Comments Add Comment

५० प्रतिशत सामुदायिक बिद्यालयमा खानेपानी अभाव

१२ भदौ, डोटी । डोटी जिल्लाका ५० प्रतिशत सामुदायिक बिद्यालयमा खानेपानीको अभाव रहेको जिल्ला शिक्षा कार्यालय डोटीले जानकारी दिएको छ ।

आधारभुत तहका ३१३ र माध्यामिक तहका ७५ गरी ३८८ सामुदायिक बिद्यालय रहेको जिल्लामा हालसम्म एक सय ९६ बिद्यालयहरुमा मात्र खानेपानीको धारा निर्माण भएको जिल्ला शिक्षा कार्यालय अन्तरगतको दिपायल श्रोतकेन्द्रका स्रोतव्यक्ति लक्ष्मीराज ओझाले जानकारी दिए ।

‘बिद्यालयमा खानेपानी अभाव भएका कारण शौचालयको प्रयोगमा समेत समस्या आएको छ ।’ ओझाले भने ‘अझ, पानी शुद्धीकरण गरेर वितरण गर्ने बिद्यालयको त जम्मा १२ प्रतिशत छ ।’ जम्मा १६ बिद्यालयमा मात्रै बालबालिकाहरुले शुद्धिकरण गरेको पानी खान पाएको ओझाले बताए ।

जिल्ला शिक्षा कार्यालय डोटी र सिडिएम नेपाल नामक गैरसरकारी संस्थाले संयुक्त रुपमा आयोजना गरेको “जिल्लाका बिद्यालयहरुको खानेपानी, सरसफाई तथा स्वच्छताको अवस्था” बिषयक छलफल कार्यक्रममा छात्राहरुले महिनाबारी भएका बेला प्रयोग गर्ने सेनीटरी प्याड फाल्ने व्यवस्था भएका जम्मा १७ बटा बिद्यालयहरु मात्रै रहेको ओझाले जानकारी दिए । ‘बिद्यालयमा छात्र भन्दा छात्राहरुको संख्या बढी छ’ ओझाले भने ‘छात्राहरुका लागि चाहिने आधारभुत कुराहरु पनि पूरा गर्न सकिएको छैन ।’ उनले जिल्लाका कुल ७१ हजार तीन सय ७३ बिद्यार्थीहरुमध्ये ३६ हजार ८८ छात्रा रहेको बताए ।

डोटी जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईसकेको भएपनि अझै पाँच बिद्यालयमा शौचालय नभएको उक्त कार्यक्रममा जानकारी गराइयो । ७८ प्रतिशत बिद्यालयहरुमा पानीको स्रोत पहिचान भएको भएपनि योजना निर्माण गर्न नसकिएको ओझाले बताए । उनले भने ‘९२ प्रतिशत बिद्यालयहरुमा मात्रै छात्राहरुका लागि शौचालयको छुट्टै व्यवस्था गर्न सकिएको छ ।

कार्यक्रममा डोटीका जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौड्यालले जनचेतनाको अभावका कारण बिद्यालयमा सरसफाईको व्यवस्था मिलाउन समस्या भएको बताए । ‘शौचालय बनाइएका छन् तर शौचालय भन्दा बाहिर दिशा पिसाव गरेको भेटिन्छ’ पौड्यालले भने ‘सामान्य मर्मतका कामहरुमा पनि अभिभावकहरुले चासो नदेखाउँदा धेरै बिद्यालयहरुमा खानेपानीको समस्या रहेको छ ।’ उनले भने ‘अभिभावकहरुमा बिद्यालयप्रतिको अपनत्व देखिँदैन, जसका कारण संरक्षणमा समस्या भएको छ ।’ उनले बिद्यालयमा पानीको बैकल्पिक व्यवस्था मिलाउनु पर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment