+
+
Shares

कथा: नर्स

नितिन आचार्य नितिन आचार्य
२०७४ असार २५ गते १३:११

म तिमीलाई अन्फ्रेन्ड गर्दै छु । अन्फ्रेन्ड यसकारण कि, तिमी अनलाइन भयौ भने मलाई बोल्न मन लागेर औडाहा हुन्छ ।

तर, तिमीले बोल्दा प्रयोग गर्ने शब्दले गर्दा मैले टाइप गरेका मेसेज कति मेट्दै/काट्दै तिमीसँग नबोलेको पनि छु । अन्फ्रेन्ड गर्न तिम्रो अनुमति चाहिँदैन । तर,  कुनै मोडमा फेरि साथी बन्ने अवस्था आयो भने तिम्रो अनुमति अवश्य  चाहिन्छ । 

तिमीप्रति ममा कुनै नराम्रो भावना छैन । तिमीप्रति सधैं सम्मानको भावना रहनेछ । किनभने मैले नराम्रो शब्दले तिमीसँग बोल्दा तिमी कत्ति पनि नरिसाई मलाई सम्झाइरह्यौ । मैले अति नै गरेको हुनुपर्छ, त्यही भएर त तिमी बोलिनौ ।

मैले अन्फ्रेन्ड गर्दा एउटा राम्रो साथी गुमाउँछु र एउटा पागल प्रेमीको हुन नसकेको प्रेमिका पनि । 

उही तिम्रो पागल ।

यति लामो मेसेज मैले अहिलेसम्म कसैलाई पठाएको थिइनँ । मेसेज पठाए लगत्तै मन खिन्न पार्दै मैले उसलाई अन्फ्रेन्ड गरे ।

सुरुमा नचिनेको मान्छेसँग बोल्न जति आँट बटुल्नुपर्छ, चिनजान भएपछि अन्फ्रेन्ड गर्न त्योभन्दा बढी बटुल्नुपर्ने हुन्छ । सोच्दा हप्प गर्मी भयो !

***

आजकाल धेरैजसो सम्बन्धको सुरुवात फेसबुकबाटै हुन्छ । मेरो पनि त्यस्तै भयो । मिल्ने साथीले ‘यो केटी नर्स हो यार’ भन्दै आईडी थमाइदियो ।

मैले धेरैको मुखबाट नर्सहरुको बारेमा सुनेको थिएँ । तर, कुनै नर्ससँग संगत भने कहिल्यै भएन । फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरी भने त संगत पनि भइहाल्थ्यो र त्यस्तै भयो पनि ।

“मलाई कसरी चिन्नुभयो र ?” सुरुमै प्रश्न गरी ।

“मैले चिनेकै छैन”, जवाफ फर्काउँछु ।

“नचिनेको मान्छेलाई किन रिक्वेस्ट पठाउनुभएको त ?” ऊ कारण खोतल्न खोज्छे ।

“नचिनेको मान्छेलाई एक्सेप्ट चै किन गरेको त अनि ?” म प्रतिप्रश्न गर्छु ।

लगत्तै अर्को मेसेज पठाउँछु ‘नयाँ साथी बनाउने मेरो सौख हो के !’

“अन्फ्रेन्ड गर्दिऊँ ?” ऊ घुर्क्याउँछे, “साथी मात्रै कि अरु पनि बनाउने सौख हो ?” स्माइली टाँस्दै पठाउँछे ।

साँच्चै नर्सहरु फर्वाड नै हुन्छन् क्या हो ? आफैंलाई प्रश्न गर्छु ।

धत् ! केही बुझ्दै नबुझी नराम्रो सोच्छस् ? मभित्रको मान्छेले गाली गर्छ ।

“अरु बनाउने सौख भएको भए बिचरा म सिंगल हुनुपर्थ्यो र ?”  म पनि हाँसेको स्माइली ठेल्छु  ।

“सिंगल रे ! यी केटाहरुले सिंगल भन्न कहिल्यै नछाड्ने भए !!”  ऊ खुलेर बोल्न खोज्छे ।

“म साँच्चै सिंगल छु”, रिप्लाई गर्छु ।

“सिंगल भए म के गरुँ ?” रिस भरिएको प्रश्न गर्छे ।

“मलाई मबाट हामी बनाउन सक्छौ ?” उत्तर फर्काउँछु ।

“ओ मिस्टर ! त्यस्तो चैं गर्दिनँ है म” ऊ कड्किन्छे ।

” हो र सिस्टर ! नर्स बूढीलाई पनि सिस्टर भन्नुपर्ने बाध्यता पर्छ, होस् ! नगर पनि”, म अलिकति जिस्किने शैलीमा आक्रामक हुन्छु ।

“म हस्पिटलमा नर्स हो र सिस्टर भनेर बोलाउनु मेरो पेसाको सम्मान हो । पेसा सम्झिएपछी मेरो status पनि परिवर्तन हुन्छ । त्यसपछि म नर्स होइन, अरु केही हुन्छु होला ! कतै प्यासेन्जर, कतै ग्राहक र कतै विद्यार्थी ।  यो नर्स र सिस्टर मजाक गर्ने विषय होइन है” ऊ अझ राँकिन्छे ।

माहौल बुझेर म आफैं संयमित हुन्छु, “हस् सिस्टर !”

उ आक्रामक त हुन्थी तर त्यति नै खुलस्त कुरा गर्थी । नर्सिङ पढेर गल्ती गरेको कुरा सुनाउँथी । नर्सहरुलाई केटाहरुले गर्ने र सोच्ने व्यवहारदेखि दिक्क लाग्ने गरेको कुरा सुनाउँथी ।

म उसलाई सहानुभूति दिन्थेँ र घरिघरि उसलाई गिज्याएर ‘सिस्टर’ भनेर बोलाइदिन्थेँ । सिस्टर भनिदिँदा ऊ आफूभित्रको क्रोध तुरुन्तै शब्दमा निकालिहाल्थी ।

बोलचालको क्रम सुरुको दिन जत्तिकै रफ्तारमा अघि बढेको थियो । मोबाइल नम्बर साटासाट पनि त्यही रफ्तारमा अघि बढ्यो । रफ्तारमा बनेका सम्बन्धहरु त्यही रफ्तारमा सकिन्छन् कि भनेर भविष्यको अनुमान दिमागले लगाउँदै थियो ।

***

एकदिन उसले भेट्ने कुरा गरी । केटीहरुसँग  बल्लतल्ल फेसबुकमा बोल्न थालेको थिएँ । वास्तविक जीवनमा केटीसँग बोल्नेबित्तिकै मुटुले नै ढोल ठटाइरहेको जस्तो, बोल्दा आवाज काँपे जस्तो, खुट्टा लरबराए जस्तो, अनुहार नवदुलही जस्तो झुक्थ्यो ।

उसले भेटौं न भन्दा हुन्छ भन्ने आँट आएन । धेरै कर गरेपछि मुटु दह्रो बनाउँदै भेट्न गएँ । भेटघाट नर्मल भयो । केही प्रश्न र जवाफ सकिएपछि हामीबीच केहीबेर सन्नाटा छाउँथ्यो । म त के सोध्ने-सोध्ने भनेर अलमल्ल पर्थेँ । सायद ऊ पनि त्यही अलमलको भूमरीमा पर्थी ।

छुट्टिने बेलामा उसले मेरो अलिअलि दारी उम्रेको गालामा चुमी । भेट्न आउँदा  मलाई खास उपहार चाहिन्छ भनेको थिएँ । उसको तर्फबाट ‘खास उपहार’ त्यही होला भन्ने लाग्यो । म रातो न पिरो भए । किनभने

कोही केटीको ओठ मेरो गालामा पहिलो पटक जोडिएको थियो ।

“मनबाट दिएको किस पो किस त, करले दिएको त विष !’ अत्तालिएको आवाजमा मेरो बोली खुस्कियो ।

तुरुन्तै गाली गरे झैं गरेर प्रश्न गरी, “बढी हुने होइन नि, त्यस्तो केटी जस्तो लाग्यो ?”

मुटुको धड्कन एकाएक बढ्यो र फेरि बोल्न कर लाग्यो । “त्यस्तो केटी भन्या कस्तो फेरि ?” सोधेँ ।

अलि लजाए जस्तो गरी र गाली गरे झैं गरी । रिसले ‘पागल’ भन्न भ्याई । उसले पागल भन्दा म शान्त भएर बसिरहेको थिएँ । पागल अरु कसैले भन्दो हो त युवा जोश देखिसक्थे होला । तर, उनको छेउमा म तापले पग्लिएको बरफ जस्तो शान्त भएर आफ्नो धर्म निर्वाह गरिरहेको थिएँ ।

पहिलो पटक कोही केटीको ओठ मेरो  गालामा पुगेको थियो । मन बुरुक्क बुरुक्क उफ्रिरहेको थियो, बाख्राको पाठा जसरी । मनमा तरङ्ग भरिएर पोखिएला जस्तो भयो । कसलाई सुनाऊँ कसलाई सुनाऊ भयो । जुन साथीले उसको फेसबुक आईडी दिएको थियो, उसैलाई सुनाएँ ।

साथी भन्छ, “धेरै खुसी नहोऊ यार ।”

‘किन ?’ प्रश्न गर्छु ।

साथीले करेन्टको झट्का दियो, ‘ऊ मेरो गर्लफ्रेन्ड थिई । ‘आई एम  फिजिकल्ली इङ्गेज्ड  विथ हर ।’

म छक्क परेँ ! के बोलूँ र कसो गरुँ भयो । आफैंलाई लाज लागेर आयो । नाङ्गै कसैले बीच सडकमा हिँडाए जस्तो भयो । नसोचेको कुनै कुरा झ्याप्प भइदिँदा दिमाग रन्थनिन्छ । ठ्याक्कै त्यस्तै भयो ।

***

साथी र उसको सम्बन्धको बारेमा जान्न मैले उसलाई मेसेज पठाएँ । सबै कुरा थाहा पाए पनि थाहा नभए जसरी सोध्न पनि एक किसिमको रमाइलै हुन्छ ।

उसले सबै कुरा सुनाई । कति सजिलै खुलेर अरुसँग भएको शारीरिक र भावनात्मक कुरा सुनाई, त्यो पनि ‘केटी’ भएर । म त कति परम्परागत सोच भएको मान्छे रै’छु । उसँग आफूलाई तुलना गरेँ ।

शारीरिक सम्बन्धलाई उसले सामान्य Biological प्रक्रिया मात्र ठान्दी हो । तर,  म जुन समाजमा हुर्किएँ, समाजले जे कुरा सिकायो, त्यो कुरामा उसको र मेरो केमिस्ट्री फेल खायो ।

“जोसँग जे गर्न मन लाग्यो, त्यो गर्न पाउनुपर्छ । पुरुषहरुले चैं जे गर्न मन लाग्यो त्यो गर्न पाउने, हामीले चै नपाउने ?” ऊ एकाएक फेमिनिस्ट बन्न खोजी ।

उसको कुरामा कति दम थियो ? मेरो दिमागले ठम्याउन सकेन । तर, जे गर्न पनि पाउनुपर्छ भन्ने कुराले असाध्यै रिस उठ्यो ।

“जे गर्न पनि पाउने भए यत्रो वर्ष खेर फालेर संविधान किन बनाउनुपर्थ्यो”, टाइप गरेँ, तर पठाइनँ ।

“हरेक कुराको एउटा निश्चित दायरा हुन्छ । त्यसलाई नाघेर व्यवहार गर्नु भनेको मानिस पशुसरह हुनु हो ।  कतै तिमी पशु त हुन खोज्दै छैनौ ?” प्रश्न गरेँ ।

अश्लील शब्द एकाएक फेसबुकको च्याट बक्समा पठाई  र लेख्दै भनी “माफ गर, यो देखेर अनौठो लाग्यो होला, तर हामीले पनि बोल्न पाउनुपर्छ ।”

म चकित परेँ । बेस्सरी रिस उठ्यो र कसैले भनेको सम्झेँ “यदि कसैले अश्लील शब्द बोलेर कुरा गर्छ भने ऊ कमजोर हुन थालिसकेको छ” अनि चुपचाप बसेँ ।

” महिला र पुरुषमा शारीरिक बनावटमा भिन्नता छ र दुवैमा आ-आफ्नो किसिमको अनौठा काम गर्ने क्षमता पनि छन् । हाम्रो समाजले, धर्मले के गर्ने र के नगर्ने भनेर नियम दियो, फरक यत्ति हो । अब मैले किन  त्यो नियम मान्ने भनेर उफ्रिनु चै पागल हर्कत मात्र हो”  मैले पठाएँ ।

“Yes I know” लेखेर पठाई ।

“मान्छेलाई बानी, बेहोरा र कर्मले ठूलो बनाउने हो न कि लिङ्गले”, आफूलाई ठूलै दार्शनिकको रुपमा प्रस्तुत गर्दै लेखेँ ।

“म रक्सी खाँदै छु । त्यही भएर यस्तो कुरा निक्लिरहेको छ । सरी ! आज नबोल”, उसले पठाई ।

म जिल्ल परेँ । “रक्सी खाइस् भने डडाल्नु भाँच्छु भन्ने आमाले बुहारी रक्सी खाने परी भने के गर्नु हुँदो हो ?” आमालाई सम्झेँ ।

पारिवारिक गफ हुँदा हामीले बोल्न पाउनुपर्छ भनेर बुहारीहरुले अश्लील शब्द निकाले भने पारिवारिक माहौल कस्तो हुँदो हो ? हामीले आफूमा भएको अंग देखाउन पाउनुपर्छ भनेर महिलाहरुले अंगप्रदर्शन गर्दै र्‍याली निकाले भने समाज र देशमा कस्तो असर पर्दो हो ?

यी सबै सोच्दा विरक्त लाग्यो ।

त्यसपछि उसलाई अन्फ्रेन्ड गरिदिएँ । अन्फ्रेन्ड गरेको केही दिनपछि साथीले वानेश्वर बोलायो । ऊ त्यही नर्स केटीसँग थियो । म ट्वाल्ल परेँ । त्यहाँ पुगेपछी थाहा पाएँ, त्यो नर्स अझै साथीको गर्लफ्रेन्ड रै’छे ।

मसँग यत्रो दिन गफ त्यही साथीले उसको आईडी बाट गरेको रहेछ । केटी मलाई देखेर हाँसिरही । अझ किसको किस्सा साथीले त्यही बेला निकाल्दियो, म लाजले रातो पिरो भएँ ।

मेरो अवस्था ठ्याक्कै भद्दा Prank मा परेको दोषी जस्तै थियो, अझ भन्दा बध गर्न लागेको पशु जस्तै म चुपचाप आफ्नो मृत्यु (त्यहाँबाट भाग्न) पर्खिरहेको थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?