Comments Add Comment

नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर, इन्धनको सम्भाव्यता अध्ययनमा सघाउने

तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक

सम्झौता/समझदारी पत्रमा हस्ताक्षर गर्दै अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवा । तस्वीर: मिलन अधिकारी/अनलाइनखबर

३१ साउन, काठमाडौं । नेपाल र चीनबीच तीन वटा सम्झौता/समझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै चीन भूकम्पपछि बन्द गरिएको तातोपानी नाका खोल्न सकारात्मक देखिएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच द्विपक्षीय वार्ता भएपछि समझदारीमा हस्ताक्षर भएको हो ।

वाङ, गच्छदारका साथै उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौता/समझदारी पत्रमा हस्ताक्षर गरे ।

अर्थसचिव सुवेदीका अनुसार भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।

यो रकम अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिनेछ । यस्तै, पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । सवा २ अर्ब रुपैयाँको यो सम्झौताको समयावधि तोकिएको छैन ।

नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउन वातावरण बनाउने सम्वन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । ‘यो अम्ब्रेला एगि्रमेन्ट हो,’ अर्थसचिव सुवेदीले भने, ‘पूर्वाधार विकासका क्षेत्रमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउन के-के गर्न सकिन्छ यसमा फ्रेमवर्क एग्रिमेन्ट भएको छ ।’

सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने सरकारी योजना छ । यो सम्झौता निकै महत्वपूर्ण भएको सचिव सुवेदीले बताए ।

द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । यसमा चिनियाँ पक्षले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ ।

अर्थसचिव सुवेदीले भने, ‘तातोपानी नाका हाम्रो प्राथमिकताको नाका हो र, हामीले खोल्नुपर्छ भनेर पटक-पटक आग्रह गरेका छौं । आजको वार्तामा पनि तातोपानी नाका खोल्न चाइना सरकारले सकारात्मक रुपमा लिएको पाएका छौं ।’

तातोपानी नाका दुई देशकै लागि रणनीतिक व्यापारिक मार्ग भएकाले खोल्नुपर्छ भन्नेमा दुई देशबीच सैद्धान्तिक सहमति भएको अर्थसचिव सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment