Comments Add Comment

करारका कर्मचारीहरुको धमाधम सरुवा !

९ भदौ, चितवन । स्थायी र अस्थायी कर्मचारीहरुको एक कार्यालयबाट अर्को कार्यालयमा र एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गरेको खबर हामीले सुन्दै र देख्दै आएका थियौं । तर, चितवनमा जिल्ला समन्वय समितिबाट १ वर्षे करार सेवामा कार्यरत कर्मचारीहरुको समेत धमाधम सरुवा गर्न थालिएको छ ।

जिल्ला समन्वय समितिमा करारमा बसेर काम गरेका कर्मचारीहरुलाई भरतपुर महानगरमा सरुवा गरिएको हो । जिससमा रहेका स्थायी कर्मचारीहरुलाई प्राथमिकता नदिई करार कर्मचारीहरुलाई महानगरपालिकाबाट नै तलब खाने गरी सरुवा गरिएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले स्वीकार गरे।

सामान्यतया करारका कर्मचारीहरु जुन स्थानीय तहका लागि चाहिएका हुन् सम्वन्धित कार्यालयले नै करारमा लिने व्यवस्था छ तर यहाँ संक्रमणकालको फाइदा उठाउँदै आफुखुसी करार कर्मचारी सरुवा गरिएको हो ।

जिसस चितवनमा करार, स्थायी र अस्थायी गरी ३६ कर्मचारी रहेकामा करारका १० जना कर्मचारीहरुको सरुवा गरिएको छ ।जिससबाट महानगरमा ४ जना करार कर्मचारी सरुवा भएका छन् भने केही कालिका नगरपालिका, माडी नगरपालिका र राप्ती नगरपालिकामा सरुवा भएका छन् । जिससमा कार्यरत एक स्थायी कर्मचारीले भने, ‘हामी स्थायीहरुको के हुने भन्ने विषयमा अझैं टुंगो लागेको छैन । करारलाई प्राथमिकतामा राखिएको छ । तर हामीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हो ।’

जिससमा रहेका स्थायी कर्मचारीलाई के गर्ने भन्ने विषयमा अझै पनि अन्यौलता रहेको स्थानीय विकास अधिकारी सुवेदीले बताए । भरतपुर महानगरपालिकामा हालसम्म पशु सेवा कार्यालयका १९, जिससबाट ४ जना, स्वास्थ्यबाट ३ जना, कृषिबाट १ जना र महिला तथा बालबालिका कार्यालयबाट ८ जना कर्मचारी आएको महानगरका प्रशासन शाखाका कर्मचारी तेजराज खनालले जानकारी दिए ।

करारका कर्मचारी धमाधम सरुवा गरिएकोप्रति महानगरका कार्यकारी अधिकृत प्रेमराज जोशीले हाँसेर असन्तुष्टि जनाए । जोशीले भने, ‘स्थानीय तह सरकार पनि भएकाले सायद सरकार चलाउन यसो गरिएको हो ।’

कर्मचारी छानेर सरुवा, हाजिर गर्दै जागिर

भरतपुर महानगरपालिकाको भौतिक संरचना अति नै साँघुरो र जीर्ण छ । विभिन्न कार्यालयबाट करारसहितका केही स्थायी कर्मचारीहरु आएपछि तिनलाई कहाँ राखेर काम लगाउने भन्ने समस्या महानगरपालिकालाई छ ।

महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले, महानगरपालिमा आएका कर्मचारीहरूलाई कोठा दिएर काम लगाउने ठाउँको अभाव भएको बताए । जोशीले भने ‘उहाँहरु आउन त आउनुभयो, तर हामीसँग उहाँहरुलाई राख्ने ठाँउ नै छैन । पूर्वाधारको अभाव छ ।’

यसैपनि धेरै कर्मचारी भएको भरतपुर महानगरपालिकामा करारसहित स्थायी कर्मचारी सरूवा भएर आएपछि थप बोझ थपिएको छ । सरूवा भएका कर्मचारी कार्यालयमा आएर हाजिर मात्रै गरेर फर्कन थालेका छन् । कोही महानगरपालिकामा हाजिर गरेर सम्वन्धित कार्यालयमा नै जान्छन् ।

जिल्लामा स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको संयोजकत्वमा जिल्ला कर्मचारी व्यवस्थापन समिति छ । यो समिति जिससका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी सदस्य सचिव र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख शिवप्रसाद पन्थी सदस्य रहेका छन् । यो समितिले अहिलेसम्म विभिन्न कार्यालयबाट १ सयभन्दा बढी कर्मचारीहरुको सरुवा र व्यवस्थापन गरेको छ ।

अन्य स्थानीय तहमा यो समितिले काम गरेपनि भरतपुर महानगरमा भने कसरी कर्मचारी समायोजन र व्यवस्थापन गर्ने भनेर योजना बनाउन सकेको छैन ।

महानगरपालिकाले तोक आदेश लगाएर टिपेका कर्मचारीहरुलाई मात्रै समितिले पठाएको छ । राजनीतिक शक्ति परिचालन गर्न सक्ने र खेलाउने व्यक्तिहरुले महानगरपालिकाबाट पत्र बनाएर ल्याई धमाधम सरुवा गरेर लगेका छन् । नीतिगत निर्णय र व्यवस्थापन केही पनि छैन । समितिका सदस्य सचिव कृष्णप्रसाद सुवेदीले महानगरमा कर्मचारी पठाउन महानगरकै पत्र चाहिने बताए ।

महानगरका ३ वडा कार्यालयविहीन !

भरतपुर महानगरपालिका ३ वटा वडाका आफ्नै कार्यालय छैनन् । महानगरका वडाध्यक्ष सहितका पदाधिकारी निर्वाचित भएर आएपनि वडा कार्यालयहरु नभएकाले भबन खोज्नुपर्ने अवस्था आएको छ ।

महानगरका वडा नम्बर १३, १७ र २६ को आफ्नै कार्यालय छैन । वडा नम्बर २७ र २८ एउटै सचिवले चलाउदै आएका छन् । आफ्नै भवन नभएका कार्यालयका लागि भाडाको छुट्टै घर खोज्न सचिवहरुलाई निर्देशन दिइएको कार्यकारी अधिकृत जोशीले बताए ।

यस्तै, वडा नम्बर २७ र २८ मा एकै जना वडासचिवले कार्य सम्पादन गर्दै आएकोमा अब वडा नम्बर २८ मा नयाँ वडा सचिव पठाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment