+
+
Shares

३५ वर्षे उमेर हद लागू गर्न अखिल क्रान्तिकारीमा दबाव

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ९ गते १२:१२

९ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्न नेतृत्वलाई दबाव बढेको छ । २१ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा प्रतिनिधिहरुले उमेर हद लागू गर्न माग गरेका छन् ।

समूहगत छलफलको निष्कर्ष सुनाउने २१ वटै टोली नेताहरुले यसै राष्ट्रिय सम्मेलनबाट ३५ वर्षे उमेर हद लागू गर्न माग गरेका छन् ।

राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधि पर्यवेक्षकहरुलाई २१ समूहमा बिभाजन गरिएको छ । र, सबै समूहका टोली नेताहरुले समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम शुक्रबार साँझ सकिएको छ । बन्दसत्र शनिबार बिहानसम्मलाई स्थगित गरी बिघटित केन्द्रीय समितिका पदाधिकारीहरु आन्तरिक छलफलमा जुटेका छन् ।

अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष मदन अर्यालले भने, ‘सबै साथीहरुको माग उमेर हद लागू गर्नुपर्‍यो भन्ने छ । नेतृत्व तहमा पनि यसबारे छलफल र बहस सुरु गरेका छौं ।’

अखिल क्रान्तिकारीकै एजेण्डाअनुसार त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हद लागू गरेको थियो । तर आफ्नै संगठनभित्र उमेर हद लागू गर्न आनाकानी गरिएको भन्दै प्रतिनिधिहरुले नेतृत्वको आलोचना गरेका छन् ।

राष्ट्रिय सम्मेलन तयारी सुरु हुनु अघि बसेको पदाधिकारी बैठकमा पनि अर्यालले नै उमेर हदको विषयलाई प्रवेश गराएका थिए । ‘यो अब मेरो मात्रै एजेण्डा रहेन,’ अर्यालले भने, ‘हलको तीव्र दबाव छ । सहयोद्धा साथीहरुले यो विषयलाई मनन गर्नुभएको छ ।’

उनले पदाधिकारी बैठकमा उमेर हद कति तोक्ने भन्ने विषयमा छलफल हुने बताए ।

समूहगत छलफलमा सहभागीहरुले निर्वाचनमार्फत् नेतृत्व चयन गर्न पनि माग गरेका छन् । अध्यक्ष पदका प्रत्यासी मध्येका एक रञ्जित तामाङले भने, ‘विगतमा जस्तो टिके प्रथाबाट नेतृत्व छानियो भने स्वीकार्य छैन । जनताका छोराछोरी सबै क्रान्तिकारी भन्ने नारा स्थापित गराउन पनि निर्वाचनमा जानुपर्छ भन्ने माग हलबाट उठेको छ ।’

प्रतिनिधिहरुले निजी विद्यालयहरुसँग संगठनको नेतृत्वले साँठगाँठ गरेर रकम लिने गरेको, राष्ट्रिय सम्मेलन गर्नका लागि पनि पैसा लिएको लगायतका हल्ला सुनिएको भन्दै नेतृत्वसँग जवाफ मागेका छन् ।

बन्दसत्रमा सहभागी २ हजार ७६ जना प्रतिनिधिहरुलाई भौगोलिक र गैरभौगोलिक गरी २१ समूह बनाइएको छ । समूहगत छलफल सकेपछि विधान प्रतिवेदन पारीत गर्ने र नयाँ नेतृत्व चयन प्रक्रिया सुुरु गर्ने कार्यतालिका छ । नेतृत्व चयन प्रक्रिया सुरु हुनुअघि माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्मेलनमा सहभागीहरुलाई प्रशिक्षण दिने कार्यक्रम पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?