Comments Add Comment

वर्षाले सोलुखुम्बुका अधिकांश ग्रामीण सडक अवरुद्ध


२५ असार, सोलुमुख्बु । वर्षातका कारण कच्ची बाटो भत्किँदा तथा हिलाम्मे हुँदा सोलुखुम्बुको ग्रामीण भेगमा सञ्चालन हुने अधिकांश सडक यातायात अवरुद्ध भएको छ ।

जिल्ला सदरमुकामसम्म पुग्ने कालोपत्रे सडक सञ्चालनमा रहेको भए पनि सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने अधिकांश सडक कोही पहिरोले भत्किएर त कोही कच्ची बाटोमा हिलाम्मे भएर अवरुद्ध भएका हुन् ।

सदरमुकामबाट नेले हुँदै तीनवटा गाउँपालिकामा पुग्ने सडकमार्ग गार्मामा हिलो तथा पहिरोका कारण एक सातादेखि अवरुद्ध छ । सो बाटो खुलाउनका लागि पहल भइरहेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए । तर, निकै समस्याका कारण तत्काल बाटो सहज हुने सम्भावना कम रहेको सवारी चालक पवन तामाङले बताउँछन् ।

सदरमुकामबाट नेचासल्यान गाउँपालिका जाने कच्ची सडक पनि तिङ्लामै रोकिएको छ । खोल्सा बढ्नुका साथै बाटो हिलाम्मे भएकाले गाडी लैजान सक्ने अवस्था नरहेको जिप चालक सुजन नेपालीले बताए ।

सदरमुकामबाट तामाखानी, जुनबेसी, काँकु, बासा, केरुङ, टाप्टिङलगायतका क्षेत्रमा पुग्ने बाटो पनि वर्षातसँगै अवरुद्ध भएको छ । नियमित केही दिन घाम लागेमा केही रुटमा बोलेरो जिप लैजाने गरिएको भए पनि अत्यन्तै जोखिम रहेको चालकहरु बताउँछन् । धेरैजसो ग्रामीण मार्गमा केही दिनदेखि सडक यातायात सञ्चालन हुन सकेको छैन । सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा उत्पादन हुने तरकारी, फलफूललगायतका कृषि उपज सदरमुकामसम्म बिक्रीका लागि ल्याउनसमेत समस्या भएको कृषकहरुको गुनासो छ ।

वर्षातका कारण कारण कच्ची सडकमा समस्या हुनु स्वाभाविक भएको भन्दै अवरुद्ध भएको स्थानमा अस्थायी व्यवस्था गरेर भए पनि यातायातका साधन सञ्चालनका लागि पहल भइरहेको प्रजिअ उमेश पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment