Comments Add Comment

मधेसका ८ जिल्लामा कांग्रेस पहिलो बन्ला कि एमाले ?

तेस्रो बन्न माओवादी र फोरमवीच प्रतिस्पर्धा हुने संकेत

२६ असार, काठमाडौं । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय चुनावमा मधेसका ८ जिल्लाबाट कसले बहुमत ल्याउला ? दोस्रो चरणको चुनाव सकिएलगत्तै राजनीतिक वृत्तमा विभिन्नखाले आँकलन सुरु भएका छन् ।

पहिलो र दोस्रो चरणको चुनावबाट पहिलो दल बनेको नेकपा एमालेले मधेसमा पनि आफू पहिलो दल नै बन्ने दाबी गरिरहेको छ भने कांग्रेस चाहिँ मधेसमा आफ्नो जनाधार रहेको भन्दै पहिलो हुनेमा ढुक्क देखिएको छ ।

तराई मधेसका ८ वटा जिल्लाको भावी चुनावी परिणामबारे अहिले नै विश्लेषण गर्नु हावादारी हुन सक्छ । तर, यहाँ चाहिँ हामीले विगत ०७० सालको चुनावी गणितबारे चर्चा गर्न खोजेका छौं, ता कि यसले मधेसको राजनीतिक चित्र बुझ्न सजिलो होस् ।

४८ सीटमा कांग्रेस पहिलो, एमाले दोस्रो

प्रदेश नम्बर २ अन्तरगत व्यवस्थापिका संसदमा कुल ४८ सीट छन् । यीमध्ये ७० सालमा नेपाली कांग्रेसले २१ सीट जितेको थियो । एमालेले १४ र माओवादीले ८ सीट जितेको थियो । त्यस्तै मधेस केन्दि्रत दलहरुले ४ र एउटामा स्वतन्त्रले जितेको थियो । यो मत परिणामलाई हेर्दा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो देखिन्छ ।

जिल्लागत रुपमा विश्लेषण गर्ने हो भने ०७० सालमा सप्तरीका ६ निर्वाचन क्षेत्रमध्ये माओवादीले ३, कांग्रेसले २ र एमालेले १ स्थान जितेका थिए । त्यहाँ मधेसवादी दलले शुन्यमा चित्त बुझाउनुपरेको थियो ।

सिराहाबाट संविधानसभामा कांग्रेसले ४ र एमाले तथा माओवादीले एक/एक सीट जितेका थिए । सिराहा पनि मधेसवादी दलले जितेका थिएनन् ।

त्यसैगरी ७ निर्वाचन क्षेत्र रहेको धनुषामा कांग्रेसले ५ सीट जितेको थियो भने एमाले र सदभावना पार्टीले एक/एक स्थानमा जितेका थिए ।

महोत्तरीबाट संविधान सभामा कांग्रेस र एमाले दुई/दुई सीट जितेर बराबरी भएका थिए भने माओवादी र स्वतन्त्रले एक/एक स्थान जितेका थिए ।

सर्लाहीबाट संविधानसभाको चुनावमा कांग्रेसले दुई स्थान जितेको थियो । एमाले, माओवादी, तमलोपा र तराईमधेस समाजवादी पार्टीले एक/एक स्थान जितेका थिए ।

रौतहटमा भने एमाले र माओवादीले दुई/दुई सीट जितेका थिए भने कांग्रेस र लोकतान्त्रिक फोरमले १/१ सीट जितेका थिए । बारामा भने कांग्रेस र एमालेले ३/३ जना सांसद जितेर आफूलाई समानान्तर शक्ति बनाएका थिए ।

पर्सामा एमालेले कांग्रेसलाई पछि पारेको थियो । त्यहाँ एमालेले ३ र कांग्रेसले दुई सीट जितेका थिए ।

यो सबै तथ्यलाई विश्लेषण गर्दा रौतहट, बारा र पर्सामा कांग्रेसभन्दा एमाले अगाडि देखिएको थियो भने सप्तरी, सिराहा धनुषामा एमाले भन्दा कांग्रेस अगाडि देखिएको थियो । महोत्तरीमा कांग्रेस र एमाले बराबरी प्रतिस्पर्धामा देखिएका थिए । सिराहा र धनुषामा कांग्रेसले बढी सीट नजितेको भए मधेसमा एमाले कांग्रेस लगभग बराबर देखिने थिए ।

समानुपातिकमा कांग्रेस-एमाले करिब समानान्तर

जिल्ला कांग्रेस एमाले माओवादी फोरम फोरम लो. सदभावना तमलोपा राप्रपा
सप्तरी २५००० २४१०६ २०३७४ २४५३४ २३९५५ १४१२० ६८९१ ९८१९
सिराहा ४२५५८ ४६२०४ ३७०५० १४५५१ १४३०९ ५२०९ ३२०९ ४४८०
धनुषा ६१६२० ४७०५५ २६८४२ ११४६५ ९७१४ १३८५१ १६१४६ १५४०१
महोत्तरी ३४९८३ २२५६१ ३२१६१ ११५७० १७६० १४४४४ ११६४१ ५३५०
सर्लाही ३४३१७ २७८४३ २२२५६ १५४२९ ९४४२ २२८४८ २४१९६ १४४०८
रौतहट ३६८०४ ३८९९० ३६२६४ १६५९८ २२६३० ८३२४ ४१७२ ६९०३
बारा ४१३३७ ५०६५५ २००८३ १३६९८ ८९७२ ७००५ १२६०३ १९४९२
पर्सा ३७३४७ २८३४८ १६४४९ १३२५१ ५८५५ ३३९० ८०५८ २७५१७
कुल मत ३१३९६६ २८५७६२ २११४६१ २२१०९६ ९६६३७ ८९१९१ १००५२६ १०३३७९

समानुपातिकतर्फ मधेसका ८ जिल्लामा कांग्रेस र एमालेले ०७० सालमा पाएको मतको अन्तर खासै धेरै छैन । कांग्रेसले ८ जिल्लाबाट ३ लाख १३ हजार ९६६ मत पाएको थियो भने एमालेले २ लाख ८५ हजार ७८२ मत पाएको थियो ।

त्यसैगरी मधेसका ८ जिल्लामा माओवादीले २ लाख ११ हजार ४६१ मत पाएको थियो भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले माओवादीको भन्दा बढी अर्थात् २ लाख २१ हजार ९६ मत समानुपातिकतर्फ पाएको थियो ।

मधेसका ८ जिल्लामा विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरमले ९६ हजार ६३७ सात मत पाएको थियो भने सदभावनाले ८९ हजार १९१ र तमलोपाले १ लाख ५२६ मत पाएको थियो । राप्रपाले १ लाख ३ हजार ३७९ मत पाएको थियो ।

हाल राजपामा समाहित भएका मध्ये राष्ट्रिय मधेस समाजवादी पार्टीको मत २ नम्बर प्रदेशमा करिब ६५ हजार थियो भने तराई मधेस सदभावना पार्टीले करिब ५९ हजारको हाराहारीमा मत ल्याएको थियो । त्यस्तै गणतान्त्रिक फोरम २८ हजार र संघीय सदभावना पार्टीले १६ हजारको हाराहारीमा ०७० सालमा समानुपातिकतर्फ भोट पाएका थिए ।

यी सबै मधेसकेन्दि्रत दलवीच पार्टी एकता भइसकेको अवस्थामा अब मधेसमा माओवादी, संघीय समाजवादी र राजपावीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ भने पहिलो स्थानका लागि कांग्रेस र एमालेवीचकै प्रतिस्पर्धा हुने देखिन्छ । राप्रपाको पोजिसन पनि मधेसमा अलि पछाडि नै देखिन्छ ।

कांग्रेसमा डर, एमालेमा आश

हालसम्मको स्थितिलाई हेर्दाखेरि नेपाली कांग्रेस प्रदेश नम्बर २ मा आफ्नो वर्चश्व रहने सोचेको छ । तर, आफ्नो प्रभाव गुम्ने पो हो कि भन्ने कांग्रेसमा डर छ । एमालेले चाहिँ मधेसमा पहिलो दल बन्ने आश गरेको छ ।

पहिलो र दोस्रो चरणको चुनावमा नेपाली कांग्रेसभन्दा एमाले ४८ सीटले अगाडि छ । मत गणना भइरहेका धरानमा पनि एमाले नै अगाडि छ । अब कांग्रेसले कम्तिमा पनि मधेसबाट एमालेको भन्दा ५० सीट बडी जित्नुपर्ने हुन्छ र त्यो अवस्थामा मात्रै ऊ पहिलो पार्टी हुन सक्छ । तर, यो सम्भावना सहज देखिँदैन ।

प्रदेश नम्बर २ मा एमाले नेपाली कांग्रेसभन्दा खासै धेरै कमजोर देखिँदैन । र, आगामी स्थानीय चुनावमा कांग्रेसलाई केही प्रतिकुलता छ भने एमालेलाई अनुकुलता छ ।

जस्तो कि दोस्रो चरणको चुनावमा कांग्रेसले दाङ, कैलाली र कञ्चनपुरमा जुनखालको परिणाम आउने सोचेको थियो, त्यहाँ एमालेले कांग्रेसको गढ भत्काइदियो । उता झापामा एमालेले १० भन्दा बढी सीट जित्ने सोचेको थियो, त्यहाँ एमालेले धक्का खायो ।

कैलाली, कञ्चनपुर र दाङमा कांग्रेसले आफ्नो प्रभाव गुमाउनुको मुख्य कारण हो, जनतामा व्याप्त असन्तुष्टि । र, झापामा पनि यही नियम लागू भयो । विगतमा एमालेले जितेका ठाउँमा जनता एमालेसँग रुष्ट देखिए । कांग्रेसले जितेका ठाउँमा कांग्रेससँग रुष्ट देखिए । उत्तरी मोरङमा मतदाताले एमालेको विकल्पमा कांग्रेसलाई रोज्नु पनि यही मनोविज्ञानले काम गरेको हुन सक्छ ।

र, मधेसमा पनि यही मनोविज्ञानका आधारमा मतदाताहरुले मतदान गरे भने त्यहाँ पनि कांग्रेस, मधेसवादी र माओवादीको विकल्पमा एमालेलाई नरोज्लान् भन्न सकिँदैन ।

अहिले यसो भन्न सकिन्छ कि आगामी असोज २ गते मधेसका ८ जिल्लामा हुने चुनावमा कांग्रेसभित्र डर र एमालेभित्र आश देखिएको छ ।

तर, मधेसमा पछिल्लो समयमा उठेको लामो आन्दोलन र संघर्षको रापताप अझै सेलाइनसकेका कारण ०६४ साल नदोहोरिएला पनि भन्न सकिन्न । तर, फरक यतिमात्रै छ, मधेस केन्दि्रत दलहरु आपसमा जुटेर हैन, फुटेर चुनाव लड्न लागेका छन्, जसले गर्दा ०७० सालमा जस्तो कांग्रेस, एमाले र माओवादी नै हावी हुने सम्भावना प्रवल देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment