+
+

आयल निगमको अनियमितताः झापामा २३ करोड पर्ने जग्गा ५३ करोडमा किनियो

विचौलिया र कर्मचारीको मिलेमतो

गौरव पोखरेल गौरव पोखरेल
२०७४ साउन १६ गते १५:२२
आयल निगमले किनेको जग्गा जलमग्न अवस्थामा ।

१६ साउन, झापा । नेपाल आयल निगमले प्रदेश नं. १ मा पेट्रोलियम भण्डारणका लागि झापामा जग्गा खरिद गर्दा कम्तिमा ३० करोड रुपैयाँ घोटाला गरेको भेटिएको छ । विचौलियासँगको मिलेमतोमा चलनचल्तीभन्दा दोब्बर मूल्यमा जग्गा किनेर घोटाला गरिएको हो ।

साबिक दुवागढी-४, हालको मेचीनगर नगरपालिका वडा नं. १३ मा आयल निगमले १९ बिघा १७ कठ्ठा १३ धुर जग्गा खरिद गरेको थियो । यहाँका खास जग्गाधनीले प्रतिकठ्ठा ५ लाखदेखि ६ लाख रुपैयाँसम्म पाएका छन् भने आयल निगमले प्रतिकठ्ठा साढे १३ लाख रुपैयाँको दरमा जग्गा किनेको छ । यसरी जग्गा खरिदमा २९ करोड ८२ लाख ३७ हजार ५ सय रुपैयाँ घोटाला भएको छ ।

जिल्ला मालपोत कार्यालय, झापाका सूचना अधिकारी दिपेन्द्र खत्रीले दिएको जानकारीअनुसार दुवागढीमा जम्मा १५ जनाबाट जग्गा खरिद भएको छ । आयल निगमले नेपाली सेनाका कर्णेल दिपककुमार कार्कीको कित्ता नं. ६० को १ बिघा १ कठ्ठा, कित्ता नंं. ५८ को १ बिघा १८ कठ्ठा र ५९ को १ बिघा १८ कठ्ठा, स्थानीय सीता विष्णुमाया कार्कीको कित्ता नं. ५६ को २ बिघा १२ कठ्ठा, चिरञ्जीवि मरासैनीको कित्ता नं. ११९८ को १० कठ्ठा, निरोजकुमार थपलियाको कित्ता नं. ७०६ र ७७६ को ३ बिघा १० कठ्ठा, भीमादेवी मरासैनीको कित्ता नं. ११९९ को १० कठ्ठा, कमलमाया बस्नेतको कित्ता नं. ६४३ को ५ कठ्ठा र अनिलकुमार कार्की क्षेत्रीको कित्ता नं. ७९६ को १ बिघा जग्गा खरिद गरेको छ ।

त्यस्तै, स्थानीय भानु मरासैनीको कित्ता नं. १०३९ र १०४१ को १० कठ्ठा, नमिका कार्कीको कित्ता नं. ३०६ को १ बिघा १२ कठ्ठा १० धुर, छत्रबहादुर कार्कीको कित्ता नं. ५७ को १ विघा १८ कठ्ठा, राम मैनालीको कित्ता नं. ७०९ को १० कठ्ठा, रमेश गौतमको कित्ता नंं. ७७० को १० कठ्ठा, गोमाकुमारी बस्नेतको कित्ता नं. ७७५ को १ बिघा, नारायण मरासैनीको कित्ता नं. १०४० को १० कठ्ठा र विष्णु कार्कीको ३ कठ्ठा ३ धुर जग्गा किनेको छ ।

यी जग्गाका जग्गाधनीले ५ लाखदेखि ६ लाख रुपैयाँ प्रति कठ्ठासम्म पाएको बताएका छन् । ६ लाख रुपैयाँलाई आधार मान्दा पनि स्थानीय जग्गाधनीले जम्मा २३ करोड ८५ लाख ९० हजार रुपैयाँ पाएको देखिन्छ । तर, आयल निगमले जग्गा पास गर्दा प्रतिकठ्ठा साढे १३ लाखमा कारोबार गरेकने छ । र, साढे १३ लाख रुपैयाँको दरले निगमले ५३ करोड ६८ लाख २७ हजार ५ सय रुपैयाँमा १९ विघा १७ कठ्ठा १३ धुर जग्गा खरिद गरेको छ ।

स्थानीय जग्गा धनीले पाएको रकम र निगमले तिरेको रकममा झण्डै ३० करोड रुपैयाँ अन्तर देखिएको छ । त्यो रकम आयल निगमका कर्मचारी र बिचौलियको मिलेमतोमा ‘झ्वाम’ पारिएको हो ।

यसरी गरियो घोटाला

नेपाल आयल निगमले २०७२ साल पुस ५ गते प्रदेश नं. १ अन्तरगत झापा जिल्लामा डिपो निर्माण गर्नका लागि करिब २० विघा जग्गा चाहिएको भन्दै बोलपत्र आह्वान गर्‍यो ।

आयल निगमको दुवागढीस्थित कार्यालय ।

बोलपत्रमा झापाको नेपाल-भारत सीमा काँकडभिट्टाबाट ५ किलोमिटर पूर्वदेखि चारआली चोकसम्म र चारआली चोकबाट उत्तरमा इलाम जाने राजमार्गको ३ किलोमिटर, दक्षिणमा भद्रपुर जाने राजमार्गको ३ किलोमिटर र पश्चिममा बिर्तामोड जाने राजमार्गको ३ किलोमिटरभित्र जग्गा हुनुपर्ने उल्लेख थियो । जग्गा भएको क्षेत्र नजिक पेट्रोलियम उर्जाबाट सञ्चालन हुने उद्योग, रोलिङ मिल, बाक्लो बस्ती, सार्वजनिक पाटी, पौवा आदि नभएको हुनु पर्ने पनि उल्लेख छ ।

साथै, राजमार्गमा सटेको वा राजमार्गबाट दुई किलोमिटरभित्र दोहोरो भारी मालवाहक सवारी साधन चल्न सक्ने सार्वजनिक सहायक मार्ग भएको ठाउँको जग्गा हुनुपर्ने निगमको सर्त थियो ।

टेन्डर आह्वान भएसँगै यहाँ विभिन्न ठाउँका दलालहरु सक्रिय भए । स्थानीय वासिन्दाका अनुसार टेन्डर सार्वजनिक भए लगत्तै त्यस क्षेत्रमा नयाँ मान्छेहरुको सल्बलाहट ह्वात्तै बढेको थियो ।

त्यसपछि आयल निगमकै मिलेमतोमा सेटिङ मिलाएर स्थानीयबाट ५ लाखदेखि ६ लाख प्रति कठ्ठासम्मको भाउमा जग्गा खरिद गरियो । तर, जग्गा धनीलाई त्यस विषयमा ‘चुप’ बस्न भनियो । त्यस वापत उनीहरुलाई पनि केही रकम बाँडिएको स्रोत बताउँछ । त्यसपछि निगमले साढे १३ लाख प्रति कठ्ठामा जग्गा पास गर्‍यो ।

अहिले तैँ चुप मै चुप !

आयल निगमले पेट्रोलियम भण्डारणका लागि झापा, चितवन, भैरहवा र सर्लाहीमा १ अर्ब ६१ करोड खर्चिएर जग्गा खरिद गर्दा अनियमितता भएको बाहिरिएसँगै आयल निगमका कर्मचारी र जग्गाधनी तैँ चुप, मैँ चुप भएका छन् । अधिकांश जग्गाधनी स्थानीय ठाउँमा भेटिदैनन् ।

अनलाइनखबरकर्मी स्थलगत रिपोर्टिङमा पटक-पटक धाउँदा एकजना जग्गा धनी भेटिए । तर, आफूले पाएको रकम बताउन चाहेनन् । यद्यपि, स्थानीय स्रोतबाट जग्गाधनीले पाएको रकमबारे जानकारी प्राप्त भयो ।

आइतबार चारआलीमा रहेको नेपाल आयल निगमको शाखामा पुग्दा कार्यालय प्रमुख सनम कार्की भेटिए । तर, उनले जग्गा खरिदको बारेमा अनविज्ञता जनाए ।

‘कतिमा किनियो, के भयो, हामीलाई केही थाहा छैन’, कार्कीले भने, ‘सबै कुरा केन्द्रबाटै मिलेर आएको हो ।’ उनले आफूले अहिलेसम्म निगमले खरिद गरेको जग्गा नहेरेकोसम्म भन्न भ्याए । यद्यपि, जग्गा पास गर्नलाई आयल निगमका प्रवन्धक पुष्कर कार्की झापा आएको बेला आफ्नै क्वाटरमा बसेको कुरा उनले खुस्काए ।

‘उहाँसँग मेरो व्यक्तिगत सम्बन्ध पनि छ’, उनले दाबी गरे, ‘तर, जग्गाको बारेमा केही कुरा भएन ।’

तर, अनलाइनखबरको विश्वस्त स्रोतका अनुसार उनी जग्गा धनीपूर्जा सङ्कलन गर्ने काममा आफैं खटिएका थिए । कार्की पनि यो घोटाला प्रकरणमा सम्लग्न भएकाले उनले यो विषयबारे मुख नखोलेको स्थानीयको दाबी छ ।

आयल निगमले दुवागढीमा किनेको जग्गाको बीचमा भएको भौडी ।

गहिरो ठाउँमा जग्गा, बर्खामा बग्छ भल

आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको खुलेपछि स्थलगत रिपोर्टिङमा पुग्दा खरिद भएको जग्गा गहिरो ठाउँमा रहेको भेटियो । त्यहाँ संरचना निर्माण गर्नुअघि प्रशस्त माटो हालेर पुर्नु पर्ने देखिन्छ ।

छेउछाउमा केही घरहरु छन् । आयल निगमले किनेको जग्गा छेउ घर भएका राम राजवंशीले आयल निगमले केको लागि जग्गा खरिद गरको हो आफूहरुलाई थाहा नभएको बताए । बरु, उनले उल्टै पेट्रोलियम पदार्थ भन्डारण गर्दा असर गर्छ कि गर्दैन भनेर हामीलाई सोधे ।

आयल निगमले किनेको जग्गाको बीचमा पैनी छ । वर्षाको समयमा पानी जमेर भल बग्ने गरेको पनि भेटिएको छ ।

यो पनि पढ्नुहोस् 

रोहिणीखोलामा आयल निगमको २० करोड डुब्यो, ‘अख्तियारका सम्धी’लाई कसले समाउने ?

पेट्रोलको गन्धले ‘नपुंशक भइएला’ भन्दै ३३ करोड घोटाला

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?