+
+
Shares

खाद्यान्न जुटाउन तिव्वत जाने तयारीमा उत्तरी गोरखावासी

एक महिनाभित्र वर्षभरी पुग्ने खाद्यान्न जोहो गर्नुपर्ने वाध्यता

बिकास मरहट्टा बिकास मरहट्टा
२०७४ भदौ ७ गते १४:३३

७ भदौ, गोरखा । दैनिक उपभोग्य सामान किनमेलका लागि उत्तरी गोरखावासी तिव्वत जाने तयारीमा जुटेका छन् ।

वर्षमा एक महिनाका लागि मात्र खोलिने तिव्वत नाका खुल्ने सयम नजिकिएसँगै उनीहरु तिव्वत जाने तयारीमा जुटेका हुन् ।

अहिले स्थानीयहरु पैसासँगै, चौरी, याक, खच्चड लगायतका वस्तुहरुको जोहो गर्न थालेको सामागाउँका मिङमार लामाले बताए । ‘वर्षमा एक पटक मात्र नाका खुल्छ, त्यही वेला वर्ष भरिलाई पुग्ने खानेकुरादेखि आवश्यक सबै सामग्री ल्याउनुपर्छ ।’ उनले भने ।

उत्तरी गोरखाको साविकका ६ गाविसहरुको मुख्य व्यापारिक केन्ऽ तिव्वत हो । घरमा आवश्यक पर्ने नुनदेखि सुनसम्म किनमेल गर्न उनीहरु तिव्वत जाने गर्छन् ।

गोरखा सदरमुकाम आउन करिव चार/पाँच दिनको पैदल हिड्नु पर्ने भएपनि तिव्वत पुग्न करिव दुई दिन मात्र लाग्ने भएकाले किनमेलका लागि स्थानीयहरु तिव्वत जाने गर्छन् ।

आलु, मकै, गौ लगायतका खाद्यान्नहरु खेती हुने भएपनि उत्पादनले तीन महिनालाई पनि खान नपुग्ने स्थानीयहरु बताउँछन् । जसका कारण खाद्यान्न पनि तिव्वतबाटै किनेर ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।

भदौ ९ बाट एक महिनाका लागि नाका खोल्ने

उक्त क्षेत्रका स्थानीयहरुलाइ किनमेल गर्नका लागि वर्षेनी एक महिनाको लागि नाका खुल्ने गर्छ । ‘यही भदौ ५ गतेबाट नाका खुल्ने भनेको थियो, फेरि के भएर हो भदौ ९ गतेबाट खुल्ने भनेको छ,’ सामागाउँका लामाले भने ।

नाका खुलेसँगै स्थानीयहरु याक, चौरी, खच्चड, घोडा लगायतका वस्तुहरु लिएर सामान लिन तिव्वत पुग्छन् ।

एक महिना अवधिभर उनीहरु सामान किनमेल सँगै ओसारपसारमा व्यस्त हुन्छन् । ‘सामागाउँबाट तिव्वत पुग्न दुइ दिन लाग्छ, र्फकन दुइ दिन अनि एक दिन किनमेल गर्न लाग्छ, एक पटक सामान लिन जादा करिव ६ दिन खर्च हुन्छ,’ लामाले भने, ‘फेरी एक पटकमा आवश्यक सबै सामान ल्याउन सकिदैन, एक पटक सामान ल्याएर घरमा राखेपछि फेरि जानुपर्छ ।’ महिन भरी स्थानीयहरुले बढीमा चार पटकसम्म ओहोरदोहोर गर्न सक्ने उनले बताए ।

रुइला नाकामा ब्यापार, बाह्रै महिना नाका खोल्न माग

अधिकांश स्थानीयहरु सामान किनमेलका लागी रुइला नाका जाने गर्छन् । त्यस्तै घ्याला नाकामा पनि किनमेलका लागी स्थानीयहरु जाने गरेका छन् ।

नाकाको ज्याङ भन्ने ठाउँमा दुधजन्य पदार्थ, औठी, माला, लत्ताकपडा, औठी, घाटीमा लगाउने जिरु लगायतका सामानहरु किन्न उत्तरी गोरखाका स्थानीयहरु पुग्ने गर्छन् ।

चुम नाका बाह्रै महिना खुल्ने भएपनि सामागाउँको नाका वर्षमा एक महिना मात्र खुल्दा समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् । ‘वर्षमा एक महिना मात्र खुल्छ, त्यो समयमा एक वर्षसम्म पुग्ने खाद्यान्न र सरसामाना जोहो गर्नुपर्छ, समस्या हुन्छ,’ लामाले भने ।

वर्षको बाह्रै महिना नाका खुल्ला गरिदिन स्थानीयहरुले माग गरेका छन् । बाह्रै महिना नाका खुल्ला भए चाहेको बेला सामान लिन जान सहज हुने स्थानीयहरुको भनाइ छ । एकै पटक सबै सामान किन्न पैसा समेत नहुने उनीहरुको गुनासो छ ।

उत्तरी गोरखाको सामागाउँ, बिही, प्रोक, छाक, लि, सो, ल्हो, साम्दो लगायत अन्य ठाउँका स्थानीयहरुको व्यापारिक केन्ऽ तिव्वत हो ।

नाका खुलेको बेला स्थानीयहरु घोडा, चौरी, खच्चड लिएर तिव्वत जान्छन् । दुइ बर्ष अघि एउटा जनावारको तीस रुपैयाँ कर तिर्नुपर्ने भएपनि अहिले तिर्नुनपर्ने स्थानीय लामाले जानकारी दिए ।

गोरखा जिल्लामा दुई नाका धेरै वर्ष अगाडिदेखि सन्चालनमा छन् । सामागाउँ र छेकम्पार दुई स्थानमा रहेको नाका ५ हजारभन्दा बढी उचाइमा रहेको छ ।

हिउँ परेको समयमा मानिसहरुको आवागमन बन्द हुन्छ । तर, नाका खुलेपछि सर्वसाधारण एकै पटक हिउँद भरिलाई पुग्ने सामग्री लिन पैदल तिब्बत जाने गर्छन ।

सदरमुकाम गोरखाबाट आरुघाटसम्म सडक विस्तार भए पनि नाका पुग्न ७ दिनको पैदल यात्रा गर्नुपर्छ । सामागाउँ नाका लमजुङ र मनाङतर्फ पर्छ भने छेकम्पार नाका धादिङ र रसुवा तर्फको सिमानामा पर्दछ ।

सामागाउँ सदरमुकाम गोरखाबाट ५२ कोस अर्थात १७१.६० किलोमिटर टाढा पर्दछ भने छेकम्पार ५० कोस अर्थात १६५ किलोमिटर दुरीमा पर्दछ । अहिले ती नाकाबाट ल्याएको सामान गोरखा जिल्लाका हिमालपारीका साविकका ६ गाविसले उपभोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?