+
+
Shares

देउवासामू चुनौतीका पहाडः कि गर या छाड

पुरञ्जन आचार्य पुरञ्जन आचार्य
२०७४ साउन २० गते ११:४८

गत ४ साउनमा कोइराला परिवारका तीन नेताले एकै ठाउँ भेला भएर अब पार्टीको नेतृत्व जिम्मा लिन आफूहरू तयार भएको सन्देश दिए । कांग्रेसमा नेता हुन या त ‘हाइरार्की’ या ‘डाइनास्टी’बाट आउनु पर्छ । कांग्रेसको डाइनास्टी भनेको कोइराला परिवार नै हो । शेखर, सुजाता र सशांक कोइरालाले ‘हाइरार्की’बाट काम हुन नसकेकाले डाइनास्टीमै जानुपर्ने सन्देश दिएका छन् ।

कांग्रेसको लामो यात्राको कोणबाट हेर्दा सभापति शेरबहादुर देउवाका सामुन्ने चुनौतीको पहाड खडा भएको छ । उनलाई दबाव दिने पार्टीभित्रको प्रतिपक्ष एकदमै कमजोर छ, अहिले । वैचारिक र संगठनात्मक रूपमा पनि रामचन्द्र पौडेल बलिया देखिँदैनन् । उनी कहिल्यै गुटका नेता होइनन्, आफ्नो गुट नै बनाउन सकेनन् । स्वर्गीय सुशील कोइरालाको बनिबनाउ गुटको बहुमतले पौडेललाई मानिरहेको छैन । कोइराला परिवारले पनि उनलाई पूर्ण सहयोग गर्न कन्जुस्याईं गरिरहेको छ । कोइराला परिवार आफैं कांग्रेसको नेता हुने परिवार हो । त्यही अभ्यासमा देखिन्छ, अहिले । कोइराला परिवारका तीन नेताले दिएजस्तो सन्देश अरु कुनै कांग्रेस नेताहरूले दिन सक्दैनन् ।

अब देउवाले वीपी कोइरालालाई साक्षी राख्नु पर्नेछ । ८०/८५ वर्षमा पनि गिरिजाप्रसाद कोइरालाको क्रियाशीलतालाई कांग्रेसजनले देखेका छन्, देउवाबाट त्यही अपेक्षा गरेका छन्, जुन उनीबाट भइरहेको छैन । कृष्णप्रसाद भट्टराईको जस्तो वाकपटुता पनि देउवामा छैन । उनले बोकेको पार्टीको विरासत बीपी, गणेशमान, भट्टराई र गिरिजाप्रसादको क्रियाशीलताको परिचायक हो । ती सबै नेता ८० वर्षसम्म सक्रिय थिए । बुढो भएँ भनेर देउवाले सुख पाउँदैनन्, उनले गर्नै पर्छ या छाड्नै पर्छ । उनीसँग विकल्प छैन । अब कांग्रेस हाइरार्कीमा नभई डाइनेस्टीमा जाने संकेत कांग्रेसजनले पाएका छन् । हाइरार्कीमा गएर रामचन्द्रलाई छान्नका लागि त कांग्रेसीहरूसँग धेरै ठूलो छाति हुनु पर्छ । त्यसभन्दा ठूलो छाति उनी आफ्नै हुनु पर्छ । अरु नेताले पनि देउवालाई बलियो प्रतिपक्षको आभास दिन सकिरहेका छैनन् ।

वीपीको विरासत

कांग्रेसको वर्तमान अवस्था केलाउन उसले इतिहासका विभिन्न कालखण्डमा गरेका भुल र त्यसबेलाको नेतृत्वबारे विश्लेषण गर्नुपर्छ ।कांग्रेसको निर्माण जहानियाँ शासनको विरुद्धमा भएको हो । राणा शासनको विकल्पमा संवैधानिक राजतन्त्र र संसारमा चलेको संसदीय शासन प्रणाली कांग्रेसले अगाडि सार्‍यो। त्यो नेपालको ऐतिहासिक मोड थियो । नेपालबाट वंशसत्ताको समाप्ति हुँदै थियो, आम जनताको मताधिकारका आधारमा शासक छान्ने सूत्र बीपीले स्थापित गराए । राणा शासनविरुद्धको आन्दोलनको नायकका रूपमा उनी स्थापित भए ।

‘हाइरार्की’बाट काम हुन नसकेकाले ‘डाइनास्टी’बाटै अगाडि बढ्नुपर्ने सन्देश आएको छ, कोइराला परिवारका तीन नेताबाट

कांग्रेसले मध्यमवर्गीय सचेत समुदायको साथ पाएर जहानियाँ शासनविरुद्ध क्रान्ति गर्‍यो । त्यसको मुल आदर्श संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र हो । नेपालको भूराजनीति, जनसंख्या र चेतनाका कारण राजतन्त्रलाई सँगै लिएर जान पनि उनी बाध्य थिए । तथापि, वीपीले राजतन्त्रलाई रणनीतिक हिसाबबाट जोगाउनु पर्छ भनेका थिए, जुन उनको सिद्धान्त थिएन ।

२०१५ सालको आम निर्वाचनमा कांग्रेसले दुई तिहाई ल्यायो । राजनीतिक सिद्धान्तलाई व्यवहारमा उतार्नका लागि बीपी कोइरालाले आर्थिक कार्यक्रम अगाडि सारे । पहिले आर्थिक वृद्धि गर्नु पर्छ भनेका थिए उनले । त्यसपछि मात्र बाँड्न सकिने उनको ठम्याइ थियो । त्यसैले उनको समाजवाद वितरण नभई उत्पादनमुखी थियो ।

उनको जीवनको निष्कर्ष नेपालको विकास नेपाली आफैंले गर्ने हो, विदेशी सहयोगबाट सम्भव छैन भन्ने हो । दाताको सहयोगमा हुने विकासले भुइँफुट्टा वर्गको उदय हुने तर, समग्र नेपालको विकास नहुने उनको निक्र्योल थियो । नेपालको सत्तामा कम्युनिस्टको प्रवेश भएको विषयलाई उनले ‘अडिटवाद’को रूपमा व्याख्या गरे, जुन इन्डोनेसियाका सुकार्नोले अनुसरण गरेका थिए ।

२०३९ सालसम्म जनतासामु राजतन्त्रको विकल्पका रूपमा कांग्रेस थियो । त्यसपछि पनि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेस स्वाभाविक विकल्प बनिरह्यो । जनतामा कुनै बेला कांग्रेस सत्तामा पुग्ने र मुलुकलाई कायापलट गर्ने आशा कायम थियो । त्यो संघर्ष ३० वर्ष चल्यो, २६ चैत ०४६ मा परिवर्तन पनि आयो । भारतमा राष्ट्रिय कंग्रेसले चलाएकोजस्तै एकछत्र शासन चलाउन सक्ने अवस्थामा कांग्रेस पुग्यो । त्यस्तो शासन भने जनताले अनुभुति गर्नै पाएनन् ।

भागबण्डाको भुमरी

०४६ सालको आन्दोलन तत्कालीन संयुक्त वाममोर्चासँग समीकरणका कारण सम्भव भएको थियो । ०४६ सालअघि राजतन्त्रको विकल्पमा कांग्रेस मात्र देखिएको थियो । त्यसपछि भने त्यसको अंशियारको रूपमा तत्कालीन वाममोर्चा अर्थात् कम्युनिस्टहरू उदाए । त्यसविन्दुमा नेपालको राजनीति ‘ट्विस्ट एन्ड टर्न’ भयो । र, त्यसलाई लालमोहर लाग्यो, ०४७ सालको संविधान निर्माणका क्रममा । राजनीतिमा भागबण्डाको सुरुवात पनि त्यही विन्दुमा हुन पुग्यो । उक्त आन्दोलनको नेतृत्व कांग्रेसले गरे पनि तत्कालीन माले, मार्क्सवादलगायत वाम घटकहरूको पनि उत्तिकै सहभागिता रह्यो । सोही कारण ०१५ सालमा चार सिटमा खुम्चिएको वामपन्थी शक्ति एकै पटक कांग्रेसको समानान्तर भएर उदायो । र, अहिले त कांग्रेसभन्दा ठूलो भएर बसेको छ ।

२०४७ सालको संविधान निर्माणका क्रममा लालमोहर लागेको भागबण्डाको राजनीतिले कांग्रेसलाई मात्र होइन, मुलुकलाई नै आक्रान्त बनाएको छ

राजा, कांग्रेस र कम्युनिस्टहरूका बीचमा भागबण्डा भएर संविधान मस्यौदा समिति गठन भयो । आन्दोलनपछि गठन हुने सरकारमा तिनै दलहरूले सामेल हुन्छन्, जसले आन्दोलनमा बराबरी भाग लिन्छन् । अन्तरिम सरकारमा कांग्रेस र कम्युनिस्ट साथमा रहे । त्यही भागबण्डाको राजनीति अहिले केन्द्रदेखि गाउँसम्म पुगेको छ । शैक्षिक संस्थाहरू पनि त्यसबाट अछुतो छैनन् ।

कांग्रेसले नेपालका कम्युनिस्टहरूलाई त्यस्तो बेलामा पिठ्युँमा बोकेको थियो, जतिबेला संसारभर कम्युनिस्टका किल्ला ढल्दै थिए । बर्लिनको पर्खाल ढलेको थियो र सोभियत संघ विघटनको दिशामा थियो । संसारमा पूँजीवाद, लोकतन्त्र र संसदीय अभ्यासको जगजगी थियो । संसारबाटै पराजित, हारिरहेको र टुक्रिइरहेको कम्युनिस्ट दर्शन नेपालमा भने वैकल्पिक अझ समानान्तर शक्ति भएर उदाएको थियो । त्यो कुरा ०५१ सालमा आएर पुष्टि भयो, एमाले कांग्रेसभन्दा ठूलो दलका रूपमा राजनीतिक रजतपटमा स्थापित भयो ।

नेपालको सामाजिक ढाँचाअनुसार कम्युनिस्टका लागि यहाँ धेरै ठूलो उर्बर भूमि थिएन । भूराजनीति, सामाजिक र सांस्कृतिक पक्षअनुसार त्यो अनौठो विकास क्रम थियो । यद्यपि, ००७ सालको क्रान्ति नभएको भए कांग्रेसको उदय हुने थिएन, ०४६ सालको परिवर्तनमा बराबरीको हिस्सेदार भएकाले वामशक्तिको उभार पनि सहज बन्यो ।

पुरञ्जन आचार्य

संविधान मस्यौदा समितिको बनोटले नै भागबण्डाको राजनीति सिकाइसकेको थियो । राजनीतिक दलहरू यति लामो समय प्रतिपक्षमा बसेका थिए कि भागबण्डाका कारण सत्तासुख भोग गर्न पाइने लोभमा ती सबै यसका पछाडि लागे । नेपालको राजनीतिमा यही विन्दुबाट ‘प्याराडाइम सिफ्ट’ आयो र दुर्भाग्यका दिन पनि सुरू भए । बलियो प्रतिपक्ष बनेर बस्न कोही तयार भएन त्यसपछि । जनताले पत्याए पनि नपत्याए पनि विपक्षमा होइन, सत्तामा पुग्न लालायित देखिए । त्यसको औपचारिक सुरुवात ०५१ सालदेखि भयो ।

कांग्रेस र एमाले एकअर्काका विकल्प बनेर खडा भए । उनीहरू सामु कब्जा गर्नका लागि पार्टी मात्र थिएन, राज्यका विभिन्न अंग र स्रोत पनि थिए । त्यसको केन्द्रमा पैसा देखियो । पार्टीहरू भित्र गुटको राजनीतिले प्रवेश पाउनुको मुख्य कारण नेता नबनी राज्यको स्रोतमा कब्जा जमाउन नपाइने मनोविज्ञान थियो । त्यस विन्दुमा आइपुग्दा जनता भोट दिने मेसिन मात्र भए । कांग्रेस र एमालेका लागि आपसी विकल्प तयार भयो तर, जनता विकल्पहीन देखिए । कि कांग्रेस छान्नु पर्‍यो या एमाले । पार्टीभित्र पनि विभिन्न गुटहरू खडा भए । पार्टी कार्यकर्तालाई गुटहरू विकल्प बने । जनताले भने कांग्रेस र एमालेका उम्मेदवारको विकल्प पाउन सकेनन् । भागबण्डाको चक्रव्युहमा देशको राजनीति नै फस्न पुग्यो ।

यस्तो राजनीतिले संस्थागत रूप पाइसकेको छ । पछिल्लो मन्त्रिपरिषद् विस्तार त्यसैको उदाहरण हो । प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका मन्त्री बनाउन रामचन्द्रको गुट तथा कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काका उपगुटसँग नाम मागे । यी सबै नलुकाई भएका छन् ।
गुटको राजनीतिले नेताहरूलाई फाइदा भयो, मुलुकलाई भने घाटा । आम जनता निरास छन् । राज्यको स्रोत तान्ने ठाउँमा आफ्नो मान्छे पु¥याउँदा मात्र नेतागिरि चल्ने भयो । कर्मचारी र प्रहरी प्रशासनमा पनि आफ्ना मान्छेलाई पदोन्नती गर्ने कुरामा यस्तै गुटगत राजनीति छ । विश्वविद्यालयहरूमा उपकूलपति नियुक्ति गर्नमा मात्र सीमित छैन, क्याम्पस प्रमुख नियुक्तिसम्ममा झरेको छ ।

जनताले पार्टीलाई हराउँदा पनि पार्टी मात्र हार्‍यो , नेता हारेनन् । गिरिजाप्रसादले दुई तिहाई ल्याउँछु भनेर मध्यावधि निर्वाचन गराए, पार्टी दोस्रो स्थानमा झ¥यो । तर, उनले राजनीति छाडेनन् । सीमित नै सही प्रजातान्त्रिक अभ्यास भइरहेकै छ, नेताहरूको प्रजातान्त्रिक अभ्यास भने नेपालमा हुन सकेन । हार्दा पनि तिनै व्यक्तिहरू नेता रहे । उदाहरणका रूपमा वीपी कोइरालालाई पनि लिन सकिन्छ । ०३६ सालमा उनले जनमत संग्रहको परिणाम स्वीकारे । हारेपछि त उनले राजनीति छाड्नु पथ्र्यो नि । तर, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सकेनन् । पहिलो त उनले प्रजातन्त्रको विश्वव्यापी मूल्यलाई जनमत संग्रहमा लिएर गए । यदि वीपीले प्रजातन्त्र हुनु पर्छ कि पर्दैन भनेर जनमत संग्रहमा जान हुन्छ भने अहिले हिन्दु राष्ट्र हुनु पर्छ कि पर्दैन भनेर जनमत संग्रहमा जान कांग्रेस किन हिच्किचाउने ?

२००४ सालयताको यात्रा क्रममा कांग्रेसले मुलभूत कुरामा यस्ता धेरै त्रुटी गरेको छ । कांग्रेसमा नेतालाई महामानव (भगवान) बनाइदिने प्रवृत्ति छ । भगवानले गल्ती गर्दैन भन्ने मान्यता छ । नेताहरूले सबै राम्रा काम मात्र गरेका छैनन्, कैयन ठूला गल्ती पनि गरेका छन् । वीपीले आफ्ना केही त्यस्ता त्रुटीहरूबारे आफैंले बोलेका छन् । त्यो ठीक थियो कि थिएन भन्ने इतिहासले व्याख्या गर्ला । अहिलेका कांग्रेस नेता/कार्यकर्ता त त्यति पनि गर्दैनन् ।

सत्तामुखी कांग्रेस

कम्युनिस्टहरूले सत्तामा बसेर राज्य कब्जा गर्दैछन् भन्ने बीपीको मानसिकता रोगकै रूपमा कांग्रेसजनमा बसेको छ । जुनसुकै मूल्य र मान्यता त्यागेर पनि सत्तामा बस्नु पर्छ नत्र कम्युनिस्टले कब्जा गर्छ भन्ने रोग दिमागमा लागेको छ । लामो संघर्षका दौरान थाकेको र अवसर नपाएको, अवसर पाउँदा पनि आफ्नो प्रतिस्पर्धीका रूपमा एमाले अगाडि आएको पृष्ठभूमि छ । त्यही कारण पुराना पञ्च र कम्युनिस्ट जोसँग मिलेर पनि सत्तामा पुगी त्यसको रसास्वादन गर्ने र सबैसँग सम्झौता गर्ने प्रवृत्ति कांग्रेसमा मौलायो । हलो जोत्ने किसानको विकास नै मुलुकको विकास हो र पुर्पुरोमा लेखेर होइन, जननिर्वाचित भएर सत्ता सञ्चालन गर्न पाइने विगतको मान्यता खण्डित हुँदै आएको छ । कांग्रेसले समाजवादलाई पनि त्याग्यो । मुलुकका मुलभूत एजेन्डा छाड्दै गएर सत्ताका लागि जे पनि गर्‍यो। तर, जनताका लागि विकल्प दिन सकेन ।

यही सेरोफेरोमा विश्वमा स्थापित र पुरानाबाट मात्र होइन, नयाँ शक्तिहरूले पनि नयाँ ढंगको राजनीतिक विकास गर्न सक्छन् भनेर एउटा आन्दोलन चल्यो । कांग्रेस र एमालेको सत्ताको लुछाचुँडी र भागबण्डाले नेपालमा अनौठो हिसाबले माओवादीका रूपमा नयाँ शक्तिको उदय भयो । जनताले पनि त्यसलाई विकल्पका रूपमा बुझे । राजतन्त्रदेखि निजामति, प्रहरी, सेना सबैले यी दुई दलको चरित्रबाट आजित भएर माओवादीलाई कुनै न कुनै किसिमले सहयोग पुर्‍याए। त्यो निरासाको अभिव्यक्ति थियो । माओवादीको सशस्त्र द्वन्द्वका समयमा ती सबैले माओवादीलाई सहयोग गरिरहेको कुरा सत्यभन्दा टाढा थिएन ।

माओवादीले त्यही बेला विश्वव्यापी रूपमा बिकिरहेको पहिचानको एजेन्डा उठायो । मगरात, लिम्बुवान, थरूहटजस्ता पहिचानका मुद्दा अगाडि सार्‍यो । संसारले प्रजातन्त्रको नयाँ ढाँचाका रूपमा पहिचानको मुद्दालाई अगाडि सारेको थियो । अब प्रजातन्त्रले मात्र नपुग्ने भयो, त्यो समावेशी पनि हुनुपर्ने भयो । समावेशी नेपालको नारा दिएर जातीय हिसाबले मुलुकलाई विभाजनको बाटोमा लिएर गयो, माओवादीले । वर्गीय हिसाबले पनि दलित, अल्पसंख्यकको मुद्दा उठायो । कांग्रेस र एमालेको संसदीय अभ्यास र उदारवादी अर्थव्यवस्थामा गाउँ छुटेको थियो । किसान छुटेका थिए, उद्योगधन्दा तहसनहस भएका थिए ।

त्यस निरासाजनक अवस्थालाई माओवादीलाई शासन सत्ता काठमाडौं केन्द्रित भएको बताउँदै नयाँ संविधान बनाउने उपायमै जनता सहभागी हुनु पर्ने एजेन्डा जबर्जस्त हिसाबले स्थापित गरायो । त्यत्रो संघर्ष गरेर ल्याएको ०४७ सालको संविधानले नेपाललाई दिशा निर्देश गर्न सकेन र एक पटक पनि संशोधन नभई असफल हुन पुग्यो । त्यसबाट माओवादी जबर्जस्ती आशाको केन्द्र बनेर झुल्कियो ।

२०४७ सालपछि सत्तामा पुग्दा कांग्रेसले सबैभन्दा पहिले आफ्नो चरित्र छाडिदियो । बीपी कोइराला र आफ्नै इतिहासले निर्माण गरेको समाजवाद छाडिदियो । पूर्ण रूपमा पूँजीवादी र उदारवादी व्यवस्थामा गयो । किसान बिर्सियो, सुकिलामुकिलाहरूले पार्टी कब्जा गरे । स्वाभाविकै हो, अंशबण्डामा फाइदा लिने टाठाबाठा मात्र हुन्छन् ।

माओवादीको विकासका लागि कांग्रेसको चारित्रिक पतनले सबैभन्दा ठूलो भुमिका निर्वाह गरेको देखिन्छ । त्यसैले कांग्रेसले अख्तियार गरेको आर्थिक नीति मात्र माओवादीको उदयको कारण थिएन । वीपीले कांग्रेस स्वाभिमानी हुन्छ भन्थे । तर, गुटगत राजनीतिका कारण स्वाभिमानी कांग्रेसीहरू पाखा लागे, जसले समाज र कांग्रेसबीच सेतुको काम गर्दै आएका थिए । चैते कांग्रेसहरूको बिगबिगीसँगै वास्तविक कांग्रेसको जरा काटियो । कांग्रेसलाई धेरै समर्थक त चाहिएको थियो तर, इमानदार र उच्च नैतिक चरित्र भएका व्यक्तिहरूलाई पाखा लगाउने गरी चाहिएको थिएन ।

गुटगत राजनीतिका कारण जुन कांग्रेसीले अवसर पाएका थिए, उनीहरूले आँखा सामुन्ने आफूजस्तै मानिस पाखा लागिरहेको देखे । भोलि आफू पनि त्यसरी नै पाखा लाग्नु पर्‍यो भने राजनीतिक भविष्य त खतरामा छ नै, आर्थिक भविष्य पनि रुग्ण हुने देखे । र, विगतमा निष्ठाका साथ कांग्रेसमा लागेका नेताहरू पनि भ्रष्ट बन्दै गए । धेरै कांग्रेसीहरूसँग अन्तक्र्रियाबाट पंक्तिकारले पाएको निचोड हो यो । त्यति लामो संघर्षबाट आएका नेताहरू भ्रष्ट हुनुको पछाडि उनीहरूले महशुस गर्ने असुरक्षा मुल कारण रहेछ ।

शीर्ष स्थानमा रहेका नेताहरूले देशको विकाससँगै आफूहरूको पनि विकास हुने कुरा बुझाउन सकेनन् । सिंगापुर र चीनमा जस्तो मुलुकसँगै जनताको पनि विकास भएको उदाहरणलाई मातहतका नेता÷कार्यकर्तामा निसृत गर्न सकेनन् । सोही कारण एउटा गुटले अर्कोलाई सिध्याउने खेलहरू हुन थाले । र, अवसर पाउँदा भ्रष्ट पनि भए । रामहरि जोशी र भीमबहादुर तामाङजस्तो भ्रष्ट हुन नचाहेका नेताहरूको पार्टीमा पनि पहुँच हुन सकेन । अवसर पाएर पनि नैतिकवान रहन चाहेका नेताहरूको संरक्षण नेतृत्वले पनि गर्न सकेन ।

यही परिदृष्यमा माओवादी शान्ति प्रक्रियामार्फत् कांग्रेस र एमालेको विकल्पका रूपमा खडा भयो । समानुपातिक निर्वाचनमा प्रणालीमा नगएको भए त ०६४ को संविधानसभा निर्वाचनमा बहुमत नै ल्याएको थियो । कांग्रेस र एमालेकै मतदाताले माओवादीलाई भोट दिएका थिए । तथापि, कांग्रेस र एमालेका नेता नैतिक रूपले पतन हुन केही दशक लागेको थियो । भीर, पाखा र जंगलबाट शहर पसेका माओवादीहरू पतन हुन ६ महिना पनि लागेन । त्यस विन्दुमा अर्को ठूलो निरासाको छाल आयो, नेपालमा । पहिलो संविधानसभापछि शासन सत्ताको बागडोर सम्हालेका पुष्पकमल दाहालको शैलीबाट माओवादी त झनै लुटेराहरूको पार्टी रहेछ भन्ने भावना जनतामा पैदा हुन गयो ।

पछिल्लो निर्वाचनमा माओवादीले आफ्नो शक्ति पुनः प्राप्त गर्न नसक्नुको कारण पनि त्यही हो । माओवादीको लुटतन्त्र ताजै छ, फुट पनि उत्तिकै छ र नेतृत्वको असक्षमता पनि त्यत्तिकै छ । फेरि कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेसको उही चक्रमा मुलुक फर्किएको छ ।

विकल्प राष्ट्रिय सरकारको गठन हो, जसले भविष्यका २५ वर्षको खाका तयार पारेर संसदबाट संकल्प प्रस्ताव पारित गर्दै अगाडि बढ्नु पर्छ

२०५१ सालको निर्वाचनमा दोस्रो बनेको कांग्रेस ०५६ मा पहिलो हुनुमा कृष्णप्रसाद भट्टराईको अनुहार र व्यक्तित्व कारक थियो । कांग्रेसका कारणले धेरै विकृति र विसंगति भित्र्याएको स्वीकारोक्ति पनि थियो । र, छाता र सुराही बोकेर हिँड्ने सन्त नेतामार्फत् अब सुध्रिने सन्देश दिन खोजेको थियो, कांग्रेसले । ०४८ सालमा १ सय १० सिट जितेको कांग्रेसले ०५१ मा ५२ सिट मात्र जित्यो । ०५६ मा भने १ सय १४ सिटका साथ कांग्रेस जबर्जस्त ‘बाउन्स ब्याक’ गर्‍यो  । भट्टराईलाई देखाएर कांग्रेसले जनतालाई देखाएको आशा लामो समय टिकेन । पार्टीभित्रको भागबण्डा, किचलो र गुटगत राजनीतिका कारण भट्टराईले नै राजीनामा दिँदा ‘यो मुलुकलाई सतीले सरापेको हो’ भन्नुपर्ने अवस्था सिर्जना भयो । फेरि कांग्रेससँगको सबै आशा चकनाचुर भयो । त्यतिबेला टुक्रिएको आशा पुनर्जागृत गराउन सुशील कोइरालाले मात्र प्रयास गरे । पहिलो संविधानसभामा कांग्रेस नराम्रोसँग हारेको थियो । गिरिजाप्रसाद कोइरालाको निधनपछिको दोस्रो संविधानसभा निर्वाचनमा फेरि कांग्रेस ठूलो दल भएर आयो ।

जोगी, सन्त, त्यागी र निष्ठावान नेताको छविका कारण सुशील कोइराला पार्टीलाई पहिलो बनाउन सफल भए । संविधान जारी हुने, शान्ति प्रक्रिया टुंगिने र देश विकासको बाटोमा अगाडि बढ्ने आशा जगाउन सफल रहे उनी । पहिलो संविधानसभामा ३/४ जना युवा कम्युनिस्ट नेताले पनि संविधान जारी गर्न नसकेपछि वृद्धको नेतृत्वप्रति नेपाली जनता लालायित देखिए । विकल्प फेरि कांग्रेस भयो । संविधान जारी गरेपछि ह्वात्तै माथि उठेको सुशील कोइरालाको व्यक्तित्व केपी ओलीविरुद्ध प्रधानमन्त्रीको उम्मेदवार बनेर आफैंले रसातलमा पु¥याए । फेरि कांग्रेसको पतन शुरु भयो । त्यही विन्दुमा आएर कांग्रेसलाई भारतपरस्त पार्टीको ‘ट्याग’ लाग्यो । जबकि, हत्तपत्त नझुक्ने छविका कारण सुशीललाई भारतले औपचारिक भ्रमणमा समेत बोलाएको थिएन । त्यही स्वभावले भारतको रोक्ने प्रयासका बावजुद संविधान जारी गराउन सफल भएका थिए ।

उनी प्रधानमन्त्री उम्मेदवार बनेका कारण ओरालो लागेको कांग्रेसको छवि आजपर्यन्त उठेको छैन । स्थानीय तहको निर्वाचनमा सुशीलको नेतृत्वमा संविधान जारी भएको मुद्दा उठाउन सकेन, कांग्रेसले । उनको अवसानपछि कांग्रेसको राजनीतिमा शेरबहादर देउवाको एकछत्र उदय भयो । यतिको शक्तिशाली उदय कांग्रेसमा गिरिप्रसाद कोइरालाको पनि भएको थिएन । कोइराला परिवार पूर्ण रूपमा कमजोर भएको र रामचन्द्र पौडेलले प्रभाव पार्न नसकिरहेको अवस्थामा देउवाका लागि चुनौती नै नरहेको प्रतित हुन्छ ।

चुनाव गराउन नसकेको, प्रजातन्त्रलाई जोगाउन नसकेको र कांग्रेसलाई जोगाउन नसकेको पृष्ठभुमिमा देउवाले आफ्नो छवि माथि उठाउन सक्नु पथ्र्यो । तर, राजदूत नियुक्ति, आईजीपी छनोट, महाभियोगलगायत मुद्दामा कांग्रेस चुक्यो । भारतीय नाकाबन्दीले एमालेको राष्ट्रवादको उभारलाई पनि मलजल गर्‍यो  । देउवाले आफ्नो प्रस्तुती, शैलीमा जुन किसिमको छवि अगाडि ल्याउन सक्नु पथ्र्यो, त्यसो गर्न सकेको देखिएन । सचिवालयको प्रभावकारितादेखि मन्त्री छनोट गर्ने शैलीमा पनि उनी खरो उत्रिन सकेनन् । आम जनताको अपेक्षा उनले पूरा गर्न सकिरहेका छैनन् ।

यही पृष्ठभूमिमा स्थानीय तहको निर्वाचन भयो । पहिलो र दोस्रो दुवै चरणमा कांग्रेस दोस्रो दल हुन पुगेको छ । तेस्रो चरणमा एक सिट भए पनि धेरै जित्नुपर्ने कसम खाएका छन्, नेताहरूले । त्यसभन्दा ठूलो निर्वाचन केन्द्र र प्रदेशको हुँदैछ । यही पाराले ती चुनावमा पनि कांग्रेस एक नम्बर पार्टी हुन्छ भनेर कसैले भन्न सक्दैन । कांग्रेस २ नम्बर नै हुने धेरैको अनुमान देखिन्छ ।

२७ वर्षयताको भाँडभैलोपूर्ण यात्रासँगै कांग्रेसले लोकतान्त्रिक पद्दतिको शिक्षा र संस्कार दिन नसकेको तथा लोकतान्त्रिक कुसंस्कारहरू धेरै सिकाएको कारणले गर्दा एमालेले पनि त्यही सिक्यो । कार्यकर्तालाई मात्र परिचालन गरेर पार्टी चलाउने महारोगी संस्कार एमालेबाट कांग्रेसले पनि सिक्यो । एकले अर्कालाई संक्रामक रोगहरू दिएको कारणले देशमा धेरै खाल्डाखुल्डी देखिए ।

कांग्रेसले बाटो बिरायो, मुलुक डरलाग्दो अवस्थामा छ । यस बेथितिलाई कुनै एउटा या दुई वटा पार्टीले ठीक गर्न सक्दैनन् । देउवाले माओवादीसँग गरिरहेको गठबन्धनले देशको कुनै पनि बेथितिलाई सम्बोधन गर्दैन । त्यसैले नेपालमा एक चक्रलाई एउटा राष्ट्रिय सरकारको आवश्यकता छ । अब हुने दुवै निर्वाचनमा एमाले पनि सरकारमा आउनु पर्छ ।

कसैको बहुमत आयो भने त्यसले निर्वाध सत्ता सञ्चालन गर्न पाउनु पर्छ । बहुमत आएन भने पनि चुनावपछिका पाँच वर्षमा सबै बेथितिहरूलाई हामी ठीक गर्छौं भनेर ठूलो छाति राखेर राष्ट्रिय सरकारको गठन जरुरी छ । कुनै एक दलले मुलुकका अहिलेका समस्याहरूको सम्बोधन गर्न सक्दैन । र, त्यसको नेतृत्व कांग्रेसले लिनु पर्छ । एक पटक विगतका अनुभवबाट सिकेर नयाँ मार्ग पहिल्याउन सक्नु पर्छ । र, त्यसले भविष्यका २५ वर्षको खाका तयार पारेर संसदबाट संकल्प प्रस्ताव पारित गर्दै अगाडि बढ्नु पर्छ । नत्र, मुलुक कुनै पनि बेला भड्खालोमा जान सक्छ ।

(राजनीतिक विश्लेषक आचार्यसँगको कुराकानीमा आधारित)

लेखक
पुरञ्जन आचार्य

बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने बुद्धिजीवी हुन् ।आचार्यले अनलाइनखबरमा विशेष गरी कांग्रेसको आन्तरिक राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे विश्लेषणात्मक रूपमा कलम चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?