Comments Add Comment

तनहुँ हाइड्रो निर्माण शुरु हुन अझै ३ महिना लाग्ने

मुआब्जा वितरणको काम अन्तिम चरणमा

३ साउन, तनहुँ । तनहुँको बहुप्रतिक्षित तनहुँ हाइड्रो निर्माण चरणमा प्रवेश गर्न अझै ३ महिना लाग्ने भएको छ । जलविद्युत आयोजना निर्माण गरिने स्थानको मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म ४४ करोड रकम जग्गाको मुआब्जा बितरण गरिएको छ अब १८ करोड मात्रै भुक्तानी दिन बाँकी छ । यो प्रक्रिया चलिरहने आयोजनाका इन्जिनियर बिदुर अधिकारीले जानकारी दिए ।

स्थानीयबासीहरुको भोगचलनमा रहेको करिव १२ सय ५० रोपनी जग्गा अधिग्रहण गरिएको छ । बाँकी जग्गा सरकारी हुनेछ । मुआब्जा निर्धारण समितिले स्थानीयहरुको जग्गाको प्रकृतिका आधारमा रोपनीको २ लाखदेखि ८ लाखसम्म मुआब्जा बितरण गरेको छ ।

मुआब्जा रकम लिएपछि स्थानीयले आयोजनाको ड्याम निर्माणको काम शुरु भएसँगै स्थानान्तरण हुनुपर्ने छ । ड्याम निर्माण गरिने क्षेत्रमा ३६ वटा घर गोठ परेका छन् । घर भने १५ वटा परेका छन् ।

करिव ५० अर्बको लगानीमा निर्माण गर्न लागिएको जलाशययुक्त आयोजना १४० मेगावाट क्षमताको हुनेछ । नेपालको एक मात्र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना मात्रै रहेको सन्दर्भमा अर्को जलाशययुक्त आयोजनाका रुपमा तनहुँ हाइड्रोलाई लिइएको छ ।

आयोजना निर्माणस्थलसम्म जान ड्याम र पावर हाउस जोड्ने २ किलोमिटर प्रवेश मार्ग पिच गरिएको छ । यस्तै सेती नदीमाथि पुल निर्माण, आवास र कार्यालय भवनका ३३ वटा युनिट निर्माण चरणमा छ । सुरूङको भौगर्भिक अवस्था जाँचका लागि ३ सय मिटर टनेल खनिएको छ ।

सेती नदीमा बनाइएको पुल ।

पावर हाउस र ड्याम साइटका लागि ठेक्काको तयारी

परामर्शदाता चयनमा निकै ठूलो लफडा झेलेको आयोजनाले पावर हाउस र ड्याम निर्माणका लागि टेण्डर गरिसकेको छ । पावर हाउस निर्माणका लागि चिनियाँ र इटालियन २ वटा कम्पनीहरुले टेण्डर हालेका छन् भने ड्याम निर्माणका लागि चिनियाँ, भारतीय र इटालियन ३ वटा कम्पनीहरुले टेण्डर हालेका छन् । ड्याम साइट निर्माणको टेण्डर हाल्ने कम्पनीहरुको प्राविधिक प्रस्ताव मूल्यांकन गरी लगानीकर्ता एडीबी र जाइकामा पठाइएको आयोजनाका इन्जिनियर विदुर अधिकारीले जानकारी दिए ।

यस्तै पावर हाउस निर्माणमा टेण्डर हालेका कम्पनीहरूको पनि प्राविधिक प्रस्ताव मूल्यांकन गरी पठाइँदैछ । प्राविधिक प्रस्ताव पास भएका कम्पनीहरूको मात्रै आर्थिक प्रस्ताव हेरिने इन्जिनियर अधिकारीले बताए ।

ट्रान्समिसन लाइन निर्माणको लागि भने पछि टेण्डर आह्वान गरिने छ । नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, एशियाली बिकास बैंक र युरोपियन लगानी बैंकको संयुक्त लगानीमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेड अन्तर्गत तनहुँ जलविद्युत आयोजना ‘माथिल्लो सेती’ निर्माण गर्न लागिएको हो ।

आयोजनाका लागि जापानी सहयोग नियोग जाइकाको १८.४ अर्ब, एसियाली विकास बैंकको १५ अर्ब, युरोपियन इन्भेस्टमेन्ट बैकको ८.५ अर्ब र नेपाल सरकारको झन्डै १० अर्ब लगानी रहने छ ।

कस्तो बन्छ आयोजना ?

सन् २०१७ को डिसेम्वरमा निर्माण शुरु गरी सन् २०२२ को डिसेम्वरसम्म निर्माण पूरा गरिसक्ने लक्ष्य राखिएको आयोजनाको पावर हाउस पूर्णरूपमा अण्डरग्राउण्ड हुनेछ ।

तनहुँ साविक ८ गाविसहरू काहुँ शिवपुर, भिमाद, छाङ, माझकोट, रिसिङ रानीपोखरी, कोटदरबार, जामुने, साभुङभगवती र व्यास नगरपालिकाका केही स्थानमा जलाशय रहने छ । जलाशयको लम्वाई करीव १८ किलोमिटर हुने छ । सुरूङ १२ सय मिटर लामो हुनेछ ।

आयोजनाले करिब ३८७.५३ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने छ सेतीको पानीमा सेतो चुनाको मात्रा बढी भएको हुँदा आयोजनाको जलाशययुक्त दह चाँडो भरिने अवस्थाको ख्याल गरी वर्षमा ४० दिन आयोजना बन्द गरिने छ । चुना सफा गर्नका लागि विषेश खालको प्रविधि अवलम्वन गर्न मिल्ने गरी संरचना निर्माण गरिने इन्जिनियर विदुर अधिकारीले जानकारी दिए ।

आयोजनामा १४० मिटर अग्लो कंक्रिट ग्राभिटी बाँध बनाइने छ, जसको उचाइ समुदि्रक सतहबाट ४१५ मिटर हुने र जलाशय ७.२६ वर्ग किलोमिटर क्षेत्रमा फैलने छ ।

२९ करोड ५१ लाख घनमिटर पानी, एउटा सतही इन्टेक र १९५ मिटर लामो पेनस्टक पाइपबाट फ्रान्सिस टर्बाइन र भूमिगत विद्युत गृह बनाउने योजना छ । आयोजनाबाट उत्पादित बिजुली ३९ किलोमिटर लामो र २२० केभी प्रसारण लाइनमार्फत भरतपुर सबस्टेसनमा पुर्‍याइने छ ।

आयोजनाबाट १५ हजार १२२ हेक्टर उत्पादनशील कृषि भूमि मुख्य रूपमा प्रभावित हुनेछ । नेपाल विद्युत् प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन विभागले तयार पारेको प्रतिवेदन अनुसार आयोजना निर्माणका कारण ४ सय २२.८९ हेक्टर वन क्षेत्रफल प्रभावित हुनेछ । सामाजिक, आर्थिक तथा साँस्कृतिक वातावरण अन्तर्गत विभिन्न संरचना निर्माणका लागि १ सय ७० हेक्टर खेतीयोग्य जमिन आवश्यक पर्नेछ । आयोजना निर्माणपछि वार्षिक करिब ६ सय ८९ मेटि्रक टन कृषि उत्पादन घट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment