+
+
Shares

कांग्रेस-एमालेको प्रशंसा गर्दै प्रचण्डले भने-हामी त गएगुज्रेका भएछौं

गुट चलाउने भए पार्टी बिघटन गरौं

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २ गते १४:१२


२ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जिल्ला इञ्चार्जहरुको बैठकमा कांग्रेस-एमालेको प्रशंसा गरेका छन् । साथै पार्टीमा गुटगत राजनीति हावी भएको भन्दै गुट बनाइराखे पार्टी भंग गर्ने चेतावनी दिए ।

पहिलो र दोस्रो चरणको स्थानीय चुनावको समीक्षा गर्न सोमबारबाट सुरु भएको जिल्ला इञ्चार्जसहित केन्द्रीय सचिवालय बैठकको सुभारम्भ गर्दै प्रचण्डले कांग्रेस र एमालेसँग माओवादीको तुलाना गरेका छन् । एक नेताका अनुसार उनले भने ‘हामी त कांग्रेस-एमाले भन्दा पनि गएगुज्रेका भएछौं । दलालै भए पनि, ठेकदारै भए पनि, तस्कर नै भए पनि कम्तिमा उनीहरु समाजमा अन्तरघुलित त भएका छन् ।’

गुट चलाउने हो भने कांग्रेस-एमालेभन्दा माओवादी फरक नहुने भन्दै प्रचण्डले गुटबाट मुक्त नहुने भए पार्टी बिघटन गरिदिए सबैको हित हुने बताएका थिए । ‘गुटैगुट भएको कांग्रेस-एमालेको पुच्छर जस्तो भएर औचित्य छैन । यदि अवस्था यस्तै नै रहिरह्यो भने विघटन गर्दा राष्ट्रलाई पनि र जनतालाई पनि फाइदा होला,’ प्रचण्डले बैठकमा भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यदि त्यस्तो होइन भने यो पार्टीलाई साँचो अर्थमा अग्रगामी धाराको, क्रान्तिकारी धाराको, हाम्रा सैद्धान्तिक अडानसहित त्यसलाई कार्यान्वयन गर्ने पार्टी बनाऔं ।’

माओवादीको राजनीतिक धार स्थापित गर्नका लागि संगठनमा भएका कमजोरी समाधान गर्दै पार्टीका नेता-कार्यकर्तालाई जनतासँग जोड्नुपर्नेमा प्रचण्डले जोड दिएका थिए ।

चुनावमा निर्विकल्प तेस्रो भए पनि अहिलेको नतिजाबाट सन्तुष्ट हुन नसकिने प्रचण्डले बताएका थिए । ‘समग्रमा हेर्दा अहिलेको परिणाम अप्रत्यासित होइन, निर्विकल्प तेस्रो भइएको छ,’ उनले बैठकमा भनेका थिए, ‘जितेको ठाउँ र दोस्रो भएर नजिकबाट हारेको मतलाई हेर्दा कमजोर देखिँदैन । तर यही परिणामलाई चित्त बुझाएर बस्न पनि सकिँदैन ।’

दोस्रो संविधानसभाको चुनाव पछाडि कतिपयले माओवादी सिद्धियो अब उँभो लाग्दैन भनेको स्मरण गर्दै प्रचण्डले भने, ‘केही मान्छेहरुले गरेको अवमूल्यनलाई हेर्नुहुन्छ भने त चुनावी नतिजाले नयाँ ढंगबाट माओवादी संगठित हुन्छ भन्ने म्यासेज दिएका छौं ।’

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकको पहिलो दिन सातवटै प्रदेशबाट रिपोर्टिङ भएको छ । प्रदेश नम्बर १ का इञ्चार्ज गोपाल किराँतीले भने संयोजक साबित्री कुमार काफ्लेलाई रिपोर्टिङ गर्न लगाएका छन् ।

प्रदेश नम्बर २ का इञ्चार्ज मातृका यादव, ३ का हितमान शाक्य, ४ का देव गुरुङ, ५ का वर्षमान पुन, ६ का शक्ति बस्नेत र प्रदेश नम्बर ७ का इञ्चार्ज लेखराज भट्टले रिपोर्टिङ गरेका छन् । बैठक मंगलबार ११ बजे पुनः बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?