुमान गर्नु हतारो हुन्छ । तर, रुझानले भने कांग्रेसलाई हरियो बत्ती देखाएको छ ।
अब गणना गर्न बाँकी वडाहरुमध्ये ६ नम्बर वडा कांग्रेसकै पकड क्षेत्र मानिन्छ भने १० हजार बढी मतदाता रहेको वडा नम्बर ७ मा कांग्रेस, एमाले र मधेस केन्दि्रत दलको मिश्रति प्रभाव छ । मुख्य व्यापारिक क्षेत्रअन्तर्गत पर्ने वडा नम्बर ८, ९ र १० मा कांग्रेसप्रति बढी झुकाव देखिन्छ । यहाँको कुल मतदाता संख्या १७ हजार ९ सय ९२ छ । यी वडाहरुमा विषेश गरी माडवारी समुदाय र पहाडे समुदायका ‘एलिट’ वर्गको वसोबास छ ।
माडवारी समुदायमा राम्रो प्रभाव भएको र एलिट समुदायको पनि भोट पाउने भएकाले एमालेेले यहाँबाट केही आशा गरेको छ । तर, यो कांग्रेसका भीमलाई उछिन्न पुग्ने गरी हुन्छ कि हुन्न भन्न गाह्रो छ । किन भने विगतमा यो वडाबाट कांग्रेसले राम्रो मत पाउँदै आएको थियो ।
फेरि वडा नम्बर ११ र १२ लाई कांग्रेस प्रभावित क्षेत्र मानिन्छ । दुई वडामा गरेर कुल मतदाता १३ हजार ४ सय ४० छन् । यी वडाहरु विनोद ढकालका लागि थप चुनौती बन्न सक्छन् ।
बिराटनगरको रोडशेष चोक, दक्षिणी क्षेत्रलगायत आसपासको क्षेत्र अन्तर्गत पर्ने १३ नम्वर वडामा भने एमालेको पकड राम्रो रहेको पाइन्छ । तर, त्यहाँ ३ हजार ६ सय ८६ मात्रै मतदाता छन् । ५ हजार १ सय ५१ मतदाता रहेको वडा नम्वर १४ मा एमाले र कांग्रेसवीच प्रतिस्पर्धा देखिन्छ ।
प्रतिक्रिया 4