Comments Add Comment

गाईजात्रे व्यङ्ग्य: चारगिरी अर्थात् चालुगिरी, ठालुगिरी, लालुगिरी र भालुगिरी

चार भन्ज्याङ, चार नारायण, चार विनायक, चार नारायण, चार बाराही, चार वर्ण, चार वेद, चार धाम, चार पास इत्यादिको चर्चा चारै दिशामा थियो र छ । तर चारगिरीको चर्चै छैन।त्यसैले यीबारे थोरै चर्चा गर्ने अनुमति चाहन्छु ।

चालुगिरी, ठालुगिरी, लालुगिरी र भालुगिरी हाम्रो सामाजिक र राजनीतिक जीवनका चारवटा खम्बा हुँदै आएका छन्। यिनैलाई भन्नुपर्छ चारगिरी। धवलागिरी वा चन्द्रागिरी वा नीलगिरीकै हाराहारी छन् गर्वका यी पहाडहरू।

चालुगिरी भनेको एकदमै चालु हुनु हो । पीपलको पात झैं कहिले यता पर्लक्क त कहिले उता पर्लक्क। चालुगिरीमा पारङ्गत हुन खप्पिस चेस खेलाडीले झैं चाल चल्न सिपालु हुनुपर्छ। कहिले कसको अधीनस्थ हुनु त कहिले कसको अधीनस्थ हुनु अनि कहिले दुबैको मध्यस्थ हुँदै कहिले तटस्थ हुनु चालुगिरीमा सामान्य मानिन्छ। हनुमानगिरीमा सिद्ध मनुवाले मात्रै सफल चालुगिरी गर्न सक्छ। राजनीतिको हकमा सिद्धान्त, नीति, लक्ष्य इत्यादि तपसीलमा राखी आवश्यकताको सिद्धान्त अनुसार आफूलाई ढाल्न जान्नु नै चालुगिरी हो।

`जता काफल पाक्यो उतै चरी नाच्यो´ भन्ने चर्चित नेपाली आहान चालुगिरीमा हुबहु चरीतार्थ हुन्छ। चाकरी र चाप्लूसी चालुगिरीका दुइटा आँखा हुन्। चुक्लीगिरी र चम्चागिरी यसका दुइटा शाखा हुन्। चालुगिरीका यी दुई आँखाले व्यक्तिको उन्नति र अवन्नति छुट्याई हेर्छ। अनि यसका दुई शाखाले आफ्ना `माखा´हरूलाई पाखा लगाइदिन्छ । यता पनि ठिक्क उता पनि ठिक्क अर्थात् आगोमा पनि दुरुस्त पानीमा पनि दुरुस्त हुन सक्नु चालुगिरीको लागि चाहिने न्यूनतम योग्यता हो। त्यसैले ‘अनुहार अगाडि विभत्स चाकरी: पुच्छर पछाडि उत्पात आलोचना’ चालुगिरीका सार्वभौम मापदण्ड हुन्।

वृहत् नेपाली शब्दकोशले ठालु शब्दका धेरै अर्थ मध्धे एउटा अर्थ मेहनत नगरी ऐश आराममा जीवन विताउन चाहने मानिसलाई इंगित गरेको छ। कुनै अमुक ‘ठूलो’ मान्छे, नेता वा अरू कोही शक्तिशालीसँग जान पहिचान भएको आधारमा अथवा आफ्नो विगतको विरासतको आधारमा हैकम चलाउँदै सस्यानो सामन्ती शासन चलाउनु ठालुगिरी हो। आफू उपरखुट्टी लगाई बस्ने, वरको सिन्को पर नसार्ने, अनि निम्छराहरूलाई ए फलाना, ए ढिस्काना यो गर, उ गर, यो भएन त्यो भएन भन्दै हुकूम दिनु र हूर्मत लिनु नै ठालुगिरी हो।हप्ता असूली र कमिशन ठालुगिरीका ब्याट्री हुन्।

मूलत: राजनीतिक दल र त्यसका नेताहरू ठालू उत्पादन गर्ने फ्याक्ट्री हुन्। निसन्देह ठालुगिरी गर्नेहरू चालुगिरीमा पनि पारङ्गत हुन्छन्। दादागिरी ठालुगिरीको सहोदर भाइ हो भने सादागिरी अर्थात् गान्धीगिरी यसको सौता।अर्थात् दादागिरीले ठालुगिरीलाई फल्न फूल्न मद्दत गर्छ भने सादागिरी ठालुगिरीका सामु टिक्नै सक्दैन। ठालुको अगाडी सब मैतालु झैं रहन वाध्य हुनुपर्छ किनभने ठालु कि त लोकतन्त्रको प्रतिनिधि हुन्छ कि त जबजको रखवाला हुन्छ कि त गणतन्त्रको प्रतीक। पञ्चायतकालमा ती मुकुटका मसिहा हुन्थे ।ठालुमाथि धावा बोलेर हावा खाने इच्छा कसैको पनि हुँदैन। त्यसैले त फलामले फलाम काट्छ भने झैं ठालु बाहेक अरूले उसलाई चुनौती दिन पनि सक्दैन। बोल्यो कि पोल्योमा पर्न सकेसम्म कोही पनि चाहँदैन ।

मोरङको मरन्च्याँसेलाई मनाङ पुर्याइदिन सक्छ ठालुगिरीले। रातभरि करायो दक्षिणा हरायो बनाउन सक्छ ठालुगिरीले। भीमकाय, वलिष्ठ शरीर र सिंहगर्जन आवाजले ठालुगिरीमा `सुनमा सुगन्ध´को काम गर्दछ। तथापि एकाध सुकेनासहरूले पनि ठालुगिरीको अभ्यास गर्दै नआएका भने होइनन्।

विख्यात वा कुख्यात जे भनौं भारतीय राजनीतिका एक हस्ती लालु यादवको पदचिन्ह अनुशरण गर्नु लालुगिरी हो । नेपालमा सफल राजनीतिज्ञ त्यो मात्रै भएको छ जसले लालुगिरीमा श्रेष्ठता हासिल गरेको छ। नयाँ संविधानमा शासकीय स्वरूप जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राख्नु पर्छ भन्ने मत बलियो हुँदा हुँदै उही असफल भएको संसदीय व्यवस्थालाई सुधारिएको भन्दै लागू गर्न यिनै लालुगिरी गर्नेहरूको अहम् भूमिका रह्यो। छ–छ महिनामा सरकार ढाल्न नपाए  यिनका नेत्र लाललाल हुन्छन्। दुई चार अरबका घोटाला गर्न नपाए यिनीहरू बेहाल हुन्छन्। दुइचार सांसद किनवेच गर्न नपाए यी खलखल हुन्छन्। सत्ता पाए ‘तँ जाने कि म जाने’ भन्दै यी हात हालाहाल गर्छन्।आफ्नी श्रीमती अथवा गर्लफ्रेण्ड इत्यादिलाई सभासद बनाउने, चुनावको टिकट होस् वा सभासदको पद बढाबढमा बेच्न यिनीहरू माहिर हुन्छन्। चारा घोटाला जस्तै अनेकौं घोटाला, काण्ड र अनियमितता गर्नेहरू नै लालुगिरीका गुरूहरू हुन् ।

जे भनून् दुनियाँ समस्त सत्ता बाहिर ती सिकिस्त हुन्छन्, विक्षिप्त हुन्छन्। आजका मितिसम्म नेपालको राजनीतिको लगाम यिनकै हातमा छ भन्दा अतिशयोक्ति हुँदैन। त्यसैले त पहिलो ठूलो दल, दोस्रो ठूलो दल पनि नभएर तेस्रो दलले जनमत नहुँदा नहुँदै एक पटक होइन दुइपटक होइन पटकपटक सत्ताको नेतृत्व पाएको अवस्था छ। यो नै लालुगिरीको चरम उपलब्धि हो ।

लालुगिरी गर्नेहरूको अर्जुनदृष्टि कुर्सी अथवा सत्तामा मात्रै हुन्छ। ‘एनिहाउ सत्तामा जाउ, कुस्त कमाउ’ तीनको सिद्धान्त हुन्छ। बरू कार्तिकका श्वानहरू आफ्ना यार बिना एक्लाएक्लै बस्न सक्छन् लालुगिरी गर्नेहरू सत्ता बिना बस्नै सक्दैनन्, बाँच्नै सक्दैनन्।

`जब तक रहेगा जंगलमें भालु तब तक रहेगा बिहारमें लालु’ लालुप्रसादको चर्चित उद्गार हो यो । उनको यो भनाइबाट उनका विरोधीहरू जंगलमा भालु देख्नासाथ शायद यसरी निराश हुन्थे जसरी शेयर बजारका लगानीकर्ताहरू वीयर अर्थात् भालु शब्द सुन्नासाथ निराश हुन्छन् । ‘काम गर्ने कालु मकै खाने भालु’ एउटा चर्चित नेपाली उखान हो जसले ठालुगिरी माथि व्यंग्य कसेको छ । तर यी उखान, बाणी र बिम्बहरूमा व्यक्त भालु शब्दले भालुगिरीसंग कुनै तालुक राख्दैन।

किनभने नेपालमा नगरवधू टाइपका पेशा, प्रवृत्ति वा चरित्रलाई अनौपचरिक वा भद्दा रूपमा जनाउन भालु शब्दको प्रयोग गरिन्छ। किन यो बिम्ब प्रयोग गरियो त्यसको कारण पंक्तिकारलाई थाहा छैन ।

तर, जस्तोसुकै नहुने काम पनि भालुगिरीले सम्भव बनाउँछ भने जस्तोसुकै हुने सहज कामलाई पनि दुरूह बनाइदिएको उदाहरण समाजमा बग्रेल्ती पाइन्छ। भनाइको मतलव यसका अगाडी नियम, कानूनका चट्टान जस्ता कडा कडा प्रावधानहरू पनि मैन झैं सरक्क पग्लन्छन् भने मैन जस्ता नरम प्रावधानहरू जमेर ढुङ्गा झैं सारा पनि हुन्छन् । समाधान नै गर्न नसकिने गरी गाह्रा हुन्छन्।

यस्तो खालको प्रवृत्तिले आफ्नो स्वार्थ सिद्ध गर्न जोसंग पनि शारीरिक समागमको सहकार्यलाई सामान्य मान्दछ । ‘देह दुरूपयोग भए पनि दुनो सोझिनु पर्यो’ यो नै यसको मूलमन्त्र हो।काम हुनुपर्यो काया भनेको केही होइन।

जसरी बलिष्ठ शरीर र ठूलो आवाज ठालुगिरीमा उत्तम हुन्छ त्यसैगरी सुन्दर मुहार,मधुर वाणी र बान्कीयुक्त काया भालुगिरीमा उत्तम मानिन्छ। तर बाहिर बाहिर चरित्र विज्ञानका गहन गहन प्रवचन त्यस्ता प्रवृत्तिबाटै तपाईं हामीले सुन्नुपर्दा भने अलिक अप्ठेरो लाग्छ। भालुगिरीबाट पीडितहरू हाम्रो समाजमा बग्रेल्ती पाइन्छन् । कतिपयका घरबार उजाडिएका छन् कतिका लोग्ने त कतिका स्वास्नी खोसिएका छन्। कतिका छोराछोरीको बिल्लीबाठ छ।कतिका बाबुआमाको बेहाल भएको छ । कतिपयले सम्पत्ति सकेर सडकमा सारंगी रेट्दै हिंडेको पनि देखिएको छ। अर्कोतिर यसबाट लाभान्वितहरू पनि त्यत्तिकै छन् ।पीडितहरूको एकोहोरो दशा देखेर सुनेर लाभान्वितहरूको मान मर्दन गर्नु हुन्न भन्ने पंक्तिकारको मान्यता छ।

भालुगिरीका अघि लालुगिरी, चालुगिरी,ठालुगिरी,दादागिरी,हनुमानगिरी सब निस्तेज हुन्छन्। त्यसैले यसलाई ‘गिरीहरूको गिरी’ अर्थात् महागिरी भन्नुपर्छ। नेपाली राजनीतिमा`सुरा र सुन्दरी´ खूब प्रयोग हुने शब्द हो। यहाँ प्रयोग भएको सुन्दरी शब्दको अर्थ तपाइँले अड्कल लगाइसक्नु भो जसले छँदाखाँदाको सरकार ढालेर अस्थिरताको बीऊ रोपेको इतिहास छ। त्यहींबाट शुरू भएको हाम्रो राजनीतिक अस्थिरताले अहिले सम्म स्थिरता प्राप्त गर्न सकेको छैन।

कार्यालय सहयोगी, खरदार वा सुब्बाले उच्च पदस्थमाथि राज गरेको तपाईं हामीले निकै देखेका छौं। यसको रहस्य पनि यी चारगिरी नै हो। सधैं अपरान्ह दुई बजे अफिस आएर `आज मात्र अलिकति ढिला भाको हो´ भन्नेले सधैं दश बजे आएर लुरूलुरू काम गर्ने गाईप्राणीलाई ‘आज किन ढिलो?’ भनेर सातो खानुको रहस्य पनि यही हो। मन्त्रालयको सचिव खरदारको खातिरदारी गर्नमा खप्पिस हुनुमा यही कारण जिम्मेवार छ भने बिभागीय प्रमूख अरूलाई छाडेर मुखियाको मान मनितो गर्नमा माहिर हुनुको चूरो कुरो पनि यही हो ।निर्दलका निरंकुश नेता देखि बहुदलका खुश नेतालाई पनि कान्छी औंलामा नचाउन सक्ने तागत यिनमा रहेको कुरा कसैबाट छिपेको छैन ।
औंठाछापे वा चारपासेहरू राजनीति वा नोकरीको उच्च पदमा पुग्दा धेरैले डाहा इर्ष्या गर्छन् ।तर ती इर्ष्यालूहरूलाई के ज्ञात रहोस् भने कुनै न कुनै क्षमता नभई कोही पनि माथि पुग्न सक्दैन । त्यसैले उनीहरू चारगिरी मध्ये कुनै न कुनै गिरीमा पारङ्गत भएकै हुनुपर्छ।

यी चारगिरीको गिरीत्व जति बढी भयो त्यति तपाईंको तरक्की तीब्र हुनेमा शंका छैन। एकाध अपवादको कुरालाई सामान्यीकरण नगर्ने हो भने तपाइँ जति नै इमान्दार हुनुस्, जति नै मेधावी, मेहनती एवम् लगनशील हुनुस् र जति नै कर्तव्यनिष्ठ हुनुस् यी चारगिरी मध्धे कम से कम कुनै एक गिरीमा पारङ्गत हुनुहुन्न भने ‘काशीका रास्ता’ तताउनु नै राम्रो हुन्छ।कम्तिमा जागिरमा जम्ने वा राजनीतिमा रमाउने चेष्टा चाहिँ नगर्नुस्। अस्तु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment